काठमाडौं– आफ्नो मानसिक स्वास्थ्यको अनुभव र व्यवस्थापन गर्ने तरिकामा आप्रवासी कामदारहरूमा पुस्तागत भिन्नता रहेको ‘एएक्सएग्लोबल हेल्थ केयर’को हालसालै सार्वजनिक गरिएको मानसिक स्वास्थ्य प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनको पाँचौं संस्करणका अनुसार युवा पुस्ता कृत्रिम बौद्धिकता (एआई) र डिजिटल मानसिक स्वास्थ्य उपकरणहरूको प्रयोगलाई अघि बढाइरहेको देखिन्छ । धेरै जनाले अत्यधिक सामाजिक सञ्जालको प्रयोगले नकारात्मक प्रभाव पारेको रिपोर्टसमेत गरेको भनिएको छ ।
उक्त अध्ययनमा १६ वटा देशका १८ देखि ७५ वर्ष उमेरका एक हजार ४०० भन्दा बढी आप्रवासी सहभागी भएका थिए । उक्त सर्वेक्षणले उमेर, सांस्कृतिक परिवेश र डिजिटल पहुँचले विश्वभरि स्वास्थ्यमा कसरी नयाँ दृष्टिकोण तय गर्दै छ भनेर देखाएको छ ।
अध्ययनले १८ देखि २४ वर्ष उमेर समूहका ७४ प्रतिशत र २५ देखि ३४ वर्ष उमेरका ६७ प्रतिशत आप्रवासी कामदार मध्यमदेखि अत्यधिक गम्भीरस्तरको चिन्ता, तनाव वा डिप्रेसनको सिकार भएको निश्कर्ष निकालेको छ । गएको १२ महिनामा १८ देखि ३४ वर्ष उमेरका ६८ प्रतिशतले मध्यमदेखि गम्भीर स्तरको तनावअनुभव गरेको रिपोर्ट गरेको भनिएको छ । ५५ वर्षमाथिका ३३ प्रतिशत व्यक्तिले मात्र यस्तो अनुभव गरेको बताएको जनाइएको छ ।
कम उमेरका विदेशी कामदारले गम्भीर डिप्रेसन, तनाव वा चिन्ता रिपोर्ट गर्ने सम्भावना आफ्ना ५५ वर्ष माथिका समकक्षीहरूभन्दा दुई गुणा बढी भएको देखिएको छ । कम उमेरका ५१ प्रतिशत विदेशी कामदारले सामाजिक सञ्जाल र डिजिटल उपकरणलाई आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने प्रमुख कारक भएको बताएका थिए । ४७ प्रतिशत यस्ता युवा सञ्चारमाध्यममा लगातार आइरहने नकारात्मक समाचारसँग संघर्ष गरिरहेको पाइएको छ ।
त्यसैगरी ८३ प्रतिशत विदेशी श्रमिक आफ्नो काम गर्ने वातावरणका कारण नकारात्मक मानसिक स्वास्थ्य लक्षणहरू अनुभव गरिरहेको जनाइएको छ । यो तथ्यांक सन् २०२४ को भन्दा चार प्रतिशत बढी र गन्तव्य मुलुकका सहकर्मीभन्दा चार प्रतिशत नै बढी भएको उल्लेख गरिएको छ ।
श्रमिकहरु मानसिक समस्याविरुद्ध लड्न के कस्ता उपायहरु अपनाउने गरेका छन् भन्ने विषयमा पनि विभिन्न तथ्यांक सार्वजनिक गरिएको छ । ६६ प्रतिशत युवा आप्रवासीहरु मानसिक स्वास्थ्यका लागि ‘भर्चुअल’ चिकित्सकको प्रयोग गर्ने वा पहिले नै प्रयोग गरिरहेकोे जनाइएको छ ।
४० प्रतिशत युवा आप्रवासीहरूले मानसिक स्वास्थ्य जानकारीका लागि सामाजिक सञ्जाल प्रयोग गर्दा बढी उमेरका १४ प्रतिशत आप्रवासीले यस्तो प्रयोग गर्ने जनाइएको छ । ४१ प्रतिशत युवा प्रवासीहरूले सामान्य चिकित्सकजस्ता स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जाँदा बढी उमेरकाहरु ५७ प्रतिशत गएको पाइएको छ । यद्यपि, सन् २०२३ को तुलनामा युवा श्रमिकहरु मनोविद् या विशेषज्ञकोमा जाने सम्भावना ३३ प्रतिशतभन्दा बढी रहेको देखिएको छ ।
जलवायु प्रकोप, भूराजनीतिक संघर्ष, आर्थिक अस्थिरता, रोजगार असुरक्षाको अनुभव र प्रविधिको अत्यधिक दबाबका कारण १८ देखि ३४ वर्ष उमेरकाहरुको मानसिक स्वास्थ्यमा असर परिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी तथ्यांकहरुमा प्रतिक्रिया दिँदै एएक्सएका प्रमुख कार्यकारी अधिकृत जेभियर लेस्ट्रेडले युवा श्रमिकहरु आफ्नो समस्या स्पष्टसँग स्वीकार गर्ने गरेको र खुल्लमखुला सहयोग खोज्ने प्रवृत्ति उनीहरुमा रहेको बताएका छन् । जबकि, पुराना पुस्ताका आप्रवासी समस्याबारे कम बोल्ने र परम्परागत विधिमा भर पर्ने उनको भनाइ छ । यद्यपि, पुरानो पुस्ताको सहनशीलता र नयाँ पुस्ताको आफैं स्वास्थ्य व्यवस्थापनमा जुट्ने विशेषता दुवै पुस्ताले एकआपसबाट सिक्नुपर्ने बताउँछन् ।