काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले जिल्लाका प्राथमिक पूर्वाधार तथा विकास योजना आउदो आर्थिक वर्ष ०८३/०८४ को बजेटमा समावेश गरिदिन विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टीको खोटाङ जिल्ला समितिले निर्माणाधीन योजनाहरूमा समेत ढिलासुस्ति भईरहेको प्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण पत्र पेश गरेको हाे ।
समितिले जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा आवश्यक उपकरण भए उपचारका लागि काठमाडौं र विराटनगर धाउनपर्ने बाध्यताको अन्त्य हुने भन्दै बजेटको रातो किताबमा समावेश गरिदिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । जिल्लाको प्रमुख समस्याको रुपमा रहेको बाँदर आतंक नियन्त्रणमा जोड दिँदै समितिले वन तथा वातावरण मन्त्रालयलाई पत्र बुझाएको छ ।
साथै, सडक पुलहरुको स्तरोन्नति, निर्माण र मर्मतसम्भार, स्वास्थ्य चौकीहरूको मर्मतसम्भार तथा पुनर्निर्माण, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनासँग सम्बन्धित विषय, विद्यालय, सिँचाइ, खानेपानी, पर्यटकिय स्थलहरुको संरक्षण, विकास, विस्तार र प्रबर्द्धन लगायतका समग्र समस्याहरु विभागीय मन्त्रालय समक्ष राखेको जनाइएको छ ।
पार्टीका खोटाङ जिल्ला समितिका उपसभापति गोविन्द भुजेल, सचिव तुला खत्री, सदस्य भगवती रोका लगायतको उपस्थितमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको खोटाङका जिल्ला सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिए ।