गाउँमा हल्ला चल्यो यसपालिको एसइई परीक्षामा बिर्खे कान्छाका छोरा, हरिहरकी छोरीलगायत सबैले पास गरे । पोहोर साल त्यही एसइई फेल हुने धेरै थिए । यसपालि किन धेरै पास भए भनेको ओली ‘बा’ ले ४९ प्रतिशत पास गराउनेलाई किन तलब बढाउने ? भनेर भन्या थिए रे !
पहिले–पहिले एसएसली हुँदा पो रस्साकस्सी हुन्छ भन्थे, अहिले त्यस्तो होइन रे ! ‘ग्रेडिङ इज ग्रेडिङ’ अरे ! हुन पनि हो । को पहिलो, को दोस्रो थाहै हुँदैन, आनन्द । पास भाको कुरा थाहा पाउन पनि ‘उबेला हप्ता दशेक’ कुर्नुपर्ने ! अहिले त कति सजिलो सजिलो, उताबाट रिजल्ट निस्क्यो भनेपछि मोबाइलमा फुत्तै । प्रविधि भनेको त्यसै हो र ?
नेपालाँ प्रविधिको प्रगति यति धेरै भाको छ, पहिले–पहिले करोडौं लगानी गरेर खुल्ने टिभी र अहिले सानो मोबाइल तस्बिर खिचेर फलाने टिभी भनेजस्तै हो । कम चल्या छ ! यही चल्या देखेर होला हरिहरले आफ्नी छोरीलाई त्यही प्रविधि पढ्न भन्या छ ।
एसइई पास भाकी छोरीलाई उसले प्रविधि पढ भनेपछि छोरीले पनि नाइँ भन्ने कुरै भएन । एसइई पास भएकी छोरी बोकेर हरिहर राजधानी भोलिपल्टै हान्निए । पहिले पहिले भाइबहिनीलाई सरकारी क्याम्पसमा भर्ना गराउन संगठन धाउने गरेका हरिहर यसपटक सीधै पुग्न सकिहाले ।
छोरी पहिलोपटक काठमाडौंमा पाइला टेकेकी । उसका लागि यो सहर निकै नै भयावह लागेछ । भीड, जाम, प्रदूषण कोलाहल, सबैको आ–आफ्नै सुर, ओहो ! के भन्ने । जे भए पनि प्रविधि पढ्न आको मान्छे राम्रो त हुने भैगो नै । सरकारी क्याम्पसमा भर्ना खुलैकै छैन भनेपछि हरिहरले चलाउने ‘फेसबुक’ मा निजी क्याम्पसका प्रचारप्रसार त कति हो कति ? यसो हेर्दा अमेरिका–बेलायत नै यतै छ । जस्तो ।
हरिहर छोरी लिएर एउटा भव्य क्याम्पसमा छिरे । चिटिक्क परेको दौरा सुरुवाल, शिरमा ढाकाको टोपी भिरेका उनी क्याम्पसको गेटमा पुग्दा पञ्चायतकालीन पुलिसको जस्तै पोसाक लगाएको सुरक्षा गार्डले दाहिने खुट्टा बजारेर सलाम ठोकेपछि उनी हेरेको हे¥यै भए । हरिहरजस्तै अरु अभिभावक पनि क्याम्पसको गेटबाट छिर्दै गर्दा सुरक्षा गार्डको सलामीले अभिभावकको दिमाग हराम नै बनाइसकेको भान हुन्थ्यो ।
छोरीलाई ‘प्रविधि विज्ञान’ पढाउन कस्सिएर काठमाडौं आएका हरिहर क्याम्पसको गेटदेखि फाराम भर्ने ठाउँभित्र रिसेप्सन, प्रतीक्षालय अभिभावकहरुको भीडभाडमा त्यसै रमाइरह्यो । ऊ भित्रभित्रै मैले त छोरीलाई गज्जबकै क्याम्पसमा पढाउने भएँ भनेर खुसी थियो । ‘ओहो ! यस्तो पनि क्याम्पस ? हाम्रो पालाको क्याम्पस कस्तो, अहिलेको क्याम्पस पाँचतारे होटलजस्तो !’
