अन्तरिम सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङ पछिल्लो दिन बागमती सङ्लो कसरी बनाउन सकिन्छ भन्ने अभियानमा देखिन्छन् । धार्मिक हिसाबले अति नै पवित्र मानिन्छ बागमतीको पानी । तर काठमाडौंका चारैतिर बनेका अव्यवस्थित बस्तीका कारण ढल त्यही नदीमै खसालिन्छ ।
जसका कारण बागमती झन्डै सुक्ने अवस्थामै पुगेको थियो । तर यसलाई जोगाउन भन्दै २०६६ बाट वागमती परियोजना शुरु भयो । बागमतीमा सरसफाइ अभियान चल्यो । करिडोर बनाउन लाखौ खर्च भयो । अहिले बागमतीले एक किसिमको स्वरुप लिएको छ ।
एसियाली विकास बैंकलगायत विभिन्न संस्थाबाट ऋण लिएर शुरु भएको परियोजनामा २१ अर्ब खर्च भइसक्यो । अहिले जोरपाटीदेखि पशुपतिको गुहेश्वरीसम्म ढललाई व्यवस्थित गरिसकेको छ । यहाँसम्मको ढल गुहेश्वरीमा बनेको प्रशोधन केन्द्रमा राखेर त्यहाँबाट पानी सङ्लो बनाएर बागमतीमा खसाल्ने योजना बनेको छ ।
हिजोआज बागमतीमा पानी कम हुँदा बेलाबेला मेलम्चीको पानीसमेत बगाउँछ । यो पानीको बदलामा बागमती परियोजनाले धाप ढ्यामको पानि पैचो दिने गर्छ । गोकर्णेश्वर क्षेत्र वा पशुपति क्षेत्रमा मेला लाग्दा धाप ढ्यामको पानी खोलेर बगाउने गरिन्छ । यसले नदीको सौन्दर्य केही फर्किएको हो कि भन्ने पनि देखाउँछ । बर्खाको पानी जम्मा गरेर धाप ढ्याम भरिएको हुँदा यो पानी बागमतीका लागि निकै उपयोगी बनेको छ ।
तर कहिलेकहीमात्र नदी बगेर भएन । यसका लागि मन्त्री घिसिङले भने झैं ढल व्यवस्थापन हुनुप¥यो । सरकारले यो क्षेत्रमा हिउँद याममा पानी सफा बगाउन विभिन्न अध्ययन गरेको छ । यसका लागि धामभन्दा केही तल नागमती ढ्याम बनाउने परियोजना तयार भएको छ । तर कतिपयले यो ढ्यामले सुन्दरीजललगायतको क्षेत्रमा असर पर्ने भनेका छन् भने कतिले पशुपति नै बगाउने भनेका छन् । खासमा बागमतीमा सफा पानी बगाउनमात्र हैन बर्खे पानी संकलन गरेर बिजुली निकाल्ने योजनासमेत यो परियोजनाको रहेको छ ।
यस्तो अवस्थामा यो परियोजना सफल पार्न सबैको साथ चाहिन्छ नै । मन्त्री घिसिङले यो क्षेत्रमा देखाएको सक्रियता सायद यही ढ्याम बनाउन पनि हुन सक्छ । यदि यसो हो भने पक्कै पनि यो सुखद विषय हो । संसारका धेरैजसो शक्तिशाली मुलुकहरुले यस्ता ढ्याम बनाएर धेरै आर्थिक सुधार गरिसकेका छन् । काठमाडौंमा पनि यो ढ्याम बनेमा सबैलाई हितकारी हुने देखिन्छ । एक त पवित्र नदीको सौन्दर्य फर्किने, अर्को बिजुली पनि बल्ने । यो अभियान साकार बनाउनु सरकारको दायित्व नै हो ।