काठमाडौं- वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा एकै दिन २५ वटा मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबार उक्त संख्यामा मुद्दा दर्ता गरेको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिएका छन् । मन्त्री यादवको सचिवालयको फेसबुक पेजबाट शुक्रबार सार्वजनिक विवरणअनुसार वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने आठ जना अभियुक्तलाई शुक्रबार पक्राउ गर्नुका साथै १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
‘वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरूमाथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ,’ मन्त्री यादवको सचिवालयको पोस्टमा भनिएको छ, ‘म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ ।’ विभागको संस्था अनुगमन शाखाले शुक्रबार तीनवटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको जनाइएको छ । विभागले ४७ वटा म्यानपावर कम्पनी र सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको मन्त्री यादवले उल्लेख गरेका छन् ।
‘पीडितको उद्धार र राहतमा सक्रियता ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले आजै (शुक्रबार) दुई जनाको उद्धार गरेको छ भने पाँच वटा उजुरीको फस्र्योट गरेको छ,’ मन्त्री यादवको फेसबुक पोस्टमा उल्लेख छ, ‘श्रमिकलाई विदेशमा नै सम्झौताबमोजिमको सेवा सुविधा दिलाउन विभागले दुई वटा ठोस प्रतिबद्धतासमेत प्राप्त गरेको छ ।’ मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कुनै पनि कसर बाँकी नराख्ने र श्रमिक ठग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउने चेतावनीसमेत दिएका छन् ।