काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालनमा आउनु आफैंमा एक सुखद र स्वागतयोग्य कदम हो । काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा सुरु भएको यो सेवाले रातिको समयमा यात्रा गर्न बाध्य सर्वसाधारण, विशेषगरी श्रमिक, विद्यार्थी, र अस्पताल आउने-जाने बिरामीका आफन्तहरूलाई ठूलो राहत दिने निश्चित छ । तर, विगतको अनुभवलाई हेर्दा यो सेवाको निरन्तरतामा भने आशंका गरिएको छ ।
राजधानीजस्तो व्यस्त सहरमा राति ८ बजेपछि सार्वजनिक यातायात ठप्प हुनु र सर्वसाधारणले महँगो ट्याक्सी वा निजी सवारीको भर पर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा महानगरले विद्युतीय बसमार्फत हरेक २० मिनेटको अन्तरालमा सेवा दिने जुन योजना ल्याएको छ, त्यसले ‘सहर सुते पनि सेवा सुत्दैन’ भन्ने सन्देश दिन खोजेको छ । यसअघि पनि पटक-पटक रात्रिकालीन बस सेवा सुरु नगरिएका होइनन्, तर ती केही हप्ता वा महिनामै बन्द भए । विगतमा पर्याप्त सुरक्षाको अभाव, न्यून यात्रु संख्या र कमजोर व्यवस्थापनका कारण ती प्रयासहरू असफल भएका थिए ।
यसपटकको सेवालाई विगतको नियतिबाट जोगाउन महानगर र साझा यातायातले विशेष ध्यान दिनु जरुरी छ । पहिलो सर्त ‘सुरक्षा’ हो । बसमा सिसिटिभी क्यामरा र नगर प्रहरीको उपस्थिति हुनु सकारात्मक छ, तर बस स्टपसम्म पुग्ने र ओर्लिएर घरसम्म पुग्ने सडकमा सुरक्षा सुनिश्चितता नभएसम्म यात्रुहरू ढुक्क भएर निस्कन सक्दैनन् । दोस्रो पक्ष ‘नियमितता’ हो । यात्रुले २० मिनेटमा बस आउँछ भन्ने विश्वास नपाएसम्म उनीहरूले यस सेवालाई विकल्पका रूपमा रोज्ने छैनन् ।
यस सेवालाई प्रभावकारी बनाउन केवल दुईवटा रुटमात्र पर्याप्त छैनन् । चक्रपथ र अन्य भित्री सडकहरूमा पनि विस्तारै यसको सञ्जाल फैलाउनु आवश्यक छ । साथै, यो सेवालाई एक व्यावसायिक र व्यवस्थित मोडेलमा लैजानुपर्छ । रात्रिकालीन समयमा न्यून यात्रु हुने समस्यालाई सम्बोधन गर्न रुट र समयको सही तालमेल मिलाउनुपर्छ ।
रात्रिकालीन बस सेवा सुरु हुनुमात्र ठूलो कुरा होइन, यसलाई निरन्तरता दिनु ठूलो चुनौती हो । विगतका गल्तीबाट पाठ सिक्दै, यसलाई औपचारिकताका लागिमात्र सीमित नराखी सहरको रात्रिकालीन अर्थतन्त्रलाई चलायमान बनाउने मेरुदण्डका रूपमा विकास गरिनुपर्छ । रात्रिकालीन बससेवालाई निरन्तरता दिन र यसलाई थप प्रभावकारी बनाउन काठमाडौं सहरलाई साँच्चिकै जीवन्त बनाउनुपर्छ । हुन त दरबारमार्ग, ठमेल जस्ता मुख्य पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने प्रयास नभएका होइनन्, ती प्रयास सफल भएनन् । असफल हुनुको कारण पहिचान गरी यी ठाउँहरुलाई रातिको समय पनि चलायमान बनाउन सके रात्रिकालीन बससेवाको औचित्य थप बढ्ने छ ।