
काठमाडौं– आर्थिक वर्ष ०७७÷७८ का लागि वैदेशिक रोजगारसम्बन्धि संस्थाहरुको नवीकरणका लागि वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ । यहि असार मसान्तभित्र संस्था नवीकरण गर्नुपर्ने र संस्था नवीकरणका लागि तोकिएको दस्तुर र चाहिने आवश्यक कागज पत्रहरुसहितको सूचना विभागले शनिबार जारी गरेको हो ।
इजाजत प्राप्त संस्थाको हकमा पछिल्लो दुई आर्थिक वर्ष (०७५÷७६ र ०७६÷७७) मा प्रत्येक वर्ष कम्तिमा १ सय जना कामदार रोजगारीमा पठाएको कामदार प्रमाणित कागज अनिवार्य रहेको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारमा कामदार पठाएको संख्या र अवस्था, विभागबाट प्राप्त इजाजतको प्रतिलिपि, कम्पनी अध्यावधिक भएको वा सो को प्रक्रिया सुरु गरिएको प्रमाणित हुने कागजातको प्रतिलिपि इजाजत प्राप्त संस्थाहरुले बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको हकमा कागजातहरुको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित गराई पेस गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । संस्थाको निवेदन, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको प्रगति, संस्थाको भौतिक वित्तीय र जनशक्ति सम्बन्धि विवरण, अघिल्लो आर्थिक वर्ष (०७५÷७६) को कर दाखिलाको प्रमाणपत्रलगायत प्रमाणपत्रहरु पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
सीपमूलक तालिम प्रदायक संस्थाको हकमा पनि नोटरी पब्लिकबाट नै प्रमाणित गराई संस्था नवीकरण गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । घरेलु कामदारलाई तालिम दिने संस्था र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाको हकमा संस्था स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने छ ।