हातमा राष्ट्रिय झण्डा अनि एक प्याकेट चाउचाउको परिया बोकेर सुरक्षाकर्मीतर्फ हेर्दै दौडिरहेको बालक अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय बनेको छ । वालेन्द्र सरकारले सुकुमबासी बस्ती हटाएसँगै बस्तीबाट विस्थापित भएको बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, जुन भिडियो हेरेपछि बस्ती छाडे पनि राष्ट्रियता अझै छ भन्ने अभिव्यक्तिहरु आइरहेका छन् ।
गुलेलीको मट्यांग्रो कहिलेकाहीँ रबर तान्दा आफैंतर्फ फर्कियो भने निधारै फुटाउला भनेजस्तो भो हुन्छ । यही वैशाख १२ गतेदेखि सुकुमबासी हटाउने उर्दी जारी भयो । त्यो पनि अदृश्य शक्तिजस्तै गरी । जिल्ला प्रशासन कार्यालयबाट सूचना आयो । बस्ती खाली गर्नु भन्दै । अनि महानगरको प्रहरीले माइक बजाउँदै हिँड्यो- भोलि बिहान यति बजेसम्ममा ठाउँ खाली गर्नु भनेर । अनि सरकारका प्रवक्ताले क्यामरा अगाडि बोले, ‘सुकुमबासी हटाउने मन्त्रिपरिषद्बाट निर्णय नै भएको छैन ।’
मोबाइलको पर्दामा सरकारका प्रवक्ताले सुकुमबासी हटाउने मन्त्रिपरिषद्मा निर्णय भएको छैन भन्दै गर्दा रातको समयमा सुकुमबासी बस्तीमा पुलिस छिरेर ठाउँ खाली गर भन्नुचाहिँ खासमा हुकुमबासी सार्न खोजिएको रहेछ ! बागमतीमा बसुन् कि रुद्रमतीमा बसुन् वा विष्णुमतीमा बसुन् । खाडीपाखामा बसुन् कि रामहिटी डाँडामा बसुन् । सरकारी जग्गा हडपेर बसेका हुन् यिनलाई धपेट्नैपर्छ । मन्त्रिपरिषद्ले किन निर्णय गर्नुपर्यो ? नगरपालिकाले नै निर्णय गरे भैगो नि ! सुकुमबासी कसले हटाउने भन्या छ र ? हुकुमबासी पो हटाउने भनेको ! सुन्नुभएन ? कि तपाईंका कान पनि चिरा परेका छन् ?
कुरा त ‘एक कान, दुई कान, मैदान’ हुने भैगो । त्यसमाथि पनि अहिलेका नारदमुनि (युट्युबर/कण्टेण्ट क्रियटर) हरु लट्ठीमा मोबाइल तेर्सायो अनि करायो । ‘अनि भन्नुस्, तपाईंलाई कस्तो लागिरहेको छ ?’ त्यसका बाजे घर भत्किएको छ, डोजरले कोतरेको कोतर्यै छ ? कस्तो लाग्यो भन्नु ? देखाउनुपर्ने कुरा देखाउनु नि !
सुकुमबासीका नाममा हुकुमबासीहरुको कटेरोमा त गँगटोका पखेटाले त चिथोर्नपर्यो नि ! तर ती कटेरोमा के थियो भन्ने कुरा पनि हेर्न पथ्र्यो होला नि ! सुकुमबासी हो कि हुकुमबासी ! सरकार जासुसहरुलाई किन थाहा नभाको हो र ? हिजोसम्म तैँ चुप र मै चुप गरेर बसेका त हुन् नि ? गँगटोले च्यापेर भए पनि हुकुमबासीलाई त निकाल्ने नै हो । तर सुकुमबासीलाई घरबार बसाल्ने नै हो । तेरीमा टोक्ने यो त सरकारले भनेको हो नि !
