काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सल्लाहकार तथा कार्यसमिति सदस्यको मनोनयन गरेको छ । संघको सोमबार बसेको बैठकले चार जना सल्लाहकार, कानुनी सल्लाहकार र चार जना कार्यसमिति सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले संघका पूर्वअध्यक्ष एवं अरोरा ह्युमन रिसोर्सेजका सञ्चालक राजेन्द्र भण्डारी, प्याराडाइज इन्टरनेसनलका सञ्चालक नवराज केसी, द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरी र कान्तिपुर म्यानपावरका सञ्चालक धनलाल जैसीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको संघका महासचिव हिराबहादुर डाँगीले जानकारी दिए । केसी, पुरी र जैसी संघका पूर्वसल्लाहकार हुन् ।
सोही बैठकले संघको कानुनी सल्लाहकार थप गर्दै अधिवक्ता मधुकर रिजाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ताद्वय शम्भुप्रसाद निरौला र देवराज कटुवाललाई यसअघि नै नियुक्त गरिसकेको संघले जनाएको छ । यसैगरी संघको विधानबमोजिम मनोनीत हुने चार सदस्य पदमा देवीप्रसाद गिरी, राजेन्द्र बस्नेत, शिवहरि मैनाली तथा श्यामचन्द्र खतिवडालाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको महासचिव डाँगीले बताए ।
संघको गत जेठ २४ गते सम्पन्न विशेष साधारणसभाबाट डिकबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएको एक महिना पुग्नै लाग्दा सल्लाहकार र मनोनयनतर्फको सदस्य मनोनीत गरिएको हो ।
ऐन संशोधनमा सुझाव दिने तयारी
सोमबारको बैठकमा वैदेशिक रोजगार ऐन संशोधनका लागि संघकोतर्फबाट सुझाव पेस गर्नेबारेसमेत छलफल भएको महासचिव डाँगीले बताए । उनका अनुसार युवा, श्रम, रोजगार मन्त्रालयबाट तयार गरिएको मस्यौदामा सुझाव माग गरिएकोमा त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सोही विषयको छलफलका क्रममा वैदेशिक रोजगारीमा जाने कामदारको लागत निर्धारण, कामदारको जिम्मेवारी तथा दायित्व स्पष्ट बनाउने, विद्यमान नीतिगत तथा कार्यान्वयनगत जटिलताको समाधान गर्ने लगायत दर्जनौं विषयमा संशोधन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । सोहीअनुसार संघले विस्तृत संस्थागत राय तथा लिखित सुझाव तयार गरी मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ ।
महासचिव डाँगीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गरे । राज्यले नीतिगत सुधार गरे वैदेशिक रोजगार क्षेत्रलाई सुधार्ने जिम्मा संघले लिनेसमेत उनले दाबी गरे । ‘नीति सुधार्ने जिम्मा राज्यले लिओस्, यो क्षेत्र सुधार्ने जिम्मा संघले लिने छ,’ उनले भने ।
संघले वैदेशिक रोजगार क्षेत्रका समसामयिक चुनौतीहरूको समाधान, श्रमिकको हित संरक्षण, व्यवसायको संस्थागत विकास तथा सुशासन प्रवद्र्धनका लागि सरकारसँग रचनात्मक सहकार्य गर्दै आवश्यक नीतिगत सुधारका विषयमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।