काठमाडाैं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरिरहेको सरकारलाई संस्थागत सुझाव पेस गर्ने निर्णय गरेको छ। संघको कार्यसमिति बैठकले श्रमिकको हित, व्यवसायको पारदर्शिता तथा नीतिगत सुधारसँग सम्बन्धित विषयमा विस्तृत राय तयार गरी युवा तथा रोजगार मन्त्रालयमा बुझाउने निर्णय गरेको हो।
बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत निर्धारण, श्रमिकको जिम्मेवारी तथा दायित्व स्पष्ट गर्ने, नीतिगत तथा कार्यान्वयनगत जटिलता हटाउने लगायतका विषयमा संशोधन आवश्यक रहेको निष्कर्ष निकालिएको संघले जनाएको छ। यी विषय समेटेर लिखित सुझाव मन्त्रालयमा पेस गरिने निर्णय भएको हो।
यसैबीच, बैठकले संघको विधानअनुसार विभिन्न पदमा नयाँ जिम्मेवारी पनि तोकेको छ। संघका पूर्वअध्यक्ष तथा अरोरा ह्युमन रिसोर्सेसका सञ्चालक राजेन्द्र भण्डारीलाई सल्लाहकार नियुक्त गरिएको छ। साथै, नवराज केसी, रघुनाथ पुरी र धनलाल जैसीलाई पनि सल्लाहकारको जिम्मेवारी दिइएको छ।
कानुनी सल्लाहकारतर्फ वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र वरिष्ठ अधिवक्ता देवराज कटुवालसँगै अधिवक्ता मधुकर रिजाललाई पनि कानुनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको छ। विधानबमोजिम मनोनयन हुने चार सदस्यमा देवीप्रसाद गिरी, राजेन्द्र बस्नेत, शिवहरि मैनाली र श्यामचन्द्र खतिवडालाई चयन गरिएको छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरी)ले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नीतिगत सुधार अपरिहार्य रहेको बताए। उनका अनुसार राज्यले नीतिगत सुधार अघि बढाउँदा निजी क्षेत्रले पनि व्यवसायलाई थप जिम्मेवार र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नेछ।
संघले श्रमिकको हित संरक्षण, व्यवसायको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा वैदेशिक रोजगार क्षेत्रमा देखिएका समसामयिक चुनौती समाधानका लागि सरकारसँग निरन्तर सहकार्य गर्दै आवश्यक नीतिगत सुधारका लागि पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।