काठमाडौं- वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले संशोधन गर्न लागिएको वैदेशिक रोजगार ऐन, २०६४ सम्बन्धी प्रस्तावित विधेयकको मस्यौदामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो विस्तृत सुझाव युवा, श्रम तथा रोजगार मन्त्रालयमा बुझाएको छ ।
मन्त्रालयले प्रस्तावित संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव आह्वान गरेपछि संघले व्यवसायीहरूको साझा धारणा तयार गर्न व्यापक परामर्श प्रक्रिया अघि बढाएको थियो । यस क्रममा संघका पूर्वअध्यक्ष, शुभेच्छुक, घटक संस्थाका प्रतिनिधि, क्षेत्रीय तथा भेगीय समितिका पदाधिकारी र वर्तमान कार्यसमितिसँग चरणबद्ध छलफल गरी प्राप्त सुझावलाई समेटेर विस्तृत प्रतिवेदन तयार गरिएको हो ।
संघका महासचिव हिराबहादुर (हरि) डाँगीका अनुसार व्यवसायीहरूको साझा निष्कर्ष समेटिएको तीनमहले सुझावसहितको प्रतिवेदन मन्त्रालयका सचिवसमक्ष औपचारिक रूपमा पेश गरिएको छ । प्रतिवेदनमा ऐनका विभिन्न व्यवस्थालाई समयसापेक्ष बनाउन, व्यावहारिक समस्या समाधान गर्न तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउने उद्देश्यका सुझावहरू समावेश गरिएको जनाइएको छ ।
संघले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित संरक्षणसँगै समग्र वैदेशिक रोजगार प्रणालीलाई प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक कानुनी सुधारका लागि आफूले निरन्तर रचनात्मक भूमिका खेल्दै आएको जनाएको छ । ऐन संशोधनको वर्तमान प्रक्रियामा पनि व्यवसायीहरूको अनुभव र व्यवहारिक पक्षलाई समेट्नुपर्नेमा संघले जोड दिएको छ ।
यद्यपि संघले आफ्ना सुझाव मन्त्रालयमा बुझाइसकेको भए पनि ती सुझावहरू अन्तिम संशोधन विधेयकमा कति समेटिने, कुन–कुन व्यवस्था स्वीकार गरिने वा परिमार्जन गरिने भन्ने विषय भने सरकारको निर्णय र आगामी विधायकी प्रक्रियामा निर्भर रहनेछ । मन्त्रालयले प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र आवश्यक परिमार्जनपछि मात्रै संशोधन विधेयकलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।