काठमाडौं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन (NDFEEA)को अध्यक्षमा किशोरकुमार केसीले पदबहाली गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार सोमबार उनले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एसोसिएसनको नाममा सोमबार पठाएको पत्रमा असार ५ गते सम्पन्न १३औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष रामप्रसाद गैरे संस्थाको विधानको दफा ७ र ८ बमोजिम अध्यक्ष पदका लागि आवश्यक योग्यता नपुगेको निष्कर्ष निकाल्दै उनको नियुक्ति बदर गरेको जनाएको छ। त्यसपछि अध्यक्ष पदका निकटतम् प्रतिस्पर्धी किशोरकुमार केसीलाई अध्यक्षको जिम्मेवारी तोकिएको हो।
कार्यालयको निर्णयसँगै केसीले पदबहाली गर्दै एसोसिएसनलाई सबै व्यवसायीलाई समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनका क्रममा बनेका प्यानललाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अब विगतका मनमुटाव बिर्सेर कुनै भेदभाव नगरी सबैलाई साथमा लिएर संस्थालाई अगाडि बढाइने बताए।
यता, पदबाट हटाइएका रामप्रसाद गैरेले भने जिल्ला प्रशासन कार्यालयको निर्णय मान्य नभएको प्रतिक्रिया दिएका छन्। गैरेलाई करिब १५ वर्षअघि वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिन डिमान्ड सच्याएको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले कानुनबमोजिम जरिवाना बुझाई कैद सजायको लगत कट्टा गरिसकेका छन्।
यद्यपि सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति एसोसिएसनको अध्यक्ष पदमा बस्न नमिल्ने भन्दै पछिल्ला करिब दुई सातादेखि संस्थाभित्र उनको राजीनामाको विषयलाई लिएर व्यापक बहस र विवाद भइरहेको थियो।