काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति विघटनतर्फ उन्मुख भएको छ । अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेतबीचको विवाद उत्कर्षमा पुगेपछि यस्तो स्थिति आएको हो ।
विवाद समाधान नभएपछि सोमबार पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका छन् । यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका छन् ।
यी हुन् राजीनामा दिने पदाधिकारी र सदस्य
सुजितकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष
वैकुण्ठप्रसाद पौडेल, तृतीय उपाध्यक्ष
महेशकुमार बस्नेत, महासचिव
कुन्छादोर्जे डिम्दोङ, सचिव
धनमाया सिञ्जाली, कोषाध्यक्ष
सदस्यहरुः रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरी
संघका सात पदाधिकारीमध्ये पाँच जना र १० जना कार्यसमिति सदस्यमध्ये छ जनाले राजीनामा दिएपछि अध्यक्ष गुरुङ अल्पमतमा परेका छन् । राजीनामासँगै असन्तुष्ट पक्षले सिफलस्थित संघको कार्यालयमा तालासमेत लगाएको छ । सामूहिक राजीनामा दिएका पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष गुरुङको गतिविधि व्यक्तिकेन्द्रित भएको आरोप लगाएका छन् । गुरुङको नेतृत्वमा रहेर अपेक्षित काम गर्न नसकिने निष्कर्षसहित सामूहिक राजीनामा दिइएको उनीहरुको भनाइ छ । अब संघमा तत्काल नयाँ नेतृत्व चयन गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।

संघको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सामूहिक राजीनामा दिनुको १० बुँदे कारण खुलाएका थिए । जसमा अध्यक्ष गुरुङको कार्यशैली संस्थागतभन्दा कम्पनीको शैली झल्किएको, निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र सामूहिक नभएको, कार्यसमितिका पदाधिकारी तथा सदस्यले उठाएका विषयलाई महŒव नदिएकोलगायत छन् ।
संघका महासचिव बस्नेतले बहुमत पदाधिकारी तथा सदस्यको राजीनामापछि नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । ‘बहुमत पदाधिकारी तथा सदस्यको राजीनामापछि कार्यसमिति अल्पमतमा परेको छ । विधानअनुसार संघ प्रभावकारी निर्णय तथा काम गर्न नसक्ने अवस्था बनेको छ,’ उनले भने, ‘संघको विधानबमोजिम कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक व्यवस्था गरोस् ।’
प्रथम उपाध्यक्ष श्रेष्ठ अध्यक्षको गतिविधिका कारण बाध्यताबस सामूहिक राजीनामाको निर्णय लिनुपरेको बताए । ‘पछिल्लो कालखण्डमा उहाँ (अध्यक्ष)को कारण काम गर्न धेरै गाह्रो भयो । अब बहुमत पदाधिकारी नभएपछि यो संस्थालाई अगाडि बढाउन कठिन हुन्छ । हामीले मार्गप्रशस्त गरिदिएका छौं,’ श्रेष्ठले भने ।
सरकारले रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति नवीकरण खुलाउँदा अध्यक्ष गुरुङले संस्थागत रोजगारी खुलाउन नदिएको श्रेष्ठले आरोप लगाएका छन् । ‘रि–इन्ट्री खोल्ने अनि संस्थागत नखुलाउने भनेर मन्त्रालयमा सोध्दा त्यहाँका कर्मचारीले तपाईंहरुले अध्यक्षले भोलि केही भए तपाईंहरु जिम्मेवार हुनपर्छ भन्नुभएको छ भने । व्यवसायीको नेतृत्व गरेर व्यवसायी विरोधी काम गर्ने ?,’ उनले प्रश्न गरे ।
संघका तृतीय उपाध्यक्ष पौडेलले समस्या समाधानका लागि पटक-पटक बैठक बोलाउन आग्रह गर्दा पनि सुनुवाइ नगरेको तर राजीनामा दिएपछि भने मंगलबारका लागि बैठक बोलाएकाले त्यसको कुनै औचित्य नभएको बताए । ‘आफ्ना कमजोरीलाई सुधार्नुहुन्छ कि भनेर हामीले हामीले बारबार बैठक बोलाउन भन्यौं । तर उहाँले संघमा आएर बैठक गर्नुभएन । रेस्टुरेण्टतिर गर्नुभयो,’ पौडेलले भने, ‘हामीले सिडिओ कार्यालयमा राजीनामा बुझाएको थाहा पाएपछि मात्र भोलिको मिटिङको नाटक मञ्चन गर्नुभयो । त्यसको कुनै अर्थ छैन ।’
संघका गतिविधिका विषयमा प्रेस विज्ञप्ति निकालौं, बैठकलाई पारदर्शी बनाएर सबै व्यवसायीले थाहा पाउने व्यवस्था गरौं भन्दा अध्यक्ष गुरुङले नमानेको सचिव दिम्डोङको भनाइ छ । त्यस्तै कोषाध्यक्ष सिञ्जालीले गलत व्यक्तिले नेतृत्व सम्हाल्दा धेरै दुःख पाएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्ने सदस्यहरुले अध्यक्ष गुरुङले विभेदकारी व्यवहार देखाएको, महिला सदस्यहरुले पाउने अधिकार दिन चासो नदेखाएकोलगायत आरोप लगाएका थिए ।