
दोहा– कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकहरूलाई कतारले पुनः रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुनः रोजगारीका लागि अनलाइन फारम सुरु गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसँग सहकार्य गरि पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ ।
रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइनमार्फत पुनः रोजगारका लागि आवेदन दिन सकिने र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ ।
यता, एनआरएनए कतारले यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने छ र श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।
श्रमिकहरूको हकहितको लागि कतार सरकारले उठाएको कदम तथा सराहनीय कार्यप्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् आभार प्रकट गरेको छ ।
कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर विगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ । कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आङ्खनो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरी ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिब ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।