प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभूतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजा परिषद्ले प्रारम्भिक समयमा खेलेको भूमिका स्मरणीय छ । प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास प्रतिकूल अवस्थामा पनि आफ्नो विचार, मान्यता र अभियानलाई निरन्तरता दिने साहसिक पथप्रदर्शक प्रेरणापुञ्ज हुन् । १०४ वर्षको जहाँनीया निरंकुश राणाशासनकाविरुद्धमा निडर र साहसिक पथप्रदर्शकका रुपमा वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन आहुति तथा प्रजातन्त्रको स्थापनाका लागि योगदानका मूल्यलाई हामीले कसरी चुकाउन सकेका छौं भन्ने कुरा आजको सन्दर्भमा महत्व राख्दछ ।
मूलतः नेपाली राजनीतिका ऐतिहासिक पाटाहरुको विश्लेषण तथा मान्यता र पद्धतिको हामीले पैरवी गर्दै आएका छौं । राष्ट्रको स्वाभिमान र जनताका उन्मुक्तिका अभियानमा इतिहासका विभिन्न कालखण्डमा जनताका सच्चा सपुतको योगदानको स्मरणीय क्षणका रुपमा सहिद दिवसलाई लिइन्छ । १०४ वर्षीय निरंकुश राणाशाहीको क्रुर हुकुमी शासनका विरुद्धमा जनताका प्रजातन्त्रका स्वप्निल पक्षलाई उजागर गरी वास्तवमै नेपाली जनताको उन्मुक्तिका लागि ज्यानको आहुति उत्सर्ग गर्ने वीर सहिदको संस्मरणमा उच्च नमन र सम्मानको दिन सहिद दिवस हो ।
जनताका उन्मुक्ति र जनप्रतिनिधिमूलक संस्थाहरुको अपरिहार्यताको विचार विनिमय सम्प्रेषण गर्दा हामीले कहिल्यै भुल्न नसकिने राष्ट्रिय व्यक्तित्वहरुमा अमर सहिदहरुको नाम अग्रपंक्तिमा आउँदछ । नेपालले विगतदेखि अभ्यास गरी आएको लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास तथा जनतालाई अधिकार सम्पन्न नागरिक बनाई संघीय राज्य संरचनाका मान्यतालाई कार्यान्वयन तहमा ल्याउने दिशामा परिणाममुखी कार्य भएमा त्यो नै राज्य र जनताकातर्फबाट वीर सपूतहरुप्रति सच्चा श्रद्धाञ्जलि हुनसक्छ । यस मानेमा प्रत्येक वर्ष मनाइने सहिद दिवस सप्ताह र औपचारिक कार्यक्रमले मात्र हाम्रा सहिदहरुको सपना साकार हुन नसक्ला । सहिदहरुले कोरेका पथमा दृढ इच्छाशक्ति र इमान्दारिताका साथ अघि बढ्नुमा विवेकशील र सचेत नागरिकको दायित्व पनि हो ।

नेपाली जनतालाई रैतीबाट सम्मानजनक नागरिक बनाउने अभियानमा निरंकुश राणाशाहीको क्रुर शासनको उभारको समयमा बुलन्द आवाज उठाउने वीर सहिदको गाथाले इतिहासका स्वर्णिम पाना भरिएको छ । यसको आफ्नै विशेषता छ, महत्व इतिहासले कोरेको र वर्तमानले बुझेको छ । नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धि तात्कालिक घटनाक्रममा राजा र आन्दोलनकारी राजनीतिक शक्तिहरुको ऐतिहासिक सहकार्य र प्रजातन्त्रप्रतिको जनउभारको परिपोषकका रुपमा लिन सकिन्छ ।
प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभूतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजा परिषद्ले प्रारम्भिक समयमा खेलेको भूमिका स्मरणीय छ । प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास प्रतिकूल अवस्थामा पनि आफ्नो विचार, मान्यता र अभियानलाई निरन्तरता दिने साहसिक पथप्रदर्शक प्रेरणापुञ्ज हुन् । १०४ वर्षको जहाँनीया निरंकुश राणाशासनकाविरुद्धमा निडर र साहसिक पथप्रदर्शकका रुपमा वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन आहुति तथा प्रजातन्त्रको स्थापनाका लागि योगदानका