चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अंगभंग हुनबाट पनि जोगाउन सकिन्छ । यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एकतिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जे–जस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो । यसमा पनि लगभग एक चौथाइ बिरामीलाई दुईपांग्रे सवारीसाधनको प्रयोग गरी स्वास्थ्य सेवासम्म पु¥याइएको थियो ।
विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ । यसबाट देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ । नेपालमा चोटपटकसम्बन्धी हालका अध्ययनहरू सीमित छन्, त्यसमा पनि खण्डित छन् । विशेष प्रकारका चोटपटकका बारेमा भएका अध्ययनहरू ससाना क्षेत्रमा मात्र केन्द्रित छन् । यसले गर्दा चोटपटकका कारण हुने घटनासम्बन्धी राष्ट्रियस्तरको तथ्यांकको अभाव छ भने उपचार र रोकथाम सेवा विकास गर्न चाहिने आवश्यक तथ्यपरक सुझावको पनि अभाव छ ।
त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागबाट २०८०/८१ मा गरिएको एक अध्ययनले सातै प्रदेशका प्रमुख अस्पतालबाट चोटपटकसम्बन्धी संकलन गरिएको तथ्यांक प्रयोग गरी यसको अवस्था, सामाजिक–जनसांख्यिकीय सम्बन्ध, आर्थिक क्षेत्रमा पारेको प्रभाव र रोकथामका उपायलाई केलाएर प्रस्तुत गरेको छ । जनसंख्यामा चोटपटकका असरले गरिबी बढाउने र दिगो विकासमा बाधा पुर्याउने भएकाले चोटपटकका घटनालाई कम गर्न तथ्यमा आधारित नीति निर्माणको आवश्यकतामा जोड दिएको छ । चोटपटकको अवस्था, यसले निम्त्याएको आर्थिक भार र रोकथामका रणनीतिको विश्लेषण गरी नीति निर्माणका लागि सहयोग पुग्ने जानकारी दिने र चोटपटक रोकथाम वा व्यवस्थापनमा प्रभावकारी कार्यक्रम तर्जुमा गर्न तथ्यगत जानकारी दिने यस अध्ययनको उद्देश्य हो ।

को सबैभन्दा बढी प्रभावित ?
सो अध्ययनले देखाएअनुसार चोटपटक लाग्ने व्यक्तिमध्ये ६४.१ प्रतिशत पुरुष रहेका छन् । उनीहरूको औसत उमेर ३४.४ वर्ष छ । उल्लेखनीयरूपमा चोट लागेका ७५ प्रतिशत पुरुष ४४ वर्षभन्दा कम उमेरका थिए र सबै चोटपटकका घटनाहरूमध्ये ४० प्रतिशत २५ वर्षमुनिका व्यक्तिहरूमा देखिएको थियो । यसमा पनि १५ देखि २४ वर्षको उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको पाइयो । वयस्कहरू विशेषगरी ५० वर्ष र माथिका महिलाहरू, पुरुषहरू (१५.६ प्रतिशत) को तुलनामा चोटपटकको उच्च अनुपात (२६.७ प्रतिशत) मा रहेका थिए । यसले उमेर र लिंगअनुसार फरक–फरक जोखिम रहेको संकेत गर्छ ।
तथ्यांकले शिक्षा र पेसाका हिसाबले पनि चोटपटकको जोखिममा रहेका वर्गको भिन्नता दर्शाउँदै त्यस्ता निर्धारकको महत्वपूर्ण भूमिका रहने देखाएको छ । चोटपटक लागेका ५८.४ प्रतिशत व्यक्तिले प्राथमिक शिक्षा मात्र हासिल गरेका थिए । यसमा महिला असमानरूपमा बढी (६५.६ प्रतिशत) प्रभावित थिए । किसान (२४.९ प्रतिशत) र विद्यार्थी (२९.६ प्रतिशत) सबैभन्दा धेरै चोटपटक लाग्ने पेसागत समूहहरू थिए । यसले कृषि कार्यका जोखिम र युवा, सक्रिय जनसंख्यामा चोटपटकको जोखिमलाई झल्काउँछ ।
चोटपटकका कारण सालाखाला ५.९ दिन बिरामीले अस्पतालमा बिताउनुपरेको देखिन्छ । विभिन्न कारणबाट घाइते भएकामध्ये पनि बिजुलीको करेन्ट लागेर अस्पताल भर्ना भएका, सडक दुर्घटनाबाट घाइते भएकाले सबैभन्दा लामो समयसम्म अस्पताल भर्ना भएर नै उपचार गर्नुपरेको देखिएको छ । त्यसपछि उक्त चोटपटकबाट पूर्णरूपमा निको हुन लाग्ने समयमा भने धेरै अन्तर रहेको देखिन्छ । यसरी चोटपटक लागेका बिरामीमा परेको मनोसामाजिक असरले उनीहरूलाई दीर्घकालसम्म पनि सताइरहने र चोटपटकपछिको जीवन कष्टकर हुन्छ भन्नेबारेमा पनि अध्ययनमा सामेल भएका व्यक्तिहरूको तर्क थियो ।
चोटपटक लागेका बिरामीलाई कसरी लैजाने अस्पताल ?
चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अंगभंग हुनबाट पनि जोगाउन सकिन्छ । यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एकतिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जे–जस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो । यसमा पनि लगभग एक चौथाइ बिरामीलाई दुईपांग्रे सवारीसाधन (मोटरसाइकल वा स्कुटर) को प्रयोग गरी स्वास्थ्य सेवासम्म पुर्याइएको थियो ।
चोटपटक कहाँ र कसरी लाग्छ ?
घर र वरिपरिको वातावरण चोटपटक लाग्ने सबैभन्दा प्रमुख स्थान (४६.९ प्रतिशत) का रूपमा देखिएको छ । घरभित्र हुने चोटपटकमा पुरुषहरूको (३९.४ प्रतिशत) तुलनामा महिला (६०.२ प्रतिशत) उल्लेखनीयरूपमा बढी घाइते हुने गरेको पाइयो । सडक दोस्रो सबैभन्दा धेरै चोटपटक लाग्ने स्थान (३१.७ प्रतिशत) थियो, जसमा पुरुष सडक–सम्बन्धित घटनामा अत्यधिकरूपमा चोट लागेका (७५ प्रतिशत) थिए । फुर्सदका समय बिताइने स्थानहरू, कार्यस्थल र खेतबारीमा भने तुलनात्मकरूपमा कम अनुपातमा चोटपटक लाग्ने गरेको पाइयो ।
ठूलो संख्याका मानिसमा लडेर हुने चोटपटकको प्रमुख कारण थियो । विशेषगरी महिलामा सडक दुर्घटना दोस्रो स्थानमा थियो । यसले मुख्यरूपमा पुरुषलाई प्रभावित गरेको थियो र अन्य कारणमा कुकुर र सर्पजस्ता जनावरको टोकाइ, जलन र करेन्ट लागेर हुने चोटपटक थिए । सर्वसाधारणमा दुर्घटनाका जोखिमबारे सचेतनाको कमी हुनु र यसको रोकथामका बारेमा ज्ञान नहुनु चोटपटकका प्रमुख कारक भनी यो अध्ययनले पत्ता लगाएको छ । तीव्र गतिमा गाडी चलाउनु, लापरवाहीपूर्वक गाडी चलाउनु र मदिरा सेवनजस्ता मानवीय कारकहरूले ७५ प्रतिशत सडक दुर्घटना भएको भन्ने देखिएको छ । यस्ता व्यवहारलाई रोकथाम गर्न सकिने भएकाले अध्ययनको नतिजाले त्यसतर्फ न्यूनीकरणका लागि काम गर्नुपर्ने भनी प्रस्टरूपमा औंल्याएको छ ।
आर्थिक क्षतिः अर्को गम्भीर समस्या
चोटपटकले व्यक्तिलाई घाइते, अपांग वा मृत्यु गराउनेमात्र नभई परिवारमा र समाजमा गम्भीर आर्थिक बोझ पनि थोपर्छ । यस अध्ययनले देखाएअनुसार जम्मा २८.७ प्रतिशत बिरामीले मात्र अस्पताल भर्ना हुनुअघि प्राथमिक उपचार पाएका थिए । प्राथमिक उपचार पाउनेमध्ये ग्रामीण क्षेत्रहरूमा ४३ प्रतिशत र सहरी क्षेत्रमा २५.४ प्रतिशतमात्र देखिएको थियो । चोटपटकका घाइतेको सवालमा यदि समयमै प्राथमिक उपचार दिइने व्यवस्था रहेमा घाइतेको अवस्था नबिग्रने र उपचारमा कम खर्च लाग्ने भएकाले बिरामी निको हुने दर उच्च हुने आर्थिक क्षति पनि कम हुन्छ ।
चोटपटकको उपचारका लागि रकम खर्च गर्नेमध्ये धेरैले व्यक्तिगत बचत (६१.८ प्रतिशत ) वा आफन्तबाट ऋण लिएर (३३ प्रतिशत) खर्च जेनतेन चलाएको पाइयो । जबकि, १७.५ प्रतिशतलेमात्र स्वास्थ्य बिमा प्रयोग गरेका थिए । यसले नेपालको स्वास्थ्य सेवामा रहेको आर्थिक सुरक्षाको खाडललाई उजागर गर्छ । नेपालमा स्वास्थ्य बिमा लागू गर्ने प्रयासमा सुस्तता र सीमितका कारण मानिसहरूले यस प्रकारका समस्याका लागि सम्पूर्ण खर्च स्वयं व्यहोर्नुपरेको छ । यद्यपि, नेपाल सरकारले स्पाइनल कर्ड इञ्जुरी, हेड इञ्जुरी र जलनजस्ता गम्भीर चोटपटकका लागि आंशिक आर्थिक सहायता वा सहुलियत पूर्णउपचारको व्यवस्था मिलाएको छ ।
