मुलुकमा विगत केही समयदेखि गर्मी ह्वात्तै बढेको छ, जसका कारण समग्र जनजीवन नराम्ररी प्रभावित भएको छ । विशेषगरी तराईका जिल्लाहरूमा तापक्रम उच्च बिन्दुमा पुग्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित बनेको छ । अत्यधिक गर्मीकै कारण तराईका कतिपय स्थानीय तहले विद्यालयहरू बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । मौसममा आएको यो चरम परिवर्तन केवल असहजतामात्र होइन, यसले जनस्वास्थ्य र सुरक्षामा गम्भीर संकटसमेत निम्त्याएको छ । गर्मी बढेसँगै ‘लू’, डेंगी संक्रमण र सर्पदंशजस्ता जोखिमहरू तीव्ररूपमा बढेका छन् । यस्तो संकटपूर्ण घडीमा नागरिक तहमा सतर्कता र सरकारी निकायबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्नु अपरिहार्य भइसकेको छ ।
तराई क्षेत्रमा अहिले तातो हावा अर्थात् ‘लू’ चल्ने क्रम बढेको छ । यसले गर्दा ‘डिहाइड्रेसन’, चक्कर लाग्ने, बेहोस हुने र समयमै उपचार नपाए ज्यानसमेत जान सक्ने खतरा रहन्छ । यसका साथै, गर्मी र मनसुनको आगमनसँगै लामखुट्टेको प्रजनन् प्रक्रिया तीव्र हुने भएकाले डेंगी संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ । अर्कोतर्फ, तापक्रम वृद्धिसँगै दुलोबाट सर्पहरू बाहिर निस्कने हुनाले ग्रामीण क्षेत्रमा सर्पदंशका घटनाहरूमा निकै वृद्धि भएको छ । यी त्रिपक्षीय चुनौतीहरूले हाम्रो स्वास्थ्य संरचनालाई नै गम्भीर दबाबमा पारेका छन् ।
गर्मी र यसबाट सिर्जना हुने स्वास्थ्य जोखिमबाट बच्न सबैभन्दा पहिले नागरिक स्वयं सचेत हुन जरुरी छ । यसका लागि प्रशस्त पानी र तरल पदार्थको सेवन गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम हुन नदिन दिनभरिमा पटक–पटक पानी, कागती पानी, नरिवलको पानी वा जीवनजल पिउनुपर्छ । दिउँसोको अत्यधिक घाम (विशेष गरी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) मा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परे छाता, टोपी, र चस्माको प्रयोग गर्ने तथा सुतीका हल्का र खुकुला कपडा लगाउनु उपयुक्त हुन्छ ।
लामखुट्टको टोकाइबाट सर्ने डेंगीबाट बच्न घरवरिपरि पानी जम्न नदिने, सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्ने र शरीर पूरै ढाक्ने लुगा लगाउने गर्नुपर्छ । सर्पदंशबाट बच्न गर्मी र वर्षाको समयमा घरवरिपरि सफा राख्ने, राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र भुइँमा सुत्नुको साटो खाटको प्रयोग गर्नाले सर्पदंशको जोखिम धेरै हदसम्म कम हुन्छ ।
बढ्दो जोखिमलाई न्यूनीकरण गर्न नागरिकको चेतनाले मात्र पुग्दैन, राज्यका सम्बद्ध निकायहरूको सक्रियता उत्तिकै आवश्यक हुन्छ । स्थानीय अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ‘लू’ का बिरामीका लागि शय्याहरू सुरक्षित राख्ने, जीवनजल र स्लाइन पानीको पर्याप्त मौज्दात राख्ने तथा सर्पदंशको उपचारका लागि २४ सै घण्टा सेवा उपलब्धता सुनिश्चित गरिनुपर्छ । डेंगी नियन्त्रणका लागि स्थानीय सरकारहरूले लामखुट्टे नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ । सार्वजनिक स्थलहरूमा सर्वसाधारणका लागि निःशुल्क पिउने पानी र छहारीको व्यवस्था मिलाउनु आवश्यक छ ।
गर्मीको यो प्रकोप र यसले ल्याएका स्वास्थ्य चुनौतीहरू प्राकृतिक भएता पनि यसबाट हुने क्षतिलाई मानवीय प्रयास र पूर्वतयारीमार्फत निकै कम गर्न सकिन्छ । नागरिकले व्यक्तिगत तहबाट उच्च सतर्कता अपनाउने र राज्यका स्थानीय तथा प्रादेशिक सरकारहरूले स्वास्थ्य क्षेत्रमा द्रुत प्रतिकार्य योजना लागू गर्ने हो भनेमात्र यो संकटलाई सहजै टार्न सकिन्छ ।