मूल्यलाई हामीले कसरी चुकाउन सकेका छौं भन्ने कुरा आजको सन्दर्भमा महत्व राख्दछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलन, शासक वर्गको निरंकुशता र स्वेच्छाचारिताविरुद्ध इतिहासका विभिन्न कालखण्डमा विद्रोह, विग्रह र सशस्त्र आन्दोलन भएका घटनाक्रम बग्रेल्ती छन् । सन् १८८२ मा तात्कालिक राणा प्रधानमन्त्री रणोद्धीप सिंहको शासनकाविरुद्ध चौतारीया पुष्कर शाहका छोरा कर्णेल अमरविक्रम शाहले विद्रोह गरेका थिए । यसैगरी सहिद लखन थापामगरलाई नेपालको पहिलो सहिदका रुपमा मानिआएको पाइन्छ, जसले तात्कालिक राणाशाहीविरुद्ध जनविद्रोहको विगुल फुक्ने साहस गरे । त्यसैगरी लेखक तथा सामाजिक अभियन्ता कृष्णलाल अधिकारीले मकैखेती नामक साहित्यिक कृतिका माध्यमबाट नेपाली जनतामा राणा शासनविरुद्ध जनचेतना फैलाए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा टंकप्रसाद आचार्यलाई नेपालीले जिउँदा सहिदका रुपमा पुँज्दछन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासका विभिन्न कालखण्डमा साहसिक प्रजातान्त्रिक योद्धाहरुले पञ्चायती निरंकुशता र बर्बरताविरुद्ध आन्दोलनको उभार र ज्वारभाटा ल्याउने सत्प्रयास गर्दा सहिद भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा तथा क्याप्टेन यज्ञबहादुर थापाले वीरगति प्राप्त गरेको स्वर्णिम इतिहास छ ।
केही महिनाअघिको जेन-जी आन्दोलनका बहुआयामिक पाटोकाबारेमा मिहीन र विहंगम विश्लेषण हुँदै रहला । त्यस आन्दोलनले नेपालमा फेरि एकपटक राजनीतिक, सामाजिक तथा सुशासनका पक्षमा आमूल परिवर्तन र रुपान्तरणको सन्देश दिनसक्यो । युवा वर्गको प्राथमिक माग सरकारको शासन पद्धतिमा व्यापक सुधार र रुपान्तरणको मागलाई सम्बोधन गर्न सन्देश दियो । त्यसैगरी जेन–जी आन्दोलनका क्रममा मृत्युवरण गरेका युवाप्रति उच्चसम्मान गर्दै राज्यले सहिद घोषणा गरिनु परिवर्तनका लागि उत्सर्ग गर्ने युवा र नागरिककाप्रति सम्पूर्ण नेपालीको सम्मान र मूल्याकंनका रुपमा लिन सकिन्छ ।
त्यसै आन्दोलनको उभारका फलस्वरुप आगामी फागुन २१ गते जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । जेन–जी आन्दोलनले स्पष्टरुपमा उठान गरेका भ्रष्टाचारप्रति निर्मम उपस्थिति र शून्य सहनशीलता तथा सुशासनका मागलाई सम्बोधन गर्ने दिशामा लोक कल्याणकारी राज्य संरचनाले दिव्यदृष्टिका रुपमा लिएर कार्य गर्नु र युवा वर्गको मागलाई सम्बोधन गर्नुमा नै त्यस आन्दोलनका सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनसक्छ ।
औपचारिकरुपमा सहिद दिवसको कार्यक्रमको थालनी वि.सं. २०१२ सालमा तात्कालिक काठमाडौं नगरपालिकाको अगुवाईमा सुरुआत भयो । सहिदको योगदानको उच्च सम्मान गर्दै सहिद सप्ताहका रुपमा मनाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहिद दिवसको कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म मुलुकमा प्रजातन्त्र र आमनागरिकहरुको स्वतन्त्रताका लागि अमूल्य जीवन आहुति दिने वीर सहिदहरुको उच्च मूल्यांकन गदैं मनाइइएको छ । सहिदका गाथाले इतिहासमा छुट्टै पहिचान र आस्थाको सोपान झल्किन्छ ।
