गाउँको चौतारो देशको सबैभन्दा ठूलो संसद् हो भन्ने कुरा राजधानीका नेताहरूले कहिल्यै बुझेनन् । काठमाडौंको सिंहदरबारमा बसेर जे बोले पनि अन्तिम फैसला गाउँको चिया पसल, चौतारो र पँधेरोमै हुने गर्छ । संसद्मा कुर्सी उछिट्टिएपछि त्यसको धूलो गाउँसम्म आइपुग्छ र नेताले हतारमा बोलेको एउटा वाक्यले चौतारोमा दुई जना साथीलाई कट्टर शत्रु बनाइदिन्छ । यसपटक पनि त्यस्तै भयो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिले तरंग ल्यायो । सीमाविद्हरूले टाउको कन्याए, राजनीतिक दलहरूले प्रेस विज्ञप्ति निकाले, सामाजिक सञ्जालमा राष्ट्रवादको ज्वारभाटा आयो । तर सबैभन्दा ठूलो बहस भने हाम्रो गाउँको चिया पसलमा भयो, जहाँ बैरी र मट्यांग्रो बिहानैदेखि भिडिरहेका थिए । चिया पसलका साहु कान्छाले तीनपटक चिया तताइउँदा पनि बहस चिसिएको थिएन । ‘बालेनले सत्य बोले,’ मट्यांग्रोले टेबुलमा मुक्का हान्दै भन्यो । ‘त्यो सत्य होइन, राष्ट्रघाती कुरा हो,’ बैरीले पनि उस्तै स्वरमा जवाफ दियो ।
‘सत्य बोल्नेलाई राष्ट्रघाती भन्ने हो भने अब देशमा झूट बोल्नेहरूमात्रै राष्ट्रवादी भए त ?’‘देशको माया र ममता थाहा पाएपछि पो राष्ट्रियताको कुरा आउँछ,’ बैरीले चिया सुर्किंदै भन्यो, ‘घरको छानो चुहिएको छ भने छिमेकीको घरमा ढुंगा हान्न जान्छस् ?’ मट्यांग्रो हाँस्यो । ‘तिमीहरू पुराना पार्टीका मान्छे, नयाँ कुरा सुन्नै सक्दैनौं ।’ ‘नयाँ कुरा भनेको जे मन लाग्यो त्यही बोल्ने हो ? प्रधानमन्त्रीको बोली चिया पसलको गफजस्तो हुँदैन ।’
यति भनिसक्दा पसलमा बसिरहेका बूढापाका सबै कान ठाडा पारेर सुन्न थाले । गाउँका बूढा हर्कबहादुरले भने, ‘हामीले त २०४६ पनि देख्यौं, २०६२/६३ पनि देख्यौं । त्यो बेला पनि संसद्मा कराइन्थ्यो । अहिले पनि कराइन्छ । फरक के छ ?’ कसैले उत्तर दिन सकेन ।वास्तवमा देशको राजनीति एउटा पुरानो मोबाइलजस्तै भइसकेको छ । बाहिरको कभर फेरिन्छ, वालपेपर फेरिन्छ, रिङटोन फेरिन्छ तर ब्याट्री उही पुरानो हुन्छ ।
२०६३ सालतिर संसद्मा कुर्सी हानाहान भयो । त्यसपछि पनि भयो । फेरि अहिले पनि... । कुर्सीमात्र नयाँ आयो, फाल्ने शैली आधुनिक भयो । पहिले रिस उठेपछि कुर्सी उठाएर फालिन्थ्यो । अहिले रिस उठेपछि लाइभ भिडियो चलाएर फालिन्छ । लोकतन्त्र डिजिटल भएको यही हो । बैरीले त्यसै विषयमा कुरा घुमायो । ‘हेर्नुस् दाजुहरू, २० वर्षमा परिवर्तन भएको के छ ?’ मट्यांग्रोले तुरुन्तै उत्तर दियो, ‘देश संघीय भयो, गणतन्त्र आयो, व्यवस्था फेरियो ।’
