तिहार, छठलगायतका चाडपर्वहरू नजिकिँदै गर्दा नेपाली बजारमा रंगीचंगी फूलहरूको चहलपहल बढ्न थालेको छ। घरआँगन सजावट, पूजापाठ तथा विभिन्न शुभकार्यमा प्रयोग हुने फूलको माग यो समयमा उच्च हुने गर्छ। यही अवसरलाई मध्यनजर गर्दै हालै जिल्ला प्रशासन कार्यालय झापालगायत विभिन्न निकायले खुला सिमानाबाट हुने अवैधरूपमा आयातीत फूल तथा प्लास्टिकजन्य कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने र किसानको मिहेनतको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले चालिएको यो कदम अत्यन्तै सकारात्मक, समयोचित र स्वागतयोग्य छ।
विगतका वर्षहरूमा खुला सीमाको फाइदा उठाउँदै भारत तथा अन्य मुलुकबाट अवैधरूपमा करोडौं मूल्यका फूलहरू निर्वाधरूपमा भित्रिने गरेका थिए। यसरी भित्रिने सस्तो र गुणस्तरहीन फूल तथा प्लास्टिकजन्य कृत्रिम मालाहरूका कारण स्वदेशी भूमिमा पसिना बगाउने नेपाली किसानका उत्पादनहरू बजार नपाएर खेतमै कुहिने र सुक्ने गरेका थिए। देशभर कृषकहरूले व्यावसायिकरूपमा सयपत्री र मखमली फूलको खेती गरेका छन्। उनीहरूको अथक मिहेनत र लगानीलाई संरक्षण गर्न पनि आयातीत फूलमाथिको अंकुश अपरिहार्य थियो। प्रशासनको यो निर्देशनले अब सीमावर्ती क्षेत्रबाट हुने अवैध आयातमा रोक लाग्ने र स्थानीय किसानले आफ्नो उत्पादनको उचित बजार तथा मूल्य पाउने विश्वास गरिएको छ।
यससँगै अब हामीले केवल प्राकृतिक फूलको आयात नियन्त्रणमामात्रै सीमित नरहेर पर्यावरण र स्वास्थ्यका दृष्टिकोणबाट समेत हानिकारक मानिएका प्लास्टिकजन्य फूल तथा मालाहरूको आयातमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्छ। वातावरणमैत्री नभएका प्लास्टिकका कृत्रिम फूलहरूले एकातिर प्रदूषण बढाउँछन् भने अर्कोतिर नेपालीहरूको मौलिक संस्कृति तथा चाडपर्वको वास्तुकला र पवित्रतालाई समेत खल्बल्याउने काम गर्छन्। प्रचलित कानुनलेसमेत निषेध गरेका यस्ता प्लास्टिकजन्य वस्तुहरूको बिक्री-वितरण, भण्डारण र प्रयोगलाई कूटनीतिक तथा प्रशासनिकरूपमै रोकेर पूर्णप्रतिबन्धको घोषणा गर्नुपर्छ।

स्वदेशी फूलको प्रयोगले केवल चाडबाडको शोभामात्र बढाउँदैन, यसले देशको अर्थतन्त्रमा पनि दूरगामी सकारात्मक प्रभाव पार्छ। हरेक वर्ष चाडपर्वका नाममा फूल खरिद गर्न बाहिरिने ठूलो धनराशी यसैले रोक्छ। जब स्वदेशी फूल प्रयोग गरिन्छ, उपभोक्ताले तिरेको पैसा देशकै माटोमा पसिना बगाउने किसानको हातमा पुग्छ। किसानको यो आम्दानीले उनीहरूको जीवनस्तर माथि उठाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँछ। आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार भनेको स्थानीय उत्पादन र उपभोगको संस्कृति नै हो। जब स्थानीयस्तरका उत्पादनहरूले बजार पाउँछन्, तब युवाहरू वैदेशिक रोजगारीको बाटो छोडेर स्वदेशमै कृषि कर्ममा आकर्षित हुन्छन्।
तसर्थ, सरकारको यो नीतिगत हस्तक्षेप कागजी निर्णयमामात्र सीमित नरही प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरूले निगरानी बढाएर अवैध आयात र प्लास्टिकको प्रयोगलाई पूर्णरूपमा निरुत्साहित गर्नुपर्छ। उपभोक्ताहरूले पनि स्वदेशमै उत्पादित सयपत्री र मखमली फूललाई रोज्नुपर्छ। स्वदेशी फूलको प्रयोगले राष्ट्रिय पुँजी देशमै रोक्छ, किसानको मुहारमा खुसी ल्याउँछ र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन ठूलो योगदान पु¥याउँछ। तसर्थ, ‘हाम्रो चाड, हाम्रै फूल’ भन्ने भावनालाई आत्मसात् गर्दै स्वदेशी उत्पादनलाई माया गर्नु आजको प्रमुख आवश्यकता हो।