परिवारमा कसैलाई चोटपटकका कारण औषधोपचार गर्नुपर्ने अवस्था आएमा अन्य सदस्यहरूको दैनिक कार्यमा गम्भीर असर परेको देखिन्छ । बिरामीको स्याहारसुसारमा लामो समय दिनुपरेकाले कतिपयले आफ्नो नियमित कामसमेत छोड्नुपरेको अवस्था पाइन्छ । यसले गर्दा बिरामीसँगै उनका परिवारका सदस्यहरू पनि थप आर्थिक समस्यामा पर्ने स्थिति सिर्जना भएको छ ।
मनोवैज्ञानिक र सामाजिक असर
भौतिक क्षति वा शारीरिक समस्याका अतिरिक्त, चोटपटकले धेरैमा मनोवैज्ञानिक असर पारेको पनि अध्ययनले प्रस्टरूपमा देखाएको छ । पुरुषहरू (२१.७ प्रतिशत) को तुलनामा महिलाहरू (२६.५ प्रतिशत) मानसिकरूपमा बढी प्रभावित पाइएका थिए । यसबाहेक, सात प्रतिशत उत्तरदाताहरूले भौतिक सम्पत्तिको क्षति भोग्नुपरेको देखिएको छ । यसको सालाखाला क्षति प्रतिव्यक्ति एक लाख १५ हजार २५० रुपैयाँ रहेको थियो । यसले न्यून आय भएका परिवारका लागि अत्यन्तै ठूलो प्रभाव पारेको थियो, जसबाट सजिलै पार पाउन धेरै गाह्रो हुने देखिन्छ । यस अध्ययनबाट चोटपटकको समस्याको रोकथामका लागि निम्न बहुआयामिक कार्यक्रमको आवश्यकतामा रहेको देखिएको छ ।
रोकथामः सडक सुरक्षाका उपायहरू (जस्तैः गति सीमाको कडाइका साथ पालना, मापसे जाँच) र घरभित्र (जस्तैः वृद्ध महिलाका लागि चिप्लनबाट बचाउने उपायहरू)लाई बलियो बनाउनुपर्छ र वरिपरिका क्षेत्रमा सुरक्षाका लागि समुदायमा सुसूचित गरी सुरक्षित वातावरण बनाउने प्रयासको तुरुन्त थालनी गर्ने । साथै, समुदायमा चोटपटकका कारण र यसको रोकथामका लागि अपनाउनुपर्ने उपायकाबारेमा उचित ज्ञान र सम्बन्धित निकायले चोटपटकका जोखिम न्यूनीकरणका लागि विशेष पहल गर्नुपर्ने छ ।
आर्थिक सुरक्षाः उपचारमा लाग्ने व्यक्तिगत खर्च कम गर्न स्वास्थ्य बिमाको दायरा र आपत्कालीन कोष विस्तार गर्नुपर्छ । मानसिक स्वास्थ्य सहायताः चोटपटकका घाइतेको व्यवस्थापनमा उपचार र मनोसामाजिक परामर्श सेवालाई पनि समावेश गर्नुपर्छ । तथ्य–प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूः उच्च जोखिममा रहेका समूहहरू (जस्तैः बालबालिका, किसान, विद्यार्थी, वृद्ध महिला) का लागि चोटपटक रोकथामका कार्यक्रमहरू तयार गर्न प्रमाणमा आधारित नीति र कार्यक्रमहरू निर्माण गरी लागू गर्नुपर्छ ।
तसर्थ, चोटपटकहरू केवल अनपेक्षित वा अकस्मात् हुने दुर्घटनामात्र होइनन् । यी अनुमान गरी रोक्न सकिने घटनाहरू हुन् । तिनका मूल कारणहरू र सामाजिक–आर्थिक प्रभावहरूलाई सम्बोधन गरेर नेपालले अकालमा हुने मृत्युबाट बचाउन, घाइते वा तिनका परिवारजनको पीडा कम गर्न र सुरक्षित, अझ चोटपटकका जोखिमबारे सचेत समाजको निर्माण गर्न सक्छ । अब काम गर्ने समय आएको छ ।