जल तथा मौसम विज्ञान विभागले देशका ३४ जिल्लामा साना नदीहरूमा आकस्मिक बाढीको पूर्वानुमान गर्दै सतर्क रहन जारी गरेको चेतावनीले राज्य संयन्त्र र सरोकारवालालाई पुनः एकपटक झकझकाएको छ । मनसुन सक्रिय भएसँगै देशभर भइरहेको अविरल वर्षा र त्यसका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका समाचारहरूले आसन्न विपद्को भयावह चित्र प्रस्तुत गरिरहेका छन् । काठमाडौं उपत्यका जोड्ने राजमार्ग र विभिन्न सडक खण्डमा बाढीपहिरोले अवरोध सिर्जना गर्दै संवेदनशीलतालाई उजागर गरेको छ । विभिन्न जिल्लामा विपद्मा परेर नागरिकले ज्यान गुमाउनुपरेको दुःखद घटनाहरु सार्वजनिक भइरहेका छन् । यी घटनाले विपद्को जोखिमलाई उजागर गरेका छन् ।
प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसकिए पनि यसबाट हुने मानवीय र भौतिक क्षतिलाई पूर्वतयारी र समयमै गरिने सतर्कताका माध्यमबाट निकै कम गर्न सकिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षित स्थानको पहिचान, होल्डिङ सेन्टरहरूको तयारी र उद्धार टोलीहरूलाई ‘अलर्ट’ अवस्थामा राखेको दाबी त गरेका छन्, तर विगतका अनुभवहरू हेर्दा सरकारी योजना र कार्यान्वयनको तहबीच सधैँ ठूलो खाडल देखिने गरेको छ । घटना घटिसकेपछि मात्रै उद्धारका लागि दौडिने ‘प्रतिक्रियात्मक’ परिपाटीलाई त्यागेर अब ‘पूर्वसक्रिय’ रणनीति अपनाउनुको विकल्प छैन ।
यस घडीमा सबैभन्दा पहिलो र महŒवपूर्ण जिम्मेवारी तीनै तहका सरकार र तिनका मातहतका सुरक्षा निकायहरूको हो । बाढी र पहिरोको उच्च जोखिममा रहेका नदी तटीय क्षेत्र तथा भिरालो जमिनमा बसोबास गर्ने बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्छ । राजमार्गहरूमा पहिरो पन्छाउनका लागि आवश्यक हेभी इक्विपमेन्ट र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ, जसले गर्दा आपूर्ति व्यवस्था र आपत्कालीन यात्रा रोकिने छैन । दोस्रो, सूचनाको प्रभावकारी सम्प्रेषण उत्तिकै आवश्यक छ । मौसमसम्बन्धी पूर्वानुमान र सडकको अवस्थाबारे नागरिकलाई पलपलको जानकारी गराउन स्थानीय सञ्चारमाध्यम र प्रविधिको अधिकतम प्रयोग गरिनुपर्छ ।
विपद् व्यवस्थापन केवल सरकारकोमात्र जिम्मेवारी होइन; यसमा रेडक्रस, स्थानीय क्लब, नागरिक समाज र स्वयं सर्वसाधारणको भूमिका पनि उत्तिकै महŒवपूर्ण हुन्छ । स्थानीय प्रशासनले जारी गरेको सूचना र अनुरोधलाई बेवास्ता गर्दै अत्यावश्यकबाहेकको अवस्थामा पनि यात्रा गर्ने प्रवृत्तिलाई नागरिक स्वयंले रोक्नुपर्छ । जोखिमयुक्त क्षेत्रमा बस्नेहरूले नदीको बहाव र जमिनको अवस्थालाई नियालेर उच्च सतर्कता अपनाउनु बुद्धिमानी हुने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अझै केही दिन तीव्र रूपमा सक्रिय हुने देखिन्छ । तसर्थ, कागजमा बनाइएका विपद् व्यवस्थापनका योजनाहरूलाई व्यवहारमा उतार्ने र समन्वयलाई चुस्त बनाउने यो उपयुक्त समय हो । बेलैमा चेतौं र सम्भावित ठूलो जनधनको क्षतिबाट देशलाई जोगाउन सबै सरोकारवाला निकाय जिम्मेवार र संवेदनशील बनौं ।