२०६१ साल माघ महिनाको पारिलो घाम लागिरहेको थियो । बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने दलहरु सत्ताका लागि तँछाडमछाड गरिरहेको थिए । अल्पमत र बहुमतको लडाइँले देशले हारिरहेको थियो । त्यही दिन देशका सबैले मानेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै देशको शासन सत्ता आफ्नै हातमा लिए । अर्थात् राजाले सत्ता त लिए तर उनी प्रधानमन्त्रीका रुपमा पनि झरे !
तात्कालीन राजालाई क–कसले उचाले उनैले जानून् । हिन्दूशास्त्रमा राजालाई विष्णु भगवान्को अवतारका रुपमा लिने गरिन्छ । तर उनै विष्णुलाई आसेपासे बैगुनीहरुले खै के बनाइदिए ! माघ १९ गतेको कठोर कदमले एउटा तप्का स्वागत गर्न नै व्यस्त देखियो भने अर्को तप्का नागरिकको अधिकार खोजिएको भन्दै सडक आन्दोलनमा होमिए ।
प्रजातन्त्र, अनि मानवअधिकार प्राप्तिका लागि अडिग रहेको सञ्चारमाध्यमहरुमा समाचारमाथि प्रतिबन्ध लगाइयो । रेडियोहरुमा समाचार प्रसारण गर्न नपाइने भयो । छापा माध्यमहरुमाथि पनि निकै नै निगरानी भइरह्यो । सहरमा ‘कू’ ले घे¥यो । अनि गाउँमा बन्दुक बोकेका समाजवाद र माओवादको नारा बोकेकाहरुले तर्साए । जनता ‘साँढेको जुधाइ, बाछाको मिचाइ’मा परे ।
शक्तिशाली दरबार । मन्त्रिपरिषद्को अध्यक्ष अर्थात् प्रधानमन्त्री राजाले सम्हाले । राजालाई प्रधानमन्त्री बन्न सल्लाह दिने सल्लाहकारहरु कति विद्धान थिए भनिरहनु नपर्ला ? राजनीति पेसागत संगठनबाहेक धेरैले राजालाई प्रधानमन्त्री बन्दै पूर्वप्रधानमन्त्रीलगायतलाई नजरबन्दमा राखिएको विषयमा लाखौं खर्चिएर बधाइ दिन थाले । त्यसबेलाको दैनिक पत्रिका हेरे घामजत्तिकै छर्लंग हुन्छ । केही ठूला व्यापारिक घरानाहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि जयजयकार मनाउन थाले ।
प्रशंसा भन्ने चिज निकै नै लोभलाग्दो हुँदो रहेछ । त्यही भएर राजालाई जिल्ला–जिल्ला घुमाउने र जयजयकार गराउने अभियान नै चल्यो । राजा पनि के कम ? जनताको माझमा जान पाउँदा र जयजयकार हुँदा आनन्द नै आउँछ नि ! हो, त्यही जयजयकारमा रमाउँदा नागरिकका पीडामा मल्हम लगाउनेभन्दा पनि आसेपासेका कारण ‘हुन्छ, हस म बुझौंला’, ‘ठीक छ, बुझें’ भन्नेबाहेक केही पनि हुन सकेन । जसले जनताको विश्वास टुट्दै गयो । राजाका वरपर उनै स्वार्थमा लीप्त फिरंगीहरु ताण्डव गरिनै रहे । बहुदलीय व्यवस्थालाई निर्दलीय बनाउन खोजेर कहाँ पो हुन्थ्यो र ?
