काठमाडाैं - तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । बौद्ध टुसालमा नेपाल तामाङ युवा घेदुङद्वारा आयोजित तामाङ युवाहरूको सवाल तथा नीतिगत व्यवस्था सम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हाे ।
कार्यक्रमकाे अध्यक्षतामा घम्ब तामाङ (मिलन) ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ रहेका थिए । तामाङ समुदायको अधिकार, पहिचान र सशक्तिकरणका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त आवश्यक रहेको प्रमुख अतिथि रेशम गुरुङले बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले सहभागी थिए ।संघीय अध्यक्ष मोहन गोलेले तामाङ समुदाय आफ्नो शक्ति र पहिचानप्रति पर्याप्त सचेत नभएको कारण “बत्ती मुनिको अँध्यारो” जस्तो अवस्थामा रहेको बताउँदै, राजधानी आसपास बसोबास हुँदाहुँदै पनि राजनीतिक दबाब र विभाजनका कारण समुदाय पछाडि परेको बताएका छन् ।
घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोनले कार्यक्रमको उद्देश्यप्रति शुभकामना व्यक्त गर्दै लामो संगठनात्मक यात्राले आफूलाई जिम्मेवार बनाएको बताए। साथै, युवाहरूलाई समुदाय बुझेर नेतृत्वमा अगाडि बढ्न प्रेरित गर्न आह्यवान गरे ।
प्रशिक्षण सत्र उपमहासचिव हर्क तामाङले तामाङ युवाहरूका सवाल, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई समेट्दै समावेशी नीतिमार्फत समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको थिए ।
घेदुङका पूर्व अध्यक्ष बिलाम मुक्तानले २०५८ सालदेखि संगठनमा सक्रिय रहँदै प्राप्त अनुभवहरू बाँडेका थिए । उनले नेतृत्व हस्तान्तरणपछि पनि संगठनमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिँदै देशव्यापी रूपमा संगठन विस्तार गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । साथै, युवाहरूलाई संगठन निर्माणमा तीव्र रूपमा लाग्न आह्वान गरे ।
कार्यक्रममा स्वागत मन्तव्य युवा घेदुङका उपाध्यक्ष मनोज योन्जनले व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थी घेदुङ अध्यक्ष ईन्द्र तामाङ,बोनबो घेदुङ अध्यक्ष पदम जिम्बा,सफलता थिङ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम समापन गर्दै अध्यक्ष घम्ब तामाङ (मिलन) ले उक्त प्रशिक्षणले तामाङ युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा नीतिगत सचेतनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।