लोकतन्त्रको चौथो अंग मानिने सञ्चार जगत् र नागरिकको मौलिक हकका रूपमा रहेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि फेरि एकपटक निकृष्ट र प्रयोगात्मक प्रहार भएको छ । सोमबार दिउँसो केही सञ्चारगृहको अगाडि आउजाउ नै मुस्किल हुनेगरी शंकास्पद गाडी पार्क भए । ती गाडी निकाल्ने सुरसार नदेखेपछि सम्बन्धित सञ्चारगृहले ट्राफिक प्रहरीलाई खबर गरे । तर ट्राफिक प्रहरीले पनि ती गाडी हटाउने वा उठाउने कुनै सुरसार गरेन । त्यसपछि सञ्चारगृह आफैंले समन्वय गरेर ट्राफिक प्रहरी कार्यालय ती गाडीहरु पुर्याइए ।
सञ्चारगृहमामात्र हैन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर र भाटभटेनी सुपर मार्केटको गेट अगाडि पनि गाडी त्यसरी नै पार्किङ गरेको फेला पर्यो । यसअघि शनिबार र आइतबार न्युरोडका सडकमा पार्किङ गर्दा यातायात नै अस्तव्यस्त हुन पुगेको थियो । फुटपाथमा व्यापारी निस्किए । शनिबार र आइतबार भएको अस्तव्यस्ततामा नागरिक नै दोषी भएको आरोप लागिरहेको बेला जब सोमबार शंकास्पद गाडीहरु सञ्चारगृहको गेटमा पार्क भए– प्रधानमन्त्रीको कार्यालयबाट रचिएको घटना भएको प्रस्ट भयो ।
खासमा गत बिहीबार राइडर गणेश नेपालीले नगर प्रहरीको कारबाहीको विरोधमा आत्मदाहको प्रयास गरे । आगोले जलेर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार निधन भयो । गणेशको निधनपछि सरकारविरुद्ध चौतर्फी आलोचना भयो । मोटरसाइकलमा लागेको ‘ह्विल लक’ र सरकारले बढाउन लागेको सवारी जरिवाना बढी भएको विषयमा पनि चर्को विरोध भयो । यही विषयलाई ‘डाइभर्ट’ गर्न प्रधानमन्त्री वालेन्द्र शाहको समूह नै लगेको पुष्टि सामाजिक सञ्जालमा छताछुल्ल भयो । सञ्चारगृहमा राखिएका गाडीहरु सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सदस्यहरुको भएको खुल्यो ।
खासगरी प्रधानमन्त्रीका सल्लाहकार कुमार व्यञ्जनकारको योजनामा सञ्चारगृहका गेटमा गाडी पार्क गरेको खुलेको छ । ट्राफिक नियम नमान्दा र जरिवानाबारे आलोचनात्मक सामग्री प्रकाशन÷प्रसारण गरेकैले सञ्चारमाध्यमलाई तर्साउन ‘पार्किङ आतंक’ मच्चाइनु खेद्जनक छ । यस्तो विषयमा राज्यले प्रेसलाई निशाना बनाउने काम यसअघिका शासकले पनि गरेका थिए । जसका कारण पुराना सत्ताप्रति जनतामा एक खालको नैरश्यता छायो । र, वालेन्द्रको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बनेको हो ।
यस्तो अवस्थामा सत्तामा पुगेपछि उनै वालेन्द्रले सञ्चारमाध्यममाथि तानाशाही प्रवृत्ति देखाउन थालेको पार्किङ आतंकबाट प्रस्ट भएको छ ।स्वतन्त्र प्रेसले खबरदारी गर्ने हो । प्रेसलाई तर्साउने र मुख थुन्ने प्रयास गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ । सत्ताको चास्नी चाख्न पाएपछि बालेन पनि उत्रनु ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानले चरितार्थ पाउने हो । बेलैमा सुध्रेन भने वालेन्द्रको सत्ता पनि लामो नजाने निश्चित छ ।
प्रेस जगत् भयमुक्त वातावरणमा काम गर्न पाउनु लोकतन्त्रको प्राणवायु हो । यो प्राणवायु निसासिने गरी चालिने कुनै पनि निरंकुश कदम नेपाली प्रेस र सचेत नागरिक समाजलाई स्वीकार्य हुन सक्दैन । तसर्थ, सरकारले आफूमाथि लागेको यो गम्भीर दाग धुने हो भने यस ‘पार्किङ आतंक’का वास्तविक योजनाकार र मतियारहरू को–को हुन्, तिनको तत्काल पहिचान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । सञ्चारमाध्यमको मुख थुनेर होइन, आफ्ना गल्तीहरू सच्याएरमात्रै लोकतान्त्रिक सरकारको प्रतिष्ठा जोगिन सक्छ भन्ने चेत सत्ता सञ्चालकहरूमा बेलैमा आओस् ।