
काठमाडौं– कोभिड–१९ को महामारीका बेला वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले माग गरेको छ ।
जिफन्टले वैदेशिक रोजगारका क्रममा रोजगारी गुमाएर फर्किएकाहरू स्थानीय तहको रोजगारीमा वा स्वरोजगार हुन चाहेको खण्डमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक सहयोगको व्यवस्था मिलाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न वा स्वरोजगार बनाउन बुधबार माग गरेको हो ।
जिफन्टले विदेशमा रहेका नेपाली श्रमिकहरूको अवस्थाबारे अध्ययनसमेत गरेको जनाएको छ । अध्ययनले कोभिड–१९ कारण वैदेशिक रोजगारमा रहेकाहरूमध्ये २ दशमलब ४६ प्रतिशत श्रमिकहरूले रोजगारी गुमाएको तथ्यांक सार्वजनिक गरेको छ ।
जिफन्टको अध्ययनले कोभिड–१९ का कारण पूर्णरूपमा कामविहीन श्रमिक संख्या २ दशमलव ९३ प्रतिशत रहेको देखाएको छ । जिफन्टको अध्ययनबाट उनीहरूले पूर्ण रूपमा काम र पारिश्रमिक नपाएको देखिएको छ । यस्तै, १० दशमलव ९८ प्रतिशत श्रमिकले आंशिक पारिश्रमिक पाएको र ८६ प्रतिशतले पूर्ण रूपमा पारिश्रमिक पाइरहेको अध्ययनले देखाएको छ ।
जिफन्टको अध्ययनमा नेपाली श्रमिकहरूलाई रोजगारदाताले काममा लगाएको वा कोरोना संक्रमण भएको कारण क्याम्प क्वारेन्टिनमा राखेको देखिएको छ । विभिन्न मुलुकमा क्रियाशिल जिफन्ट सहयोग टोलीलाई परिचालन गरेर प्रवासी श्रमिकहरूका बीच गरेको अध्ययनमा मलेसिया तथा खाडी मुलुकमा कार्यरत १९ हजार ५ सय ७१ जना नेपाली श्रमिक सहभागी रहेको जिफन्टको दाबी छ ।
वैदेशिक रोजगारमा रहेका र करार अवधि सकिएका, कागजात नभएको अवस्थामा रही आममाफी प्राप्त गरेका र पारिश्रमिक नपाउने श्रमिकलाई तत्काल फिर्ता ल्याउन पनि जिफन्टले माग गरेको छ ।