ओखलढुंगा - नेपाल तामाङ घेदुङकाे ओखलढुंगा जिल्लामा ९औँ अधिवेशन सम्पन्न भएको छ। बुधबार नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला अधिवेशन सुनकोसी गाउँपालिका-५ मुलखर्कामा भव्य रूपमा सम्पन्न भएको हाे ।
जिल्ला अध्यक्ष सुबास मोक्तानको अध्यक्षतामा गरिएकाे उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथिमा रहेका संघीय अध्यक्ष मोहन गोले तामाङबाट गरिएकाे थियाे ।
विशेष अतिथिका रूपमा संघीय घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङ, सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङ, घेदुङ कोषाध्यक्ष रुप योन्जान, संघीय सदस्य बिलाम मुक्तान, चन्द्र ग्यापक (मुस्कान), सशिकार लामा लगायत जनप्रतिनिधि, वडा अध्यक्ष, जिल्ला पदाधिकारी तथा स्थानीय घेदुङका प्रतिनिधिहरू र विभिन्न संघ–संस्थाको प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायले सांस्कृतिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको उल्लेख गरे । उनले अब राजनीतिक क्रान्ति आवश्यक भएको बताएका छन् । उनले भने, “हामी अब डम्फू र नाचगानमा मात्र सीमित रहने होइनौँ। घेदुङले सांस्कृतिक क्रान्ति गरिसकेको छ, अब विभेद अन्त्यका लागि राजनीतिक क्रान्ति सुरु गर्नुपर्छ। आज हाम्रो पहिचान देश-विदेशका गल्ली-गल्लीमा झल्किएको छ, अब अधिकार प्राप्तिका लागि संगठित रूपमा अघि बढ्ने समय आएको छ।”
वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङले तामाङ समुदायलाई जागरूक बन्न आह्वान गर्दै परम्परागत सोचबाट माथि उठेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामी सधैं खेतीपाती गर्ने र गोरु जोत्ने मात्र होइन, अब विचार र नेतृत्व पनि जोत्नुपर्छ। समुदायप्रति जिम्मेवार बन्दै हामी सबैले अग्रसर भूमिका खेल्नुपर्छ।”
शिक्षा र राजनीतिक बुझाइ आवश्यक सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङले नेपाल तामाङ घेदुङ सम्पूर्ण तामाङ समुदायको अधिकार संरक्षण गर्ने साझा संस्था भएको उल्लेख गर्दै शिक्षा, आर्थिक विकास र राजनीतिक चेतनामा समुदाय अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भने, “हरेक घर शिक्षित भयो भने मात्र आगामी पुस्ताले सुख पाउँछ। त्यसका लागि हामीले राजनीति बुझ्नुपर्छ र संगठित रूपमा अघि बढ्नुपर्छ।”
साेहि जिल्लाका पालिका प्रसासकिय प्रमुख बिवेक तामाङले समुदायको उत्थानका लागि सबै समुदायको जातीय भाषालाई स्थानीय पठन पठान हुनु आवस्यक रहेका बताए । त्यसको लागी सुनकोसी गाउँपालिका सबै खाले सहयोग गर्न तयारी रहेको बताए ।
अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डल अध्यक्ष रुप योन्जन, सदस्य बिलाम मुक्तान तथा निर्वाचन संयोजक चन्द्र ग्याबाकको नेतृत्वमा निर्वाचन प्रक्रिया सम्पन्न गरिएको थियो।
निर्वाचनबाट निम्न पदाधिकारीहरू सर्वसम्मत (निर्विरोध) रूपमा चयन भएका छन् । ओखलढुंगा जिल्लामा ९औँ अधिवेशनबाट अध्यक्षमा तार बल, उपाध्यक्ष महिलातर्फ ईमा तामक, उपाध्यक्ष पुरुषतर्फ यमराज ग्याबक,सचिवमा डम्बर सिं तामाङ, सहसचिवमा छिरिङ तामाङ र कोषाध्यक्षमा कृष्ण तामाङ निवार्चित भएका छन् ।
सदस्यहरूमा पदम बहादुर तामाङ, सुब्बा सिं तामाङ, हेम बहादुर भोम्जान, प्रेमकुमारी तामाङ, चित्र कुमार तामाङ, सीता तामाङ, प्रतिप तामाङ, मैया तामाङ, गोपाल बहादुर तामाङ, कल्पन तामाङ निवार्चित भएका छन् ।
अधिवेशनले तामाङ समुदायको पहिचान, अधिकार संरक्षण तथा समग्र विकासका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।