नेपाली क्रिकेटको सबैभन्दा ठूलो महाकुम्भ ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) टि-२० को तेस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिकरूपमा आज सुरु हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यो प्रतियोगिताले खेलकुदप्रेमीहरूमा नयाँ उत्साह, उमंग र जोस भरेको छ। दसैंको भव्य उत्सवलगत्तै सुरु भएको यस प्रतियोगिताले देशभित्र र बाहिर रहेका लाखौं नेपालीहरूलाई क्रिकेटको साझा धागोमा बाँध्ने काम गरेको छ। आठवटा फ्रेञ्चाइज टोलीको सहभागिता र साविक विजेता लुम्बिनी लायन्स तथा उपविजेता सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन भिडन्तले यसपटकको एनपिएल सुरुवातमै निकै रोमाञ्चक बन्ने प्रस्ट संकेत गरेको छ।
एनपिएलको तेस्रो संस्करण केवल एउटा प्रतियोगितामा मात्र सीमित नरहेर नेपाली क्रिकेटको इतिहासमै एउटा नयाँ कोसेढुंगा साबित भएको छ। यसपटकको एनपिएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आधिकारिक ‘लिस्ट ए’ टि-२० को मान्यता दिएको छ। यो मान्यता नेपाली क्रिकेट संरचना र गुणस्तरका लागि एक ऐतिहासिक उपलब्धि हो। यससँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने व्यक्तिगत कीर्तिमान र टोलीको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक रेकर्डमा सूचीकृत हुने छन्। यस कदमले देशभित्रका युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गरी विश्व मञ्चमा स्थान बनाउन अतुलनीय अवसर दिएको छ। साथै, विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीहरूको बढ्दो सहभागिताले प्रतियोगिताको प्राविधिक स्तर र व्यावसायिक उचाइलाई अझ बढाएको छ।
प्रविधि र पुरस्कार राशिको हिसाबले पनि यसपटकको एनपिएलले ठूलो फड्को मारेको छ। नेपालमै पहिलोपटक पूर्णरूपमा ‘फुल थ्रिडी बल ट्र्याकिङ’ सहितको डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोगमा ल्याइनुले खेलको निष्पक्षता र शुद्धतालाई उच्चस्तरमा पुर्याउने छ। एआई प्रविधिको माध्यमबाट ब्याटको एज डिटेक्सन, नो बल, स्टम्पिङ, वाइड र बलिङ एनालिटिक्सको मापन गर्ने आधुनिक प्रविधिको प्रयोगले नेपाली मैदानलाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसँग जोडेको छ। ३२ मध्ये २० वटा खेल फ्लडलाइट (रात्रिकालीन) मा सञ्चालन हुनु अर्को आकर्षण हो। यसका साथै, विजेता टोलीका लागि पुरस्कार राशि बढाएर एक करोड ५० लाख रुपैयाँ पुर्याइनुले प्रतियोगिताको व्यावसायिक महत्व र टोलीहरूबीचको प्रतिस्पर्धात्मक भावनालाई थप बलियो बनाएको छ।

कुनै पनि ठूला प्रतियोगिताको सफल सञ्चालनका लागि व्यवस्थापन र सुरक्षा मुख्य आधार हुन्। क्यानले सार्वजनिक गरेको चुस्त खेल तालिका, दैनिक एक हजारभन्दा बढी नेपाल प्रहरी, सादा पोसाकका टोली र सशस्त्र प्रहरीसहितको सुरक्षा योजना, सिसिटिभी र ड्रोनमार्फत गरिने आधुनिक निगरानी सराहनीय छन्। खेलाडीको बसाइ, यातायात र रंगशालाको समग्र सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यो व्यवस्थापनले प्रतियोगितालाई व्यवस्थित बनाउन ठूलो योगदान पुर्याउने छ।
अन्ततः ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित हुँदै गएको एनपिएलले नेपाली क्रिकेटलाई नयाँ दिशा र दिशाबोध गराएको छ। सीमित साधन र स्रोतका बाबजुद क्यानले देखाएको यो तत्परता र प्रविधिको प्रयोग अनुकरणीय छ। मैदानभित्रको निष्पक्ष खेल, समर्थकहरूको अनुशासित साथ र आयोजकको चुस्त व्यवस्थापनले एनपिएललाई विश्वभरका क्रिकेटप्रेमीमाझ अझ लोकप्रिय बनाउने छ भन्नेमा कुनै द्विविधा छैन। एनपिएलको तेस्रो संस्करणको पूर्ण सफलताको हार्दिक शुभकामना !