‘ल हेरौं त कसले आएर डोजर हान्दो रैछ ? त्यसका बाउले बनाइदिएको छाप्रो हो यो ? ४० वर्षदेखि यही हुर्के र बढेको हुँ ।’ पुरुषार्थ देखाउँदै बलवीरे हातको पाखुरा देखाउँदै ढोकाबाट निस्क्यो । ‘त्यसो होइन हजुर, अब हजुर ४० वर्ष बसे पनि ५० वर्ष बसे पनि यो त नदीको किनारा हो । सार्वजनिक जग्गा भएकाले यहाँबाट सबैलाई हटाएर अन्तै लगेर राख्ने भन्ने भएकाले मात्र हामी सूचना भन्दै हिँडेका,’ हरियो र नीलो पोसाक लगाएका सुरक्षाकर्मीै भन्दै थिए ।
‘अँऽअँ... तिमीहरुले भन्दैमा निस्कन्छौं नि ! कस्ता–कस्ता आए । कतिले डोजर चलाए । कतिले हाम्रा छाप्रा भत्काए । ढुंगामुढा भयो हामी घाइते भयौं र त डराएनौं, अब किन डराउनु ?’ ‘उहाँ रवि दाइले सुकुमबासी बस्तीमा डोजर चले छ भने पहिलो छाती थाप्ने म हुन्छु भन्नु भाको छ चुनाउअघि । अनि म सुकुमबासी डराउनुपर्ने ? अनि अहिले हामी सरक्क सर्नु पर्ने ?’
‘त्यसो होइन । हजुरले भनेको पनि ठिकै होला । तर पनि सरकारले सरकारी जग्गा संरक्षण गर्ने अनि तपाईंहरुलाई पनि यस्तो दुर्गन्धित ठाउँमा राख्नुभन्दा घरमै लगेर राख्ने पो भन्या त !’ सुरक्षाकर्मी सम्झाउने कोसिस गर्दै थिए । बलवीरे हाँस्दै भन्न थाल्यो, ‘लौ बल्ल यी पुलिसले चाल पाएछन् । हिजो अस्ति भए कुटौंला जस्तो गर्थे । जेन–जी आन्दोलनपछि गाको सातो अझै आको रैन छ !’
‘अब दुईतिहाइको सरकारले आएपछि यिनीहरु हेर त यिनीहरुको अवस्था । बोलीचाली सबै फेरिएछ । त्यसै हामीले घण्टीलाई जिताका हौं र ? ‘रवि दाइ हाइहाइ’, ‘बालेन दाइ हाइहाइ’ त्यसै कहाँ भन्या हो र ? त्यही भएर पो रवि दाइले सुकुमबासीमा डोजर चल्यो भने पहिले छाती थाप्छु भन्नु भाको रैछ । जे होस् परार हामीलाई भाटा हान्नेलाई अहिले रामै्रसँग तह लगाएछन् !’
बलवीरेको कुरा सुनेर दुवै सुरक्षाकर्मी मुखामुख गर्छन् । ‘हस हजुर हस्, हामी पनि हजुरहरुकै लागि खटिएका छौं नि । हजुरको सुरक्षित बसोबासका लागि भनेर नै यो ठाउँ छाडिदिनुस् भनेको । लोकतन्त्र दिवसको दिन बागमती नदी आसपासका क्षेत्रलाई सफाइ गर्ने भनेकोले हजुरहरुले पनि आफैं छाडिदिए राम्रो भन्न आका हौं । अब प्रधानमन्त्रीज्यूको ‘स्टाटस’ त हेर्नु भएकै होला ? नगरपालिका पनि ठूलठूलो स्वरमा स्पिकर बजाएकै छ । ल १० गते राति १२ बजेसम्म हजुरहरु नदी किनाराबाट हटिदिनुहोला है त ?’
सायद सुरक्षाकर्मीहरु यति नरम भएर बोलेको बलवीरेले अहिलेसम्म सुनेकै थिएन होला । त्यही भएर पनि उसलाई गर्व लागिरहेको छ । पहिलोपटक सुरक्षाकर्मीलाई मज्जाले थर्काए भनेर । हाँस्दै बलवीरेले भन्यो, ‘लौ लौ तिमेरुले सकेको तिमीहरु गर, हामीले सके हामी गर्छौं ।’ म पनि सुकुमबासी पो हुँ ।
बलवीरेले कसलाई पो हो कुन्नि फोन लगायो । ‘होइन हो काका, के हो हामीलाई त बागमती किनाराबाट हट्नु पो भन्छन् त पुलिसहरुले के भन्यो त्यो ? उताबाट आवाज आउँछ, ‘खै केटा मलाई पनि थाहा छैन, लोकतन्त्र दिवसको अवसरमा बागमती सफाइ अभियान होला ?’
