राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिमा उदाउँदा उसको सबैभन्दा ठूलो राजनीतिक पुँजी थियो– पुराना दलप्रति जनताको वितृष्णा र आक्रोश । कांग्रेस, एमाले, नेकपाजस्ता स्थापित दलहरूमा देखिएको गुटबन्दी, भागबण्डा, व्यक्तिपूजा र सत्ताकेन्द्रित राजनीतिबाट आजित मतदाताले रास्वपामा फरक राजनीतिक संस्कृतिको सम्भावना देखेका थिए । तर, चितवनमा जारी प्रथम महाधिवेशनका क्रममा देखिएको घटनाक्रमले रास्वपा पनि विस्तारै पुरानै राजनीतिक रोगको सिकार बन्दै गएको देखिएको छ ।
महाधिवेशनको उद्घाटनसत्रमा शीर्ष नेताहरूले गुटबन्दी नगर्न सार्वजनिक आग्रह गरे । तर, व्यवहारमा भने पार्टीभित्र विभिन्न शक्ति केन्द्रहरू सक्रिय रहेको तथ्य लुक्न सकेन । सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह, उपसभापति डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र समीक्षा बास्कोटा वरिपरि छुट्टाछुट्टै समूह निर्माण भइरहेको चर्चा आफैंमा गम्भीर विषय हो । नयाँ राजनीतिको अभ्यास गर्ने दाबी गरेको दलमा महाधिवेशनकै बेला पाँचवटा शक्तिकेन्द्र देखिनु सामान्य घटना होइन ।
झन् चिन्ताको विषय त पदाधिकारी चयनलाई लिएर भइरहेको भागबण्डाको राजनीति हो । कुन समूहले कति पद पाउने, कसलाई उपसभापति बनाउने, कसलाई महामन्त्री दिने भन्ने विषयले पार्टीको आन्तरिक बहस नै प्रभावित गरेको देखिन्छ । वालेन्द्र शाह पक्षलाई निश्चित संख्या पदाधिकारी दिने, स्वर्णिम वाग्ले पक्षलाई छुट्टै व्यवस्थापन गर्ने, अन्य समूहलाई पनि सन्तुष्ट पार्ने प्रयासले रास्वपाको निर्णय प्रक्रिया विचार र नीतिभन्दा शक्ति सन्तुलनतर्फ केन्द्रित भएको आभास दिन्छ ।
लोकतान्त्रिक दलभित्र फरक मत, विचार र धारणा हुनु अस्वाभाविक होइन । बरु त्यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, विचार र सिद्धान्तका आधारमा होइन, व्यक्ति र पदका आधारमा समूह निर्माण हुनु भने राजनीतिक विकृति हो । नेपालका पुराना दलहरू यही समस्याबाट दशकौंदेखि ग्रस्त छन् । महाधिवेशन र अधिवेशनहरू नीतिगत बहसभन्दा गुटगत शक्ति प्रदर्शनका थलो बन्ने गरेका छन् । रास्वपाले यिनै प्रवृत्तिको आलोचना गरेर आफूलाई वैकल्पिक शक्ति बनाएको थियो । आज त्यही दलभित्र उस्तै अभ्यास देखिन थालेको छ ।
राजनीतिमा नयाँ अनुहार आउनुमात्र परिवर्तन होइन । नयाँ सोच, नयाँ संस्कार र नयाँ कार्यशैली आउनु नै वास्तविक परिवर्तन हो । यदि पुराना दलका नेताको ठाउँमा नयाँ अनुहारमात्र आए तर राजनीतिक व्यवहार उही रह्यो भने त्यसले जनताको अपेक्षा पूरा गर्न सक्दैन । रास्वपाको परीक्षण अहिले यही बिन्दुमा भइरहेको छ ।
महाधिवेशन कुनै पनि दलका लागि आत्मसमीक्षा र भविष्यको मार्गचित्र तय गर्ने अवसर हो । तर, यदि त्यही महाधिवेशन पदको भागबण्डा मिलाउने र शक्तिकेन्द्र व्यवस्थापन गर्ने प्रक्रियामा सीमित हुन्छ भने त्यसले पार्टीको दीर्घकालीन भविष्यलाई नै कमजोर बनाउँछ । जनताले रास्वपालाई पुराना दलहरूको प्रतिरूप बन्न होइन, तिनको विकल्प बन्न मत दिएका थिए ।
त्यसैले रास्वपाले अहिले देखिएको गुटगत राजनीतिलाई सामान्य प्रतिस्पर्धा भनेर बेवास्ता गर्नु हुँदैन । यदि समयमै यसलाई संस्थागत संस्कृतिमा रूपान्तरण हुनबाट रोक्न सकिएन भने रास्वपा पनि अन्ततः पुरानै दलहरूले हिँडेको बाटोमा पुग्ने छ । त्यस अवस्थामा नयाँ राजनीतिको सपना देखेका मतदाताको निराशा झन् गहिरो हुने छ । नयाँ दलको सफलता चुनावी परिणामलेमात्रै होइन, उसले स्थापित गर्ने राजनीतिक संस्कृतिले निर्धारण गर्छ । रास्वपाले त्यो यथार्थ बुझ्न ढिलो गर्नु हुँदैन ।