नेपाल प्रशस्त प्राकृतिक साधन, स्रोत भएर पनि विकासमा निकै पछाडि परेको छ । यहाँको वनजंगल, जडीबुटी, हिमशृंखला, जलसम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनस्र्थापना भएको पनि झण्डै चार दशक पुग्न लाग्दा पनि राज्यको स्पष्ट नीति नियम नबन्नु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ संकल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । कतिपय राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र छन् । निर्माण सम्पन्न भएका भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल, आधुनिक बधशालालगायतका संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् ।
नेपाल विकासका लागि प्रचुर सम्भावना र आधार भएको मुलुक हो । यहाँको प्राकृतिक सौन्दर्य, वनजंगल, हिमशृंखला, नदीनाला भौगोलिक विविधताले अन्य मुलुकलाई लोभ्याइरहेको छ । यद्यपि, हाम्रा नेतृत्व वर्गले यसको महत्व बुझेर अगाडि बढ्न सकेको देखिँदैन ।
बहुदल, गणतन्त्र, लोकतन्त्र आएपछि मात्र विकास सम्भव देखेका हाम्रा दलीय नेतृत्व वर्ग आन्दोलनमा पटक-पटक सफल देखिए तर विकासमा असफल सावित भएका छन् । हरेक आन्दोलनमा एकताबद्ध भएर अगाडि बढेरै विजयी हासिल गरे । तर गणतन्त्र स्थापना भइसकेपछि संविधान कार्यान्वयन र विकास निर्माणका लागि एक जुट भएको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन् । दुईतिहाइको सरकार पनि हरेक सवालमा कमजोर सावित हुँदै गएको हामीलाई जगजाहेर नै छ । जसका कारण विकास निर्माणमा साँच्चै पछि परेको अनुभव नेपाली जनताले गरेका छन् ।
हरेक पार्टीभित्र आर्थिक लोभ लालच, चरम गुटबन्दी, शक्तिको चलखेल, पदको दुरुपयोग र भागबण्डातिरै उन्मुख भएको पाइन्छ । नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न सकेको देखिँदैन । राज्य चलाउनेहरुको स्पष्ट योजना, दूर दृष्टि, दृढ इच्छाशक्तिको कमीले दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । यसैगरी निरन्तर नेपाली युवा विदेश पलायन भइरहने हो भने भोलि यसले ठूलो समस्या ल्याउन सक्छ । यसप्रति हाम्रा योजनाविद् र सरकार चलाउनेहरुको पटक्कै ध्यान जान सकेको छैन ।
पर्यटनको प्रचुर सम्भावना छ । उत्पादित वस्तुहरुका लागि राम्रो बजारको सम्भावना भएका विशाल छिमेकी मुलुकहरु चीन र भारत रहेका छन् । तर नेपालीले आफ्नो देशमा केही अवसर नपाएर विदेशी मुलुकमा नोकर बन्न पुगेर तिनै मुलुकलाई अगाडि बढाउने काम गरिरहेका छन् । साँच्चै नेपालको विकास गर्ने हो भने विकास निर्माण र रोजगारका लागि स्पष्ट नीति निर्माण गरेर युवा शक्तिलाई विदेसिनबाट रोक्नुपर्दछ । हामीले लुम्बिनीको माटोलाई प्रयोग गरेर एउटा कोसेली (उपहार) मात्र बनाएर बिक्री गर्नेतिर हिम्मत गर्ने हो भने पनि प्रशस्त आम्दानी गर्न सकिन्छ । तर विडम्बना विदेशी बौद्धमार्गीहरुले लुम्बिनीको महत्व बुझे पनि हामी नेपालीले नै विश्वप्रख्यात लुम्बिनीको महत्व बुझ्न सकेका छैनौं । एउटा लुम्बिनी विकास कोष राजनीतिक सिकार बनिरहँदा लुम्बिनी नै विकासमा पछि परेको छ । हामी भाषणमा विकास, एकता र समृद्धिका ठूला कुरा गर्दछौं तर व्यवहारमा पटक्कै कार्यान्वयन गर्दैनौं ।
यतिखेर नेपाली सबैमा एउटै चिन्ता छ, मुलुकले सही नेतृत्व पाएन । जसका कारण कहीँ कतै सुशासन र राम्रो छ भनेर गर्व गर्ने ठाउँ देखिएन । जबसम्म अति राजनीतिकरणको स्वार्थ त्यागेर हामीले नेपालमै केही गर्नुपर्दछ भन्ने भावनामा गोलबन्द हुँदैनौ तबसम्म मुलुकको विकास हुन सक्दैन । अहिलेको जस्तो संसद् फगत मन्त्री, प्रधानमन्त्री, उत्पादन गर्ने थलो बनिरहन्छ । जनतामा वितृष्णा जागिरहन्छ । यथार्थमा जनतालाई सरकार बन्नु र ढल्नुको कुनै अनुभूति हुन सकेको छैन । नजिकिएको आमनिर्वाचनले पनि मुलुकको ठोस गति दिन सक्दैन । देश विकास र परिवर्तनका लागि संविधान संशोधन गरेर अगाडि बढ्न जरुरी छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको संख्या घटाउन आवश्यक छ । हाम्रोजस्तो सानो, अर्थतन्त्र जर्जर भएको मुलुकमा सात प्रदेश आवश्यक छैन । हुन त प्रदेशले औचित्य पुष्टि गर्न पनि नसकेको हामीलाई अनुभव भइसकेको छ तर नेतृत्व वर्गले यसबारे बहस नै गर्न सकेका छैनन् ।
नेपालको विकास भाषणमा त धेरै भयो तर हाम्रा नेता जिम्मेवार भएर त्याग देखाउन सकिरहेका देखिँदैन । कुरा सिंगापुर, मलेसिया स्विटजरल्याण्डमा भएको विकासको सपना बाँडेको देखिन्छ । यथार्थमा जनताले अनुभूति गर्ने युवापिढीले खोजेको विश्वपरिवेशको विकासको छनक देखिँदैन । यहाँ त ठेक्कापट्टादेखि हरेक काममा दलीय भागबण्डा र पदको दुरुपयोग गरी आफन्त र आसेपासेलाई मात्र फाइदा हुनेगरी काम गरेकोले चरम भ्रष्टाचार र बेथिति बढेको छ । सुशासन पटक्कै छैन । जसका कारण नै जेन-जी आन्दोलन हुन पुगेको धेरैले महसुस गरेका छन् । कतिपय नेता मन्त्री, सांसद, एनजिओ/आइएनजिओको खेतीपातीमा पनि रमिरहेका छन् । जसका कारण न त प्राप्त उपलब्धि संस्थागत हुन सकेको छ न त संविधान कार्यान्वयन नै ।
सपना सिंगापुरको !
नेपाल प्रशस्त प्राकृतिक साधन, स्रोत भएर पनि विकासमा निकै पछाडि परेको छ । यहाँको वनजंगल, जडीबुटी, हिमशृंखला, जलसम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनस्र्थापना भएको पनि झण्डै चार दशक पुग्न लाग्दा पनि राज्यको स्पष्ट नीति नियम नबन्नु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ संकल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । विकास निर्माणका कार्य लामो समयदेखि राजधानी काठमाडौंदेखि सातै प्रदेशका ठाउँ-ठाउँमा अलपत्र र अस्तव्यस्त छ । कतिपय राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र छन् । निर्माण सम्पन्न भएका भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल, आधुनिक बधशालालगायतका संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् ।
तर पनि हाम्रा नेताहरुले बेलाबेलामा नेपाललाई सिंगापुर बनाउने भाषण गरिहन्छन् । केही वर्ष अगाडि एसियाका राष्ट्रहरुको मलेसियाको क्वालालम्पुरमा भएको किवानिज अस्पा ४३औं सम्मेलनमा सहभागी हुने क्रममा मलाई मलेसिया र सिंगापुर घुम्ने अवसर प्राप्त भएको थियो । त्यहाँको विकास निर्माण र सभ्यता देख्दा त्यो उजाड भूमिमा त्यस्तो विकास कसरी सम्भव भएको होला भनेर अचम्म नै लाग्यो । प्रायः त्यहाँ पुग्ने पर्यटकहरुले पनि यस्तै अनुभूति गरेको भान हुन्थ्यो । त्यहाँको सडक सञ्जाल, स्वच्छ वातावरण पर्यटकलाई आकर्षण गर्नका लागि बनाइएका संरचना, अनुशासन र नागरिकहरुको बानी व्यहोरा साँच्चै अनुकरणीय र उदाहरणीय नै छ । अहिले त समयको क्रमसँगै विकासले अझै गति लिएको छ । कसैले होटलमा बस्दा नियम उल्लंघन गर्छ कि भनेर होटलको रुमको रकमभन्दा केही अतिरिक्त रकम धरौटी राख्नुपरेको सिंगापुर बस्दाको अनुभव मलाई छ ।
जुन ठाउँ वास्तवमै नियम, कानुन र सिस्टममा हिँडेका कारणले विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेण्डा भन्ने भनाइ त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका लागि कहिल्यै झगडा हुँदैन । व्यक्तिगत स्वार्थ, सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरु धेरै टाढा भएको अनुभव गर्न सकिन्छ ।
खासै अन्न, फलफूल उत्पादन नहुने सिंगापुरमा हरेक कुरा बाहिरबाट आयात हुने गर्छ । लगानीका लागि खुलारुपमा विदेशी मुलुकका उद्योगी व्यवसायीलाई अवसर दिनुले नै गएको ३०/४० वर्षयता त्यहाँको विकासमा कायालपलट भएको हो । त्यहाँ निर्माण भएका सिंगापुर मेरिलायन पार्क, मेरिना स्क्वायर महल, सन्तोषा, सिंगापुर फ्लायर, नाइट सफारी गार्डेन, युनिभर्सल स्टुडियो, सामुद्रिक यात्रा जस्तो व्यवस्था साँच्चै पर्यटकका लागि आकर्षणका कुराहरु हुन् ।
मलेसियाको राजधानी क्लालाम्पुरको पहाडी क्षेत्रमा रहेको जेन्टिन हाइल्याण्डमा रहेका संरचना हेर्नका लागिमात्र दैनिक ५०औं हजार पर्यटक पुग्ने गर्दछन् । त्यस्तै विश्वकै ठूलो विष्णु भगवान्को मूर्ति ( बटु केभ) पुत्राजया, ९०० मिटरसम्म उचाई रहेको केएलएलसिसी टावर, केएल टावर, विभिन्न पार्कहरु, सडक संरचना, सपिङ मल साँच्चै अचम्म लाग्दोगरी बनाइएको छ ।
दक्षिण पूर्वी एसियाको सानो देश सिंगापुरमा शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारमा राम्रो विकास भएको छ । त्यहाँ नियम, कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति पनि छैन भन्छन् त्यहाँका जनता । त्यहाँका आकर्षक संरचनाहरु सामुद्रिक जलयात्रा, टावर, अण्डरग्राउण्ड मार्केट, सपिङ कम्प्लेक्स, ट्रेन यातायातले पनि पर्यटकहरुलाई निकै आकर्षित गरेका पाइन्छन् । मलेसिया र सिंगापुर घुमेर हेर्दा नेपालमा यस्तो विकास सहजै पुरानै कार्यशैलीले कल्पना गर्न सकिन्न ।
पहिले उजाड मरुभूमि भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भूमि सिंगापुर साँच्चै शून्यबाट सुरु भई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्दर्भमा हेर्दा हामीसँग सिंगापुरको जस्तै विकास गर्न अपार सम्भावनाहरु छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, झरना, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जातजाति आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्वसँग इच्छाशक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नराम्रा पक्ष हुन् । नेताले देखेको सिंगापुररुपी नेपाल साँच्चै असम्भव भने होइन तर नेताहरुको कार्यशैली र आफूलाई मात्र फाइदा हुने काममा झुकाव देख्दा हामीलाई उनीहरुका भाषण मजाकजस्तो लाग्नु स्वाभाविक नै हो ।
देश संघीयतामा गएसँगै हरेक स्थानीय, प्रदेश र संघीय सरकार आफ्नो क्षेत्र अनुकूलका नीति नियम बनाउन अधिकार प्राप्त गरे पनि लामो समय त्यसै खेर फालेका छन् । सानो कामका लागि पनि संघीय सरकारमै धाउनुपर्ने अवस्था विद्यमान छ । यहाँका प्रशासक, राजनीतिक दलका नेता, सरकार चलाउनेहरुमा वास्तविक त्याग र प्रतिबद्धता देखिएन । त्यसैले नेताहरुले मुलुकलाई सिंगापुर, स्विटजरल्याण्ड बनाउने भाषण विगतका निर्वाचनमा गर्दै आए पनि कम्तीमा यो निर्वाचनमा त्यस्ता भाषण नगर्नु नै उत्तम हुने छ ।