
दोहा– कुवेतमा कोरोना भाइरस संक्रमणको कारण एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं कीर्तिपुरका ३८ वर्षीय युवक रहेका छन् । कुवेतस्थित नेपाली दूताबासले बताएअनुसार उनी बिगत १८ वर्षदेखि कुवेतमा कार्यरत थिए । कुवेतमा कोरोनाका कारण मृत्यु हुने उनी पहिलो नेपाली हुन् ।
कुवेतस्थित नेपाली दूताबासका अनुसार उनी केही दिनदेखि कुवेतको फर्बानिया हस्पिटलमा उपचारत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । साथै मृतकका परिवारलाई जानकारी गराई उनको कुवेतमै दाहसंस्कार गरिने कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।
कुवेतमा शुक्रबार मात्र थप ९ सय ५५ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कोरोना कुवेतमा संक्रमितको संख्या १९ हजार ५ सय ६४ जना पुगेको छ । जसमध्ये ८४ जना नेपाली संक्रमित रहेको दूताबासले जनाएको छ । यसैगरी, कुवेतामा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको छ भने यससँगै कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३८ जना पुगेको कुवेत सरकारले जनाएको छ ।