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट करिब दुईतिहाइ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा आइतबार त्यस्तै दृश्य देखियो । पार्टी सभापति रवि लामिछानेलाई पीडा सुनाउने केही नागरिकहरु अघिपछि गर्दै थिए । अनि सभापतिको सुरक्षाका लागि भन्दै केही कार्यकर्ताहरु उत्तिकै नजिकिएका पनि थिए । हिजो टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा अन्यायमा परेकाहरुलाई न्याय दिन्छु भन्दै हिँडेका, अनि डोजर चलाउने कार्यको चर्को विरोध गर्ने उनै रविलाई नागरिकहरुले आफ्नो गुनासा सुनाउँदै गरेका दृश्य निकै फरक किसिमको थियो ।
अनि उसबेला राजा ज्ञानेन्द्रलाई जनताको माझमा हुन्छ, बुझौंला, हेरौंला भनेजस्तै गरी कार्यकर्ताहरुको भीडबाट रविले भने, ‘ठीक छ, म हेर्छु !’ लगनपछिको पोते के काम ? भन्ने उखान सायद हरेक नेपालीको कानमा गुञ्जिएको होला । सायद रविको ‘ठीक छ, म हेर्छु’ले ‘नवराजा’को झझल्को दियो भन्नेहरु धेरै भेटिए । उनै रवि जसले जनताको घरमा डोजर चल्यो भने मेरो छातीमा चढाउँछु भन्थे तर उनकै पार्टी दुईतिहाइ बराबरको मत पाएर सत्ता सम्हालिरहँदा कलिला बालबालिकाहरु रुँदै बाबु गुहारिरहेको कारुणिक दृश्यले पनि त केही भन्ला कि ?
जनताको प्रतिनिधि राजा बन्न खोज्दा परिणाम के आउँछ भनेर भुक्तभोगीहरुलाई भन्नुपर्ला र ? भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने नारामा उनी भ्रष्टमति भएकाहरुसँग मित लगाउने हो भने त्यसको अर्थ पो के नै रह्यो र ? मुलुक रामराज्य होला भन्ने सोच राखेका जनतालाई लंका बनाउने प्रयास पनि हुँदै छ अरे ! त्यो पनि त ‘हुन्छ, हेरौंला’ भनेर बस्ने हो ? जनताको आशा र भरोसामाथि ‘हुन्छ, हेरौंला’ एकातिर अनि मौन व्रत बस्ने अर्कोतिर भयो भने त्यसले कस्तो पाठ पढाउला ?
हुन त सत्ता चलाउनेहरुले विद्धान–विद्धान सल्लाहकार नै राखेका हुन्छन् । तर कस्तो विद्धान राखेका हुन्छन् भन्ने कुरा त विगतमा केपी ओलीको सचिवालयमा बस्नेहरुले गरेका कर्तुतले प्रस्ट पारिसकेको छ । त्यसैले हुन्छ वा हेरौंला वा बुझौंलाले जनताको विश्वास अड्किँदैन । राजा नवबास्सा हुन खोज्दा, अनि हत्केलामा भएको वस्तुलाई नसम्हाली भुइँको टिप्न खोज्दाको परिणाम भन्नै पर्दैन । अब फेरि नयाँ राजा बास्साहरु बन्न खोजे भने !
सरकार नागरिकको अभिभावक हो । तर सरकारमा बस्ने र सरकारसँग रहेका दलका प्रतिनिधिहरुले आफूलाई राजा बनाउने जुन प्रयत्न गरिरहेका छन् । त्यसले क–कसलाई अचानोमा राख्दै छ भन्ने कुरा उनीहरु आफैंले बुझून् । रास्वपाका अध्यक्ष रविले जनताको कुरालाई सम्बोधन त गर्न सक्दैनन् तर आफ्नो पार्टीका व्यक्ति जसले सरकार हाँकिरहेको छ उसलाई नागरिकका समस्या सम्बोधन गर्नका लागि आग्रह गर्न सक्छन् । तर आग्रह पो कसरी गर्नु ? विचरा ! आफैं निरीह छन् । त्यसै पनि होला विश्वास लिएर आएका उनका समर्थकहरुलाई उनले जवाफ दिन नसकेरै पनि हेरौंला अनि बुझौंला भनेका होलान् !
आशा गरौं, जनताले दुईतिहाइ नजिक पु¥याएको रास्वपाका हरेक जनप्रतिनिधिहरुले चुनाउमा जाँदा जे बोलेका थिए त्यही गरुन् । प्रधानमन्त्री वालेन्द्र शाह र सभापति लामिछानेको नाम भजाएर नवराजा बन्ने प्रयत्न नगरुन् । हुन्छ, हेरौंला र बुझौंलाले जनताको न पेट भरिन्छ न आङ छोपिन्छ । दोष अरूलाई थोपरेजस्तो निश्कलंक हुन कहाँ सजिलो छ र ? सबैको जय होस् ! ठीकै छ, हामी पनि हेरौंला !