
काठमाडौं– कतार र युएईमा रहेका नेपालीको उद्धारका लागि तय भएको जुन १६ देखि १८ को उडान स्थगित भएको छ । सोमबार दुवै देशका दूताबासहरुले प्राविधिक कारण देखाउँदै यसअघि नै तय गरिएको उडान स्थगित भएको जानकारी गराएका हुन् ।
उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने दुबै दूताबासले जनाएका छन् । दुबै दूताबासले तय भएको उडान कहिले गरिन्छ भन्ने विषयमा मिति उल्लेख गरेका छैनन् । यससँगै कतार तथा युएईबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहावमार्फत यो साता नेपालीको उद्धार गर्ने तालिका स्थगित भएको छ ।
कतार स्थित नेपाली राजदूतावासको सूचनामा भनिएको छ, ‘दोहाबाट काठमाडांैका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’ उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने दूताबासले जनँएको छ ।
यसैगरी युएईस्थित नेपाली दूताबासको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्सबाट काठमाडौंको लागि १६ र १८ जुन मा तय गरिएको नेपाल एयरलाइन्सका चार्टर्ड उडानहरू प्राविधिक कारणवश स्थगन गरिएको छ ।’