मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमप्रति सजग गराउँदै अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै आगामी तीन दिनका लागि पदयात्रा अनुमति रोकेको छ। बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको प्रभावस्वरूप नेपालमा भोलि बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हावाहुरी, चट्याङ तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको पूर्वानुमान गरिएको कारण विभागले पदयात्राको अनुमति रोकेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई आधार मान्दै कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम औंल्याइएको छ। मौसमको यो प्रतिकूलता केवल एक सामान्य प्राकृतिक परिवर्तनमात्र नभई मानव जीवनका लागि प्रत्यक्ष खतराको घण्टी हो। त्यसैले यस्ता संवेदनशील समयमा अपनाइने सतर्कता र सावधानीले ठूला मानवीय क्षति टार्न महत्वपूर्ण भूमिका खेल्छ।
अध्यागमन विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्राका लागि अनुमतिपत्र जारी नगरिने स्पष्ट पारेको छ। साथै, यसअघि नै पदयात्रा क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकहरूलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमामात्र बस्न अनुरोध गरिएको छ। ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालाहरूले यस सूचनालाई गम्भीरतापूर्वक लिँदै कडा रूपमा पालना गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो।
यसै सन्दर्भमा, नेपाल प्रहरीलेसमेत देशैभरका नागरिकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक लामो वा जोमिखयुक्त यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिमयुक्त क्षेत्रमा नबस्न गरेको आग्रह अत्यन्त समयोचित छ। नेपालको भौगोलिक बनावट जटिल भएकाले मौसमी प्रणालीमा जरा गाड्ने सानो फेरबदलले पनि ठूलो विपद् निम्त्याउन सक्छ। विगतका अनुभवहरूले पनि देखाएका छन् कि पूर्वसूचनालाई बेवास्ता गर्दा कतिपयले अकालमै ज्यान गुमाउनुपरेको छ। तसर्थ, प्रहरीको यो अपिललाई हरेक नागरिकले व्यक्तिगत सुरक्षाको कवचका रूपमा बुझ्नुपर्छ।
प्राकृतिक विपद्बाट बच्नका लागि नागरिक स्तरबाट पनि उच्च सतर्कता अपनाउनु उत्तिकै जरुरी छ। सबैले मौसम पूर्वानुमान महाशाखाका नियमित बुलेटिनहरू तथा आधिकारिक निकायबाट आउने पूर्वसूचनाहरूलाई निरन्तर पछ्याउनुपर्छ। यदि कुनै पनि किसिमको विपद्को जोखिम महसुस भएमा वा संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानतर्फ प्रस्थान गर्नु बुद्धिमत्ता हुन्छ। सरकार र सम्बन्धित निकायले जारी गरेका निर्देशनहरूलाई पालना गर्नु भनेको कानुनको मात्र पालना होइन, यो आफ्नै र आफन्तको अमूल्य जीवनको रक्षा गर्नु हो।
अन्ततः प्रकृतिसँगको संघर्षमा सधैं सावधानी र विवेकको जित हुन्छ। मौसममा सुधार नआएसम्म र विपद्को जोखिम टरेको आधिकारिक सूचना जारी नभएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्नु नै सबैको हितमा छ। सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन, पर्यटन व्यवसायी र आमनागरिकबीचको सुदृढ समन्वय र आपसी सहकार्यबाट मात्र यस्ता सम्भावित विपद्जन्य दुर्घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ। सचेत नागरिक बनौं, सुरक्षित रहौं।