- वैदेशिक रोजगार विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाउँदै व्यवसायी
- स्वदेशी विमानस्थल प्रयोग गर्न दिएको निर्देशन नमान्ने आठवटा म्यानपावरलाई जरिवाना
- १५६ वटा इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई विभागले गरायो सचेत
- विवरण बुझाउन विभागले दिएको निर्देशन पालना नगर्ने म्यानपावर ४२४ वटा
काठमाडौं- स्वदेशी विमानस्थल प्रयोग नगरी कामदार पठाउने इजाजतपत्र प्राप्त संस्था कारबाहीमा परेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भारतीय विमानस्थलबाट पठाउने १५६ वटा इजाजतपत्र प्राप्त संस्थालाई सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा म्यानपावर व्यवसायीले स्वदेशी विमानस्थलको प्रयोग गरी श्रमिक पठाउनुपर्ने प्रावधान छ । तर १५६ वटाले उक्त नियमको पालना नगरेको पाइएको विभागले जनाएको छ । विभागको स्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गर्ने संस्थाहरुको सूची शनिबार सार्वजनिक गर्दै ऐनको दफा ५४ बमोजिम पहिलोपटक सचेत गराइएको जनाइएको छ ।
हाल सञ्चालनमा रहेका एक हजार ११७ वटा इजाजपत्र प्राप्त संस्थामध्ये ६७८ वटालेमात्र विवरण उपलब्ध गराएको विभागले जनाएको छ । ४२४ वटाले भने विभागले विवरण उपलब्ध गराउन दिएको निर्देशनको पालना नगरेको सूचनामा भनिएको छ । ऐनको दफा ३७ को प्रावधान उल्लंघन गरेको भन्दै ती संस्थाहरुलाई पनि सचेत गराउँदै विवरण उपलब्ध गराउन पुनः अनुरोध गरिएको छ ।
विभागका अनुसार दुईपटक निर्देशन नमान्ने आठवटा म्यानपावरलाई जरिवानासमेत लगाइएको छ । जसमध्ये ग्राण्ड सुइट जब प्रालि, मास ह्युमन रिसोर्स प्रालि र नुन रिसोर्सेस प्रालिले भारतबाट कामदार पठाएका हुन् । त्यस्तै, एपेक्स एचआर कन्सल्टेन्सी प्रालिसहित टेस्ला ओभरसिज प्रालि, सुनाग्वा इन्टरनेसनल प्रालि, एलाइड इन्टरनेसनल म्यानपावर प्रालि र अञ्जली ओभरसिज सर्भिस प्रालिले भने विभागले माग गरेको विवरण उपलब्ध नगराएका हुन् । प्रत्येक संस्थालाई ५० हजार रुपैयाँ जरिवाना लगाइएको विभागले जनाएको छ ।
विभागले असार १ गते सूचना जारी गर्दै गत चैत १ गतेदेखि जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर रोजगारीमा गएका कामदारलाई कुन विमानस्थलबाट पठाएको भन्ने विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । अन्य देशका विमानस्थलमार्फत श्रमिक पठाएको गुनासो बढेपछि म्यानपावरसँग विवरण माग गरेको जनाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना भएको श्रम सहायता कक्षको अध्ययनमा पनि धेरै श्रमिकहरु भारतको बाटो हुँदै रोजगारीमा गइरहेको भेटिएको थियो ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ मासमेत श्रमिक पठाउने प्रक्रिया स्वदेशी विमानस्थलमार्फत नै हुनुपर्ने स्पष्ट प्रावधान छ । यदि अन्य मुलुकको विमानस्थल प्रयोग गर्नु परे विभागको अनुमति लिनुपर्ने भनिएको छ । यद्यपि, वैदेशिक रोजगार व्यवसायीहरुले अनुमति नै नलिई श्रमिक पठाएको देखिन्छ ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार कार्य हुँदा धेरै अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान कटौती गरेपछि परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली कामदारलाई भारतीय विमानस्थलबाट पठाउने व्यवस्थासमेत गरिएको थियो । हाल त्रिभुवन विमानस्थल पूर्णरुपपमा सञ्चालनमा रहेकोले यहीँबाट उडान भइरहेको अवस्थामा स्वदेशी विमानस्थल प्रयोगमा जोड दिन विभागले कडाइ गरेको देखिन्छ ।
कतिपय अवस्थामा भारतीय बाटो हुँदै अवैधरुपमा खाडीलगायतका मध्यपूर्वी देशहरुमा भइरहेको मानव तस्करी नियन्त्रणमासमेत स्वदेशी विमानस्थलको प्रयोग गर्नु आवश्यक रहेको सरोकारवालको भनाइ छ । यद्यपि, म्यानपावर व्यवसायीहरुले भने विभागले थोरै समय दिएर विवरण मागेकाले उपलब्ध गराउन नसकेको बताउँदै आएका छन् ।