एमाले-कांग्रेस-माउवादी कुन-कुन वादी कुन दुलामा पसे पसे ! हुकुमबासीको हुक्कामा बसे कि सुकुमबासी भन्नेको महलमा बसे पत्तै भएन । तर चुपचाप... दलहरु पत्तासाफ ! आफूलाई पर्दा डाँको छाड्नेहरु अरुलाई पर्दा ताली ठोक्दा रै’छन् भन्ने कुरा त तिनै नारदमुनि (युट्युबर/कण्टेण्ट क्रियटर) हरु भिडियोमा मट्यांग्राले हेरेकै हो नि ।
कोही बोलेनन् । गँगटोले कोपरेको कोपर्यै छ । भएकालाई त ठिकै छ, हुँदै नभएकाहरुको पो बिजोक छ । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ त्यसै भनेको पनि होइन । सहरको बीचाँ बसेर सरकारी जग्गा कब्जा गर्नेको उठीबास हुँदा किन कोकोहोलो मच्चाउनुपर्यो ? अब सबै सुकुमबासी ! उहाँ सांसद बन्नुभाकाहरु पनि त्यस्तै सरकारी जग्गा नै कब्जा गरेर बस्या रै’छन् । बाको पालामा बस्या रे ! अनि त्यो फुच्चे केटो पनि त हजुरबाकै पालामा बसेको हो त ।
त्यसो भए कसले न्याय पाउने कुन्नि ? सुकुमबासीले पाउने हो कि हुकुमबासीले ? जन्मँदै ऋणको भारी त त्यही चाउचाउको पोको बोक्ने केटाकै थाप्लोमा छ । दुबई, कतार, मलेसिया पुग्ने श्रमिकहरुकै थाप्लोमा छ । ऋणको भारी गह्रुँगो छ । छाप्रो बनाएको ऋण पनि तिर्नु छ । कसले कसरी भाडामा लगाएर खायो भन्ने पनि थाहा नै छ । र पनि त्यही केटोको थाप्लोमा ऋण थप्दै सिंहदरबारले फेरि ऋण लियो ।
सत्ताको साँचो त्यही छ । गरिबको थाप्लोमा ऋणको भारी बोकाउने ठाउँ पनि त्यही छ । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै विश्वास बटुल्ने पनि त्यही छ । अनि फेरि दोहोरो चरित्र निभाउने पनि त्यही छ । आखिर ऋणको भारी बोक्ने केटोकै बाउको छाप्रामा गँगटोले कोपरेको छ ! त्यही कटेरोमा जन्मिएको केटोको थाप्लामा ऋण बोकाउनेले छाप्राभित्र रहेको किताब कापी बोकाएनन् ।
खुल्दुली त सबैलाई लाग्यो होला । पहिले बासको व्यवस्था गरिदिएको भए पनि हुन्थ्यो । अर्कोले भन्छ- किन गर्नुपर्यो ? हामीलाई सोधेर बसेको हो र ? ‘ज्ञ’बाट क्रान्ति सुरु गर्नेको कुरा नै बेग्लै ! ज्ञानबाट आर्जित क्रान्ति पो सफल हुन्छ । ‘क’ को कमेरो भित्ता पोतेर कहाँबाट शान्ति आउला र ? गरिबी निवारणका लागि त पहिले गरिब सकाउनुपर्यो । गरिब सकिए पो गरिबी सकिन्छ ! नागराजले डसेपछि पो विष लाग्छ । अब गँगटोले चिथोर्दा के नै पो जान्छ र ?
भाग्यमा लेखेको कुरा पो पाइन्छ । देखेको पाइन्छ र ? फेरि अर्को नारदमुनिले भन्छ । अब त मानवअधिकार होइन दानवअधिकारको पो कुरा उठाउनुपर्छ ! नीलो कोटेले भन्यो । अन्नदाताले जे भन्छ त्यही गर्ने हो । ऋण लि भने लिने हो । दिन्न भने हस् भन्ने हो । शासकहरुको त के जान्छ र सधैं फाइदा नै फाइदा ।
घाटा त उही मुग्लान छिर्न हिँड्दाहिँड्दै जिन्दावाद र मुर्दावाद भन्ने ऋणको भारी बोक्नेका लागिमात्र हो । हिजो पनि त्यही थियो, आज पनि त्यही नै छ । कसैले राता मान्छे भनेर ऋण बोकाए । कसैले नीला मान्छे भन्दै भारी बोकाए ।
सत्य तीतो नै हुन्छ नि ? गोली खाएर ढलेको केटो सत्तामा पुग्दैन, पुग्ने त उसले भगवान् मानेर कोठाभित्र बस्ने नै हो ।
मान्छे झुण्ड्याएर मारिएपछि उसले परिवर्तन देख्दैन । देख्ने त मार्न लगाउनेले नै हो । चाहे बस्ती छाड, चाहे गाउँ, सहर वा देशै छाड । झण्डा बोकेर बस्ती छाड्ने हजारौं केटो त ऋणको भारी उठाउन पो हो त ! आऊ युवा केटाहरु हो । सरकारले ऋण लिँदै गर्छ हामी त्यही ऋणको भारी उठाउँदै गरौं जबसम्म ब्रह्मनालसम्म पुग्दैनौं !