
दोहा– कतार प्रवेश गर्ने यात्रुहरूले अनिवार्य रूपमा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र पेस गर्नु पर्ने भएको छ । अगस्ट १३ तारिखदेखि केही देशहरूका तोकिएको विमानस्थलबाट कतार प्रबेश गर्ने कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने कतार एयरलाइन्सले जनाएको छ ।
तत्कालका लागि इराक, इरान, ब्राजिल, पाकिस्तान, बंगलादेश तथा श्रीलंकाबाट कतार आउने यात्रुहरूले कोरोना नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ । त्यस्तै एयरलाइन्सले नेपाल, भारत नाइजेरिया र रुसमा पनि उडान सुचारु गरेपछि कतार प्रवेश गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने जनाएको छ ।
मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट कोरोना जाँच गरी यात्रा गर्नुभन्दा ७२ घन्टाभित्र कोभिड–१९ को परीक्षण गरिएको रिपोर्ट मात्र मान्य हुने एयरलाइन्सले जनाएको छ ।
कोरोना नेगेटिभ सर्टिफिकेट नभएका र कतार एयरलाइन्सको फारम नभरेका यात्रुहरूलाई कतार प्रवेश गर्न नदिने जनाएको छ । तर आफूसँग यात्रा गर्ने आङ्खनो १२ वर्षभन्दा कम उमेरका बालबालिकाको भने कोरोना रिपोर्ट नचाहिने एयरलाइन्सले जनाएको छ ।
कतारबाट बिदामा नेपाल गएका र कतारले हवाई उडान सुचारु गरेपछि नेपालमा स्टार हस्पिटल सानेपा हाइट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, केएमसी हस्पिटल सिनामंगल, हंस हस्पिटल धुम्बाराहीमा कोरोना परीक्षण गर्न सकिने जनाएको छ । यसैगरी, सूर्य हेल्थ केयर लाजिम्पाट, सेन्ट्रल डायग्नोसिस ल्याबरेटरी, कमलपोखरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पताल सुन्धारामा कोरोना परीक्षण गर्न सकिने एयरलाइन्स जनाएको छ ।