
काठमाडौं– विदेशमा रहेका नेपाली दूताबासहरुले नेपालीको उद्धार गर्न उडान तालिका अचानक परिवर्तन गरेका छन् । पहिले नै तय भइसकेको उद्धारको उडान तालिका अचानक प्राविधिक गडबडीका कारण देखाउँदै खाडी मुलुकलगायत विभिन्न देशमा रहेका दूताबासहरुले उडान तालिका हेरफेर गरेका हुन् ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) विदेशमा समस्यामा परेका नेपालीको फिर्तीका लागि निर्धारण गरिएको उडान तालिका दूताबासले अघि पछि सारेको छ । खाडी मुलुक बहराइस्थित नेपाली दूताबासले नेपालीको स्वदेश फिर्तीका लागि हुने पहिलो उडान तालिका सारेको सूचना आइतबार जारी गरेको छ । ३ असारमा हुने भनिएको उडान कार्य प्राविधिक कारणले ७ असारमा मात्रै हुने दूताबासले जनाएको छ ।
‘नेपाली नागरिकहरुलाई नेपाल फर्काउनका लागि नेपाल सरकारले मनामाबाट काठमाडौंंका लागि पहिलो चरणमा ३ असार (१८ जुन) मा हुने भनिएको उडान प्राविधिक कारणले ७ असार (२१ जुन) मा हुने तय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि सरकारले बहराइनबाट नेपाल आउन तोकेको चार्टर्ड उडानको टिकट दर घटाएर ३ सय ९२ (लगभग ४७ हजार ४० अर्थात् १४८ दिनार) मा झारिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि बहराइनबाट नेपाल आउनका लागि ५ सय ४५ डलर (६५ हजार ४ सय) भनिएको थियो ।
उडान तालिका हेरफेरकै क्रममा साउदी र माल्दिभ्सबाट नेपालीको उद्धारका लागि तय भएको पहिलो उडान शनिबार नै रद्ध भएका छन् । १ असारमा हिमालय एयरले साउदीको दमामबाट नेपालीको उद्धार गर्ने भनिएको मिति अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको दूताबासले जनाएको छ । त्यहि दिन माल्दिभ्समा रहेका नेपालीको पनि उद्धार गर्ने बताए पनि त्यहाँ रहेको नेपाली दूताबासले पनि अर्काे सूचना जारी नभएसम्म उडान कार्य स्थगन गरेको छ ।
त्यस्तै, ओमानबाट नेपालीलाई फिर्तीका लागि तय गरिएको उडान तालिका भने तीन दिन अघि सारिएको छ । ओमानमा रहेको नेपाली दूताबासले यसअघि ७ असार (२१ जुन) मा हुने भनिएको उडान ४ असार (१८ जुन) जनाएको छ । दूताबासका अनुसार ४ असारमा ओमानबाट १ सय ८० जना नेपाली स्वदेश फर्र्कंंदै छन् ।
४ असारमा फर्कन लागेका १ सय ८० नेपालीको आइतबार कोभिड–१९ को जाँच गरिएको दूताबासले जनाएको छ । ओमानमा रहेका नेपालीहरुले फर्कनका लागि चार्टर्ड जहाजको भाडा महँगो भएको भन्दै दूताबासलाई शुल्क घटाउन माग गरेसँगै ३ सय ६८ डलर (४४ हजार १ सय ६०) मा झारिएको छ । यसअघि चार्टर्ड जहाजको भाडा ५ सय १० डलर (६१ हजार २ सय) तोकिएको थियो ।
यसरी उडान तालिका हेरफेर गरेसँगै नेपाल फर्कने प्राथमिकतामा परेकाहरुको कोभिड–१९ परीक्षण पनि सारिएको दूताबासहरुले जनाएका छन् । यद्यपि, उडान कार्य प्राविधिक कारण देखाइए पनि खास किन रद्ध गरिएको हो भन्ने विषय भने खुलाइएको छैन । विदेशमा रहेका नेपालीहरुको उद्धार कहिले हुन्छ भन्ने विषयमा दूताबासहरुले केही सूचना जारी गरेका छैनन् ।