‘व्यवस्था फेरियो, अवस्था फेरियो त ?,’ बैरीको प्रश्न आयो । त्यो प्रश्न सुनेर पसलमा केहीबेर सन्नाटा छायो । किनभने यो प्रश्नको उत्तर कुनै पार्टीको घोषणापत्रमा पनि छैन । गाउँको सडक उस्तै छ । खोलाको पुल उस्तै छ । युवाहरूको वैदेशिक यात्रा उस्तै छ । खेती गर्ने किसानको दुःख उस्तै छ । फरक यत्ति हो, पहिले नेताहरू हेलिकप्टरमा कम चढ्थे, अहिले धेरै चढ्छन् । मट्यांग्रो फेरि बोल्यो, ‘दुईतिहाइको सरकार छ । सरकारले चाहे जे पनि गर्न सक्छ ।’
बैरी मुसुक्क हाँस्यो । ‘त्यही समस्या हो । दुईतिहाइ भएपछि केही गर्नुपर्छ भन्ने होइन, जे पनि गर्न पाइन्छ भन्ने भ्रम हुन्छ ।’ ‘तिमी सरकार विरोधी हौ ।’ ‘म सरकार विरोधी होइन, मूर्खता विरोधी हुँ ।’ पसलभरि हाँसो फैलियो । गाउँका शिक्षक रामनाथ सरले चस्मा मिलाउँदै भने, ‘सीमाको विषय नक्सा हेरेर, दस्तावेज हेरेर र विशेषज्ञसँग परामर्श गरेर बोल्नुपर्ने कुरा हो । संसद्मा बोलेको कुरा फेसबुकको स्टाटस होइन ।’
त्यो कुरा धेरैलाई चित्त बुझ्यो । किनभने अहिले देशमा एउटा नयाँ रोग फैलिएको छ, ‘पहिले बोल्ने, पछि सोच्ने ।’ पहिले सोच्ने, त्यसपछि बोल्ने परम्परा पुरानो भयो । अब पहिले माइक समातिन्छ । पछि विवाद हुन्छ । अनि अन्त्यमा स्पष्टीकरण आउँछ । स्पष्टीकरण भनेको राजनीतिमा यस्तो औषधि हो जसले सबै रोग निको पार्छ भन्ने विश्वास गरिन्छ ।
कुनै नेता विवादमा परे ? स्पष्टीकरण । कुनै मन्त्रीले गलत बोले ? स्पष्टीकरण । कुनै सांसदले कुर्सी फाले ? स्पष्टीकरण । जस्तोसुकै रोगको एउटै उपचार । बैरीले पनि त्यही माग गरिरहेको थियो, ‘प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ ।’ मट्यांग्रोले प्रतिवाद गर्यो, ‘किन दिनुपर्यो ?’ ‘किनकि देश चलाउने मान्छेले बोलेको कुरा देशको धारणा बन्छ ।’ ‘तर सत्य बोले भने ?’ ‘सत्य पनि कसरी, कहाँ र कुन सन्दर्भमा बोलियो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
यो कुरा सुनेर मट्यांग्रो केही बेर चुप लाग्यो । चिया पसलमा कहिलेकाहीँ यस्ता कुरा पनि हुन्छन् जहाँ बहस जित्नुभन्दा सोच्नुपर्ने अवस्था आउँछ । तर धेरै बेर चुप बस्न मट्यांग्रोलाई सकस भयो । ‘तिमीहरू सबै बालेनसँग डराउँछौं ।’ बैरी फेरि हाँस्यो, ‘हामी कसैसँग डराउँदैनौं । हामीलाई त देशको हालत देखेर डर लाग्छ ।’ देशको हालत साँच्चै अनौठो छ । सीमाको बहस चलिरहेको बेला बजारमा तरकारी महँगो छ । राष्ट्रवादको भाषण चलिरहेको बेला युवाहरू पासपोर्ट बनाउन लाइनमा छन् । संसद्मा कुर्सी उठिरहेको बेला किसानले मल पाएको छैन ।
