
दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तीव्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ ।
उद्दार तथा राहत बितरण समितिले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको उद्धार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् ।
नेपाली दूताबास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण कार्य जारी रहेको संयोजक गुरुङले बताए । अहिलेसम्म १४औँ चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो भने दोस्रो र तेश्रो रेडक्रसमार्फत नेपाली दूताबासमार्फत राहत तथा उद्दार समितिले पाएको उनले बताए ।
चौँथो, पाँचौँ र छैटौँ चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट वितरण गरिएको थियो भने सातौँदेखि चौधौँसम्मको राहत कतार च्यारिटीबाट प्राप्त गरिएको थियो ।
राहत वितरण अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सेवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल प्राप्त भएको थियो ।
यस्तै, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिी सदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको थियो ।
अहिलेसम्म ३५ सय १४ जना कोरोना पीडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको संयोजक गुरुङले बताए । कोरोनाको कारणले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र इमेलमार्फत पनि सम्पर्क गर्न सकिने उनले बताए ।