यताबाट बलवीरे बर्बराउँछ, ‘त्यसो होइन के, सरसफाइ अभियान भए त हामीलाई झाडु लिएर आउनु भनिहाल्थे नि । कति नरमसँग तपाईंहरुले ठाउँ छाडिदिनुस् भनेको छ पुलिसले !’ ‘भैगो नि त, त्यसो भए छाडिदिए भइगो त ? किन किचकिच गर्नुप¥यो ? जे भन्यो त्यही मान्ने हो । सधैं त्यही बागमती किनारा बसेर निर्वाह हुन्छ ? अलि राम्रो ठाउँमा व्यवस्थित भएर बसे भैगो नि ? उताबाट आवाज आउँछ ।’
‘केरे केरे ? अलि राम्रो ठाउँमा व्यवस्थित भएर बस्ने रे ? होइन तपाईंले के भन्न खोज्नु भाको ? हामी सुकुमबासीलाई ठाउँ छोड भन्नु भाको ? अहँ ! यो ठाउँ त कुनै हालतमा पनि छाडिन्न । उ बेला सब नेताहरुले तिमरुलाई यही लालपुर्जा दिउँला भनेका छन् । अहिले पनि उहाँ रवि दाइ सुकुमबासीमा डोजर चले म छाती थाप्छु भन्नु भाको छ बुझ्नु भो नि कुरो ?’
‘बुझेँ बुझेँ । को–को छाति थाप्न आउँछन् हेरम्ला...,’ उताबाट फोन काट्छन् । बलवीरे अलमल्ल पर्छ, ‘सबका सब चोर ! मुखले एउटा कुरा गर्ने कामले अर्को कुरा गर्ने । अस्ति चुनाउसम्मचाहिँ यही आएर भोट माग्ने, अहिले पुलिसले हट्नु भनेको छ के गर्ने भन्दा जसोजसो भन्यो त्यसै त्यसै गर्ने रे ! क्या गज्जब कुरा छ यार ।’
बलवीरेले अरु दुई–चार जनालाई पनि फोन गर्छ । ‘लौन सहयोग गर्नु प¥यो । हामी त बिचल्लीमा पर्ने भयौं के !’ उताबाट गज्जवको हाँसोको आवाज सुनिन्छ । ‘लौ होइन होउ रामप्रसाद दाइ । सधैं म छु हो भाइ तिमीहरुका लागि भन्नुहुन्थ्यो । अहिले त बिचल्लीमा पर्ने भइयो भन्दा पनि हाँस्नु हुन्छ त ?’
‘त्यही त भाइ । हिजोसम्म तिमी हाम्रा थियौं साथ र सहयोग गर्न पनि मन लाग्थ्यो । तिमीले नै भनेको होइन ‘चुपचाप घण्टी छाप’ भनेर ? अब त उतै घण्टीमा जाने आफ्नो गुनासो राख्ने । ‘नो कमरेड, नो जय नेपाल’ है भाइ ‘गुडनाइट’ ।’ ‘खै कसैले सहयोग गर्ने देखिएन ।’ बलवीरे निराश बन्यो । बस्तीमा केही सुरक्षाकर्मीको सवारीसाधन माइकिङ गर्दै हिँडिरहेका छन् । ‘भोलि बिहानभित्र आफूले कब्जा गरेर बसेको घर टहरा खाली गर्नुहुन अनुरोध छ । जबर्जस्ती बसेमा कानुनबमोजिम कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’ सूचना सुनेर अझ अबाक्क भयो ।
साँझको समय केही मानिसहरु आफ्ना झोला बोकेर निस्किन थालेका छन् । बलवीरेले सोध्यो, ‘होइन हो, तिमीहरु कहाँ हिँड्या छौं ?’ दायाँ काँधको भारीको झोला बायाँ सार्दै एउटाले भन्यो खै भोलि यहाँ डोजर लगाउने र सबै खाली गरिदिनू भनेर टहरोधनीले फोन गरेका थिए । त्यही भएर हामी त हिँडेको । बलवीरे अझै झसंग भयो । अर्कोले थप्यो, ‘तिमीले चाहिँ क्यार्न बस्या छौं ? खुरुक्क पोकापन्तरा बोकेर हिँड ।’ उनीहरु बाटो लागे ।
बस्तीमा सुरक्षाकर्मीको संख्या बढ्न थाल्यो । वरपरका टहरामा बस्नेहरु पनि फोनमा कुरा गर्दै थिए । अलाप विलापमा थिए । हामी कहाँ जाने, के गर्ने, न बस्ने ठाउँ छ न खाने ठेगान छ । हुकुमबासीहरुले भाडा लिएर बसेका सुकुमबासीलाई उर्दी जारी गरिसकेका थिए । भोलिको ठेगान छैन । कसैले सहयोग गर्ने छाँटकाँट पनि छैन आफ्नो बाटो तताउनू !
बलवीरेको बर्बराउन थाल्यो । वर्षौंदेखि हामीलाई कठपुतली बनाएर राख्यौं, आफ्नो स्वार्थ पूरा ग¥यौं । अहिले संकटमा मौन बस्यौं ! समाजवाद, सर्वहारा सबै देखियो । आखिर म त यसै सुकुमबासी त्यसै सुकुमबासी उ बेला त्यसै भन्या रैछ र ‘गरिबको चमेली बोल्दिने कोही छैन’ ?