बिहीबार दिउँसो केही घण्टा वर्षा हुँदा काठमाडौं उपत्यकाका केही सडक ताल बन्न पुग्यो । जसका कारण काठमाडौंको सडक एकैछिनमा ट्राफिक जामले अस्तव्यस्त बन्न पुग्यो । केही समययता खुला हुन थालेको सडकजाम बिहीबार साँझ एकाएक जामले अस्तव्यस्त बनेको थियो । हरेक वर्ष मनसुन सुरु भएपछि यहाँका सडकहरू नदी र ताल झैं देखिन्छन् । घाम लाग्दा धुलो र पानी पर्दा काठमाडौंका सडक त्यसै फोहोर देखिन्छ नै । तर मुसलधारे पानी पर्दा ती पानी बगेर जाने ठाउँ कतै छैन । खोलाखोल्छी साघुरो बनाइएको छन् । सहर कंक्रिट बनेका छन् । सिमेन्टकै घर, सिमेन्टकै बाटो, सिमेन्टकै आँगन भएसँगै पानी जमिनभित्र पस्ने ठाउँ नै छैन ।
यस्तो गर्दा एक त जमिनमा पानी रिचार्ज हुन पाउँदैन । जसले माटोसमेत मक्किँदै जान्छ । अनि पानीको स्रोत पनि सुक्दै जान्छ । उपत्यकाका खुला चौर, पोखरी र खेतहरू कंक्रिट बन्द जमिनले पानी सोस्ने क्षमता गुमाइसकेको छ । अर्कोतर्फ, टुकुचा, धोबीखोला र बागमती जस्ता प्राकृतिक जलमार्गहरूलाई अतिक्रमण गरेर साँघुरो बनाइएको छ । खोलाहरू नै थुनिएपछि सडकको पानी कहाँ जाने ? नदीमा निकास नपाएको ढलको पानी उल्टै ब्याकफ्लो भएर सडक र बस्तीमा आउने हो ।
यसरी अव्यवस्थित तवरले विकास भएको सहरीकरणका कारण कहिलेकही सडकमै उद्दार गर्न डुंगा ल्याउनुपर्ने अवस्था आइपर्छ । यो दैवीभन्दा पनि मानव-निर्मित समस्या हो । काठमाडौंमा पानी पर्नु आफैँमा समस्या होइन, तर त्यो पानीलाई सुरक्षित रूपमा निकास दिने प्रणाली नहुनु मुख्य समस्या हो । हरेक वर्ष सडक जलमग्न हुँदा राज्यका निकायहरू एकअर्कालाई दोषारोपण गरेर पन्छिने गर्छन् । हामीमा पनि रज्यलाई दोष दिएर पन्छिने प्रवृत्ति मौलाएकै छ । महानगरपालिका सडक विभागलाई देखाउँछ, सडक विभाग खानेपानी वा ढल आयोजनालाई औंल्याउँछ । समन्वयको अभावले नागरिकले भने सास्ती भोग्नुपरेको छ ।

अब सरकारले उपत्यकाका सम्पूर्ण ढल प्रणालीको डिजिटल म्यापिङ गरी यसको क्षमता विस्तार गरिनुपर्छ । नदी र खोलाका किनारहरूलाई अतिक्रमणमुक्त बनाउन कडा कानुनी कदम चाल्नैपर्छ । अनि वर्षाको पानी जमिनमा रिचार्ज हुने गरी विशेष व्यवस्था लागू गर्नुपर्छ । विकसित देशमा घर बनेको क्षेत्रफलभन्दा तीन गुणा जमिन खुला छाड्नुपर्छ, जसलाई सिमेन्टेड वा प्लास्टर गर्नसमेत पाउँदैनन् । यसैले सरकार र स्थानीय निकायले आफ्नो लाचारीपन त्यागेर ढल र पूर्वाधार व्यवस्थापनलाई युद्धस्तरमा सुधार नगर्ने हो भने, काठमाडौं यसरी सास्ती खेप्ने ठाउँमात्र हैन धराप नै बन्न सक्छ ।