पञ्चायती व्यवस्थाको ३० वर्षसम्मको निकै कहालीलाग्दो कालखण्डमा जनअधिकार र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि साहसी वीर नेपालीले बलिदानी दिए । तिनकै पदचाप अनुशरण गर्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धिका रुपमा निरंकुश पञ्चायती व्यवस्थाको अवसान भई प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुनसक्यो । २०६२/६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सक्यो । लोकसम्मती र जनताद्वारा लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरी कार्यान्वयनमा आएको नेपालको संविधान सफल कार्यान्वयन दिशातर्फ परिलक्षित छ ।
नेपाली जनताका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार खोसिएको त्यो एक शताब्दीभन्दा बढी समयको निरंकुश राणा शासनको अन्त्यका लागि वीर सहिदहरुको योगदान आजका दिनमा पनि त्यत्ति नै सान्दर्भिक छ । देशमा लोकतान्त्रिक गणतन्त्रको वीजारोपण भएसंगै राजनीतिक उपलब्धि पूरा भएको आभाष दिन संस्थागत विकास साझा दायित्व हो । सहिदले कल्पना गरेको समाज निर्माणको अभियान अझै सकिएको छैन र वर्गीय शोषण र असमानता अझै विद्यमान छ । समाजमा आमूल रुपान्तरण तथा असमानताको अन्त्यका लागि लोकतान्त्रिक सरकारले पहिलो प्राथमिकताका रुपमा कार्य गर्नुपर्दछ । तबमात्र सहिदको सपना साकारोन्मुख होला ।
मुलुकलाई समृद्धि र दिगो विकासतर्फ उन्मुख गराउने सवालमा सरकार, राजनीतिक दल तथा सरोकारवालाहरुको गाम्भीर्यता अपरिहार्य छ । फलतः हाम्रा राजनीतिक अभ्यास र संस्कारले लोकतन्त्रको मियोको रुपमा रुपान्तरित हुने अवसर पाउने छ । लोकतन्त्रको सार र राजनीतिक इमान्दारिताको कसी भन्नु नै जनमतको भावनालाई अनुप्राणित गर्नसक्ने क्षमता राज्य शक्तिको रुपान्तरणमा हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था, मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पूर्णतः प्रत्याभूति, बहुलवाद तथा बहुपहिचानको मान्यता र मर्मलाई मुखरित गर्ने आगामी कदमहरुले महत्व राख्दछ ।
राष्ट्रियता, लोकतन्त्र र विकासका आयामसँग लोकतन्त्रका मान्यता र उपागम अनुप्राणित हुन सक्नुपर्दछ । जनताका अभिमतलाई जनमतका रुपमा रुपान्तरण गर्ने अनि जनताका प्रतिनिधिमूलक संस्थाहरुको निरन्तरता र स्थायित्व कायम गर्ने दिशामा निर्वाचन र निर्वाचित संस्थाको महत्वलाई सामान्यरुपमा लिन सकिँदैन । सन्दर्भमा विश्लेषण गर्दा प्रसिद्ध राजनीतिक विश्लेषक डा. बिआर अम्बेडकरले भनेका छन्, ‘यदि लोकतन्त्रलाई नितान्त सामाजिक मूल्यमा रुपान्तरण गरिएन भने यो अन्ततोगत्वा निरंकुशतन्त्र हुन्छ र सरकार सञ्चालनको पद्धति अति नै निकृष्ट हुन आउँछ, जसको कारण आमनागरिकले पहिलेको खरो अधिनायकवादी शासन पद्धतिलाई समेत बिर्सने छन् तथा लोकतन्त्र फगत निर्वाचक लोकतन्त्रमामात्र सीमित हुने छ ।’
सहिदको सपनालाई साकार पार्ने सवालमा राजनीतिक तथा नागरिक क्षेत्रकोे समान चासो र गाम्भीर्यता रहे भोलिको सुनौलो नेपाल बन्ने छ । लोकतन्त्रको स्थापना र संस्थागत विकासका लागि सहिदहरुको बलिदानको मूल्य जनताको यावत् मानवअधिकार जस्तै समानता, न्याय तथा सामाजिक, आर्थिक रुपान्तरणका बग्रेल्ती अवसरहरु निर्वाधरुपमा प्राप्त हुनु हो । दिगो शान्ति, स्थायित्व र आमनागरिकका इच्छाशक्ति र भोगाइलाई आत्मसात् गर्नु लोकतन्त्रको मर्म हो । लोकतन्त्रको संस्थागत विकासमा इतिहासका कालखण्डमा सहादत प्राप्त गर्ने ज्ञात÷अज्ञात सहिदप्रति सच्चा श्रद्धाञ्जलिसहित पुनः संस्मरण गर्नु छ ।