काठमाडौं– हिन्दूहरूको दोस्रो ठूलो महान चाड यमपञ्चक अर्थात् तिहार पर्व शुक्रबारदेखि औपचारिकरूपमा सुरु भएको छ। उज्यालोको पर्व, यमराजको उपासना गर्ने र दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र स्नेह झल्काउने यो पर्वले देशभरि नै उल्लास र उमंग ल्याएको छ।
यमपञ्चक कात्तिक शुक्रबारदेखि नै सुरु भएको छ। शुक्रबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइएको छ। आज काग तिहार मनाइँदै छ। शास्त्रीय मान्यताअनुसार आजका दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ र मीठा खानेकुरा खान दिने प्रचलन छ। कागको पूजा गरेर सुरु हुने यस पर्वले पाँच दिनसम्म विभिन्न रूपमा निरन्तरता पाउने छ। धन्वन्तरी जयन्ती पनि आजकै दिन परेको छ।
भोलि कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। दिउँसो कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्वसम्बन्धी निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्ने छ। लक्ष्मीपूजा पनि यसै दिन गरिन्छ।
गाई, गोरु पूजाका साथै नेवार समुदायको आत्म (म्हः) पूजा कात्तिक २४ गते मंगलबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्हः) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ।
आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन वटा पात्रो (पञ्चांग) नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन्। सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक २४ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो) मा उल्लेख गरेका छन्। नेपाल संवत्को नयाँ वर्ष ११४७ पनि यसै दिन सुरु हुन्छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन रहेको छ।
भाइपूजा अर्थात् भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक २५ गते बुधबार परेको छ। शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ। यसैले कात्तिक २५ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ।
शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. पुरुषोत्तम भट्टराईको भनाइ छ। भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। भाइटीका भव्य रूपमा मनाइन्छ, जसमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् र उपहार साटासाट गर्छन्।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ। यस पर्वमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ। यमदीपदान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।
तिहारको आगमनसँगै बजारहरूमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ। फूल, झिलीमिली बत्ती, भाइमसला र विभिन्न उपहार सामग्री पसलहरूमा खरिदबिक्री तीव्र बनेको छ। काग तिहारदेखि भाइटीकासम्मको यो अवधिमा गाउँदेखि सहरसम्म देउसी–भलो खेल्दै सांस्कृतिक र सामाजिक सद्भाव साटासाट गर्ने गरिन्छ।
यो पर्वले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपाली समाजमा आपसी मेलमिलाप, सहकार्य र भाइचाराको सन्देश फैलाउने विश्वास गरिएको छ। तिहारको उज्यालोले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामनासहित देशभर हर्षोल्लास छाएको छ।