काठमाडौँ- नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को ३०औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा हुने भएको छ । शुक्रबारबाट दुई दिनसम्म चल्ने नेपालसहित विश्वका १५ देशका ८ सयभन्दा बढी अङ्ग्रेजी शिक्षक तथा विज्ञहरूको सहभागिता रहने नेल्टाले जनायो ।
‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षण: मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले गर्नेछन् । नेल्टाका अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीका अनुसार सम्मेलनमा अमेरिका, बेलायत, चीन, भारत, जापान, अस्ट्रेलियालगायतका मुलुकबाट आएका विज्ञ र नेपालका शिक्षकहरूले शिक्षण पद्धतिबारे अनुभव आदानप्रदान गर्नेछन् ।
सम्मेलनमा ५ वटा ‘किनोट’ र ६ वटा ‘प्लेनरी’ सत्रसहित १३४ वटा समानान्तर सत्र (कन्करेन्ट सेसन), कार्यशाला र शैक्षिक बहसहरू सञ्चालन हुनेछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यसपटक सम्मेलनको अवधि छोट्याएर दुई दिनमा सीमित गरिएको छ । नेल्टाका द्वितीय उपाध्यक्ष डा. भीम गौतमले विषम परिस्थिति भए पनि संस्थाको ३० वर्षदेखिको अन्तर्राष्ट्रिय साख जोगाउन र निरन्तरता दिन कार्यक्रम नरोकिएको बताए ।
आयोजकले निर्वाचन आयोगको आचारसंहिता र स्थानीय प्रशासनको सुरक्षा मापदण्डभित्र रहेर शैक्षिक बहस मात्र गरिने स्पष्ट पारेको छ । नेल्टाका प्रथम उपाध्यक्ष जयराम खनालले असहज अवस्थामा पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र १५ भन्दा बढी राष्ट्रको सहभागिता हुनुलाई नेल्टाको निरन्तर उलब्धी मान्न सकिने बताए ।
सम्मेलनलाई अमेरिकन राजदूतावासको ‘रेलो’, ब्रिटिस काउन्सिल र विभिन्न शैक्षिक संस्थाहरूले सहयोग गरेका छन् । सन् १९९२ मा स्थापना भएको नेल्टा नेपालमा अङ्ग्रेजी भाषा शिक्षणको गुणस्तर उकास्ने उद्देश्य बोकेको गैर-राजनैतिक संस्था हो । हाल यसका सातै प्रदेश र ६५ जिल्लामा शाखा विस्तार भएका छन् भने ५ हजार ७ सयभन्दा बढी आजीवन सदस्यहरू आबद्ध छन् ।