काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ढाेकामा लागेकाे ताला खाेलिएकाे छ । आज व्यवसायी संघको ढाेकामा लागेकाे ताला व्यक्तिगत निवास नभएकाे भन्दै ताला ताेडिएकाे हाे ।
आज विहानैदेखि संघको ढाेकामा ताला लागेकाे थियाे । दिउँसाे सवा तीन बजे मात्र कार्यसमितिकाे बहुमत उपस्थितिमा उक्त ताला खाेलिएकाे हाे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र १२ सय व्यवसायीहरु रहेकाे संघ कसैकाे व्यक्तिगत निवास नभएकाे भन्दै कार्यसमितिका द्वितिय उपाध्यक्ष देवकुमार खाेखालीले कार्यसमितिकाे बहुमतमा ताला ताेडेकाे बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले यसरी संघमा ताला लगाउने हर्कत स्वीकार नहुने बताए । व्यवसायीकाे पक्षमा अभिभावकत्व जिम्मेवारी भएर जवाफदेही हुने उनले बताए । फुटेर हाेइन बाँकी रहेकाे कार्यकाल मिलेर सहयात्रा गर्ने उनले बताए।
अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेतबीचको विवाद समाधान नभएपछि सोमबार पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।