
दोहा– कतारमा टिकट काट्न नसकेका नेपालीलाई टिकट उपलब्ध गराइने भएको छ । कतारस्थित नेपाली दूताबास, गैरआवासीय नेपाली संघ, (एनआरएनए) कतारले र नेपाली व्यवसायी संघ कतारले टिकट काट्न नसक्ने ५५ जना नेपालीलाई स्वदेश फिर्तीका लागि टिकटको व्यवस्था गर्ने भएको छ ।
एनआरएनए कतारबाट २० वटा, नेपाली व्यवसायी संघबाट २० वटा र नेपाली दूताबासबाट १५ वटा गरी ५५ वटा टिकट उपलब्ध गराउन लागिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिएका छन् ।
प्रवक्ता क्षत्रीका अनुसार लामो समयदेखि अस्पतालमा बसेका, कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनका लागि टिकट उपलब्ध गराइने छ ।
कतारमा रहेका स्थापित विभिन्न संघसस्थाहरुलाई पीडित नेपालीहरुको विवरण इमेलमार्फत पठाउन अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदाले बताए ।
यसअघि कतारबाट कोरोना कारणलगायत विभिन्न कारणले स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । अब दोस्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ ।
यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोस्रो चरणमा ६ जहाजले उडान गर्ने दूताबासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । कतारलगायत खाडीका अन्य देशहरुमा टिकट काट्न नसकेकै कारण धेरै नेपालीहरु समस्या रहेका छन् ।