लचकदार कुर्सीमा बसेर भित्तामा टाँसिएर राखेको बढेमानको टिभीमा क्याम्पसका गतिविधि हेरेर फुरुंग थिए हरिहर । उता गाउँबाट काठमाडौं आउँदा फलानालाई भेट्नु भनेर उतैका नेताले पठाएका थिए । त्यही भएर उनलाई क्याम्पसका साहु भेट्ने चाहना पूरा हुन धेरै बेर नै कुर्नुपर्यो ।
क्याम्पसमा त ‘बडादसैंको नौरथा चलेको छ, भक्तजन अभिभावकहरुको लामो लाइन छ !’ सबैको अनुहारमा निकै चमक देखिन्छ । भित्तामा राखिएको टेलिजिभन पर्दा, सुमधुर स्वरमा छोरीमान्छेको आवाजबाट फलानो मान्छे भित्र आउनुस् भनेर बोलाइरहँदा कति सभ्य देखिन्थ्यो ।
लामै पर्खाइपछि भित्ता कुनामा टाँसिएको स्पिकरबाट कोकिलकण्ठ आवाजबाट ‘हरिहरप्रसाद कुमार शर्मा चौलागाईं’ भन्ने आवाज सुन्नासाथ उनी जुरुक्क उठे । छोरीको देब्रे हात ताने अनि अर्को सिसाको ढोका अगाडि पुगे । ढोकामा अंगे्रजी भाषामा ‘धेकेल्नुस्’ लेखिएको थियो । हरिहर र छोरी सिसाको अगाडि उभिरहे । छोरीले भित्र जाउँ ढोका धकेल्नुस् भन्दै थिइन् ।
हरिहरले मानेनन्, भित्रबाट १२ कक्षा पढ्दै गरेकी नानीले सिसाको ढोका उघारेर छेवैको कोठामा छिराइन् । यो क्रम निरन्तर चलिरहेको थियो । बिहान ८ बजेदेखि ६ बजेसम्म क्याम्पसमा अहिले नौरथा लागेको छ । भित्र छिरेका हरिहरले नमस्कार गर्दै भने, ‘फलानो नेताले पठाउनुभएको । हजुरलाई गएर भेट्नु सबै सहज हुन्छ भन्नुभएको छ ।’
सायद उनी क्याम्पसको लगानीकर्ताहरुमध्येका एक थिए । उनले मिठो स्वरमा भने, ‘ए कत्ति राम्रो, उहाँ हाम्रै सहकर्मी हुनुहुन्छ, हाम्रो गोत्र एउटै हो । ल भन्नोस्, अब मैले के सहयोग गर्नुप¥यो ?’छोरीलाई देखाउँदै, ‘यी यसले राम्रै नम्बर ल्याएर पास गरी क्यारे, त्यही भएर अब माथिल्लो कक्षा पढाउनुप¥यो भनेर आको ।’
उनले फेरि भने, ‘एकदम राम्रो गर्नु भो । हाम्रो शिक्षालय भनेको नेपालमा नै ‘टप’ पर्छ । हामीले विद्यार्थीहरुका लागि दिने सेवा सुविधामा कुनै ‘कम्प्रमाइज’ गर्दैनौं । बाहिर भित्तामा टाँसिएका फोटाहरु हेर्नु भो होला नि ? ती सबै यही शिक्षालयमा पढेर अधिकांश त विदेश उडिसके (हल्का हाँस्छन्) । अनि नानी के पढ्ने विचार गरेकी छौं त ?’
छोरीले लजालु स्वरमा भनिन्, ‘पढ्न त मलाई कानुन पढ्न मन थियो, तर बाबाले प्रविधि विज्ञान नै पढ् भन्नुभएको छ त्यही पढ्छु ।’
छोरीको कुरा सुनेर, ‘उनले भने कति राम्रो विचार, तर यो पनि ठीकै छ । सबैभन्दा ‘बेस’ छ । अहिले प्रविधिको युग छ । प्रविधि विज्ञान नै राम्रो हो नि ? छोरीले मुण्टो हल्लाउँछिन् ।’
हरिहरले सोधे, ‘अनि सर यो ११ र १२ पढ्न कति लाग्ने हो कुन्नि ?’
‘अब हेर्नुस् यो विषय भनेको नै धेरै मिहेनत गर्नुपर्ने विषय । स्रोत साधन समय सबै धेरै नै लाग्छ । त्यही भएर अरु विषयभन्दा अलि बढी नै लाग्छ । चिन्ता लिनु पर्दैन यो विषय पढेपछि छोरीले कमाउँछिन् । त्यसमाथि पनि तपाईं त हाम्रो ‘फलानो’ नेताजीले भनेर पठाएको चिन्तै लिनु पर्दैन ।’
नेताले भनेर पठाएको चिन्ता लिनु पर्दैन भनेपछि हरिहरको अनुहारमा खुसी देखिन्छ । उनले फेरि सोध्छन्, ‘तै पनि लगभग कति चाहिँ तिर्नु पर्ला ?’ ‘चिन्तै लिनु पर्दैन अहिले यो फर्म भर्नुस्, अनि यो विस्तृत हेर्नुस् त्यसमा पनि हामी मिलाइहाल्छौं । तपाईंले गेटबाट छिरेदेखि नै देखिहाल्नुभाको छ नि हाम्रो सेवा सत्कार यहाँको वातावरण । पैसा भनेको ठूलो कुरै होइन नि सबैभन्दा क्याम्पसको वातावरण हो नि । हो कि होइन भन्नुस् त ?’
हरिहरले उनले दिएको शुल्कको कागज हेर्छन् वल्टाउँछन् पल्टाउँछन् । छोरीको मुखमा हेर्छन् अनि भन्छन्, ‘फिस तिरेर...मुटु चिरेर ।’ हरिहर कुर्सीबाट डङरंगै ढल्छन् ।