नेताहरू नक्सामा रेखा खोजिरहेका छन्, जनताले भान्सामा दाल खोजिरहेका छन् । राष्ट्रवादको ज्वारभाटा चुनावताका निकै बढ्छ । त्यसबेला सबै नेता सगरमाथाभन्दा अग्ला राष्ट्रवादी हुन्छन् । तर चुनाव सकिएपछि त्यो राष्ट्रवाद पनि दसैंको पिङजस्तै भत्काएर थन्काइन्छ । गाउँका बूढा हर्कबहादुर फेरि बोले, ‘हामीले त धेरै राष्ट्रवादी देख्यौं बाबु । चुनावअघि देश बेच्न दिन्नौं भन्नेहरू चुनावपछि आफ्नै वाचा बेचेर हिँड्छन् ।’
सबै हाँसे । मट्यांग्रोको सबैभन्दा ठूलो शक्ति यही हो, सत्यलाई हँसाएर सुनाउँछ । मट्यांग्रोले अन्तिम अस्त्र प्रयोग गर्यो, ‘जे भए पनि अहिलेको सरकार बलियो छ ।’ बैरीले जवाफ दियो, ‘बलियो सरकार हुनु राम्रो हो । तर सरकार बलियो भएर जनता कमजोर भए त्यसको के अर्थ ?’ ‘त्यसो भए के गर्ने ?’ ‘संसद्मा कुर्सी फाल्ने होइन, नीति फाल्ने । झूट फाल्ने । भ्रष्टाचार फाल्ने । बेरोजगारी फाल्ने ।’
चिया पसलमा फेरि ताली बज्यो । त्यो ताली बैरीका लागि होइन, जनताको मनको कुरा बोलेकोमा थियो । साँझ पर्न लाग्यो । बैरी घरतिर लाग्यो । मट्यांग्रो पनि उठ्यो । दिनभर झगडा गरे पनि दुवै एउटै बाटो हिँड्थे । देशको राजनीति पनि त्यस्तै हो । दल फरक छन् । झण्डा फरक छन् । नारा फरक छन् । तर जनताको समस्या उस्तै छ । संसद्मा कुर्सी हानाहान गर्नेहरू पनि अन्ततः एउटै क्यान्टिनमा चिया खान्छन् ।
युट्युवमा एकअर्कालाई देशद्रोही भन्नेहरू पनि पछि एउटै गठबन्धनमा भेटिन्छन् । जनता भने हरेकपटक नयाँ आशा बोकेर मतदान केन्द्र पुग्छन् । २० वर्षअघि व्यवस्था फेरियो । जनताले अवस्था फेरिन्छ भन्ने आशा गरेका थिए । तर आज पनि गाउँको चौतारोमा बसेका बैरी र मट्यांग्रो उही प्रश्न सोधिरहेका छन्, ‘व्यवस्था फेरियो, अवस्था कहिले फेरिने ?’
संसद्मा कुर्सी फेरिएको छ । सरकार फेरिएको छ । दल फेरिएका छन् । नारा फेरिएका छन् । तर यदि जनताको जीवन फेरिएको छैन भने परिवर्तनको पोस्टरमात्र नयाँ छ, भित्ता पुरानै छ । त्यसैले आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक बहस सीमाको रेखाभन्दा पनि जनताको जीवनको रेखा कसरी माथि उठाउने भन्ने हुनुपर्छ । नत्र संसद्मा कुर्सी उडिरहने छ । नेताहरू राष्ट्रवादको भाषण गरिरहने छन् । विशेषज्ञहरू टाउको समातिरहने छन् । र, गाउँको चिया पसलमा बैरी र मट्यांग्रो अर्को २० वर्ष पनि यही प्रश्नमा झगडा गरिरहने छन् ।‘देश बदलियो कि केवल नेताको कुर्सी ?’ तर हामीले मिचेकै हो नि हामी बदलियौं ?