मुलुकको राजनीतिक इतिहासमा वर्ष २०८२ एउटा ‘ब्रेक थ्रु’ वर्षका रूपमा दर्ज भएको छ । दशकौंदेखि एउटै चक्रमा घुमिरहेको राजनीतिलाई भदौ २३ र २४ गतेको जेन-जी विद्रोहले नयाँ शिराबाट अघि बढाउने हस्तक्षेपकारी भूमिकामात्र निर्वाह गरेन, वर्षको अन्त्यतिर प्राप्त स्पष्ट जनादेशले मुलुकलाई अस्थिरताको सुरुङबाट बाहिर निकालेको छ । यो परिवर्तन केवल पात्रहरूको फेरबदलमात्र नभई नयाँ कार्यशैली र सोचको उदय पनि हो । अब भित्रिएको नयाँ वर्ष २०८३ लाई यो ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने र सुशासनको जग बसाल्ने ‘संकल्प वर्ष’ का रूपमा लिनु आवश्यक छ ।
विगतको वर्षले हामीलाई केही कठोर पाठ सिकाएको छ । भदौको त्यो विद्रोह र त्यसमा भएको मानवीय एवं भौतिक क्षतिले राज्य संयन्त्र जब जनभावनाभन्दा टाढा पुग्छ, तब परिणाम कति पीडादायी हुन्छ भन्ने पुष्टि ग¥यो । तर, सोही विद्रोहको जगमा भएको निर्वाचन र त्यसबाट प्राप्त झण्डै दुईतिहाइको स्पष्ट बहुमतले नेपाली जनता स्थिरता र समृद्धिका लागि कति भोका छन् भन्ने पनि देखाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका अगाडि अब जनआकांक्षाको पहाड छ । त्यसैले, २०८३ को पहिलो संकल्प ‘परिणाममुखी सुशासन’ हुनुपर्छ ।
चुनावी वाचापत्रबमोजिम सरकारले अघि सारेका १०० कार्यसूचीको कार्यान्वयन यस वर्षको मुख्य कसी हुने छ । विगतमा जस्तो कूटनीतिक मर्यादा उल्लंघन हुनेगरी राजदूतहरूसँगको एक्लाएक्लै भेटघाटलाई निरुत्साहित गर्दै सामूहिक र संस्थागत सम्बन्ध विस्तार गर्ने जुन सुरुहात भएको छ, त्यसले राष्ट्रिय स्वाभिमानको नयाँ मानक स्थापित गरेको छ । यो पद्धतिलाई राज्यका अन्य अंगमा पनि विस्तार गर्नु २०८३ को अर्को महŒवपूर्ण कार्यभार हो ।
राजनीतिकरूपमा हेर्दा, पुराना दलहरूभित्रको मन्थन र पुस्तान्तरणको बहसले लोकतन्त्रलाई नै परिपक्व बनाउने छ । नेपाली कांग्रेसमा देखिएको वैचारिक बदलाव र एमालेभित्र चर्किएको पुस्तान्तरणको बहसले अन्ततः विचारमा आधारित राजनीतिक प्रतिस्पर्धालाई बल पु¥याउने छ । नयाँ सरकारले जति छिटो डेलिभरी दिन सक्छ, पुराना दलहरूलाई त्यति नै चाँडो सच्चिने दबाब पुग्ने छ ।
२०८३ केवल क्यालेण्डर परिवर्तनको वर्ष हुनु हुँदैन । नयाँ जनादेशबाट बनेको शक्तिशाली सरकारले राज्य संयन्त्रको प्रणालीगत सुधार गरी नागरिकमा आशा जगाउने वर्ष बनाउनुपर्छ । जलवायु परिवर्तनका मुद्दामा ‘सगरमाथा संवाद’ मार्फत विश्वलाई दिएको सन्देश र आन्तरिक रूपमा सुरु भएको भ्रष्टाचार विरोधी अभियानलाई तार्किक निष्कर्षमा पु¥याउनु नै यो वर्षको वास्तविक संकल्प हुने छ । हिजोका गल्तीहरू नदोहो¥याउने प्रतिबद्धता र भोलिको समृद्धिको स्पष्ट खाकासहित अघि बढ्न सकेमात्र वर्ष २०८२ को जेन–जी विद्रोहले ल्याएको परिवर्तन सार्थक हुने छ ।
नयाँ वर्ष २०८३ को सबैमा शुभकामना !