सीमित स्रोत तथा चुनौतीको सामना गर्दै आज विश्वकपजस्तो उच्च प्रतियोगितामा सहभागी हुने अवस्थामा पुगेको नेपाली टोलीले आत्मविश्वास, अनुशासन र सामूहिक प्रयासका साथ मैदानमा उत्रिँदा जे परिणाम आए पनि त्यसले नेपाली क्रिकेटको यात्रालाई नयाँ उचाईमा लैजाने विश्वास गर्न सकिन्छ । उच्च मनोबलका साथै नेपाली दर्शकहरूको अपार समर्थनबाट नेपाली टिमले आफू कमजोर होइन भन्ने प्रमाण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यही विश्वकप नेपाली क्रिकेटको भविष्य निर्माणका लागि महŒवपूर्ण चरण बन्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।
बहुप्रतिक्षित इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि-ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दै छ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च मनोबलका साथ तेस्रोपटक सहभागिता जनाउँदै छ । विभिन्न प्रतियोगिता तथा मैत्रीपूर्ण खेलका साथै प्रशिक्षणपछि ‘वार्मअप म्याच’बाट निखारिएका नेपाली खेलाडीहरू विगतको भन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्दै मुलुकको छवि उच्च बनाउने लक्ष्यका साथ मुम्बईको क्रिकेट मैदानमा उत्रदै छन् ।
विश्वकप क्रिकेटअन्तर्गत नेपालले पहिलो खेल नै क्रिकेटको जन्मदाता इंल्याण्डसँग खेल्न पाउनु सुखद संयोग मानिएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आज माघ २५ गते आइतबार ‘सी’ समूहमा रहेको इंग्ल्याण्डसँग प्रतिस्पर्धा हुँदै छ । विश्व क्रिकेट जगतमा भर्खरै आफ्नो पहिचान बनाइरहेको नेपालले ‘टेस्ट म्याच’मा स्थापित इंग्ल्याण्डजस्तो पुरानो टिमलाई पनि पराजित गरेर नेपालले आफ्नो उपस्थितिलाई बलियो बनाउने आशा गरिएको छ ।

नेपालले क्रिकेटको संघर्षपूर्ण यात्राका क्रममा विभिन्न कठिन अवरोध पार गर्दै विश्वकपको तेस्रो संस्करणसम्म आइपुगेको हो । नेपालले सन् २०२५ मा आइसिसीको पूर्णसदस्य वेस्टइण्डिजविरुद्धको टि-ट्वान्टी क्रिकेट शृंखला जित्नु सानो उपलब्धि थिएन । नेपालले सन् २०२५ मा नै सामोवा, ओमान, कतार, संयुक्त अरब इमिरेट्स र जापानलाई हराउँदै विश्वकपको ढोका पुनः खोल्न सफल भएको थियो । विश्वकपका लागि नेपाली टोलीको घोषणापछि टोली प्रतियोगिताको सहआयोजक श्रीलंकामा अभ्यास प्रतियोगिता खेल्न कोलम्बो गएको थियो । विश्वकपको पूर्वसन्ध्यामा नेपालले भारतमा पनि विभिन्न अभ्यास म्याच खेलेको छ र युएईसँगको अभ्यास म्याचमा नेपालले जित हासिल गरेर सशक्त उपस्थिति जनाएको छ । वर्षैभरिको व्यस्तता रहेको नेपाली टिम अब भने विशेष नतिजा हासिल गरेर मुलुकलाई नै गौरवान्वित बनाउन प्रतिस्पर्धाको पर्खाइमा रहेको छ ।
इंग्ल्याण्ड तुलनात्मकरूपमा नेपालभन्दा बलियो टिम हो । इंग्ल्याण्ड पुरुषहरूको टि-ट्वान्टी विश्व वरीयतामा तेस्रो नम्बरमा रहेको छ । नेपाल भने वरीयता क्रममा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । ह्यारी ब्रुकको नेतृत्वमा रहेको इंग्ल्याण्डको टिममा जस बटलर, जोफ्रा आर्चर, साम कुरान, आदिल रसिदजस्ता प्रमुख खेलाडीहरू रहेका छन् । नेपाल रहेको समूह ‘सी’ मा इंग्ल्याण्डका साथै वेस्ट इण्डिज, स्कटल्याण्ड र इटाली छन् । नेपालका लागि वेस्ट इण्डिज र स्कटल्याण्डविरुद्धको खेल पनि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ तर नवप्रवेशी इटलीसँगको खेल भने नेपालका लागि सहज अपेक्षा गरिएता पनि ‘वार्मअप म्याच’मा इटालीले क्यानडालाई हराएको समाचारले इटाली पनि राम्रै तयारीका साथ विश्वकपमा आएको मान्न सकिन्छ । नेपालले माघ २९ गते इटालीसँग लिग चरणको दोस्रो खेल खेल्दै छ । यस्तै नेपालले फागुन ३ गते वेस्ट इण्डिजसँग तेस्रो खेल तथा फागुन ५ गते स्कटल्याण्डसँग चौथो खेल खेल्ने कार्यक्रम रहेको छ ।
यसपालिको आइसिसी पुरुष टि-ट्वान्टी विश्वकप यो प्रतियोगिताको १०औं संस्करण हो । भारतले साविकको विजेताको रूपमा प्रतियोगितामा प्रवेश पाएको हो । प्रतियोगितामा सहभागी रहेका २० टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीमात्र सुपर आठमा पुग्ने हुँदा समूह चरण अत्यधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । नेपाल टिम पनि यसपालि सुपर आठमा पुग्ने प्रयत्नमा रहेको छ । विश्वकप प्रतियोगिताको सिलसिलामा कूल ५५ म्याच हुने छन् ।
नेपाल प्रतिस्पर्धा जितेर टि-ट्वान्टी विश्वकपमा छनोट हुनु भनेको क्रिकेट खेल्ने मुलुकहरूको पंक्तिमा नेपाल पनि स्थापित हुँदै जानु हो । ओमानमा विश्वकपका लागि एसिया र पूर्वी एसिया प्रशान्त क्षेत्रीय छनोटमा शीर्ष तीन टोलीमध्ये एक हुन सफल भएपछि विश्वकपमा नेपालको सहभागिता सुनिश्चित भएको थियो । सुपर सिक्स चरणमा ओमानविरुद्ध जित हासिल गरेर नेपालले आफ्नो स्थितिलाई बलियो बनाएको थियो । छनोटभरि अपराजित हुनु नेपालको सफलता थियो । नेपाली टिम चार खेलबाट आठ अंकसहित सुपर सिक्स अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको थियो । लगातार टि-ट्वान्टी विश्वकपका लागि प्रतिस्पर्धाद्वारा छनोट हुनु नेपाल क्रिकेटको विकासको सन्दर्भमा कोसेढुंगा मानिएको छ । यस प्रकारको सफलताको श्रेय खेलाडी तथा प्रशिक्षकहरूको समर्पणका साथै स्वदेश तथा विदेशमा रहेका प्रशंसकहरूको अटल समर्थनलाई मानिएको छ ।
नेपालको ऐतिहासिक प्रवेश
नेपालले बंगलादेशमा सन् २०१४ मा भएको आइसिसी टि-ट्वान्टी विश्वकपमा पहिलोपटककै सहभागितामा ऐतिहासिक प्रदर्शन गरेको थियो । त्यतिखेर पहिलो चरणमा समूहमा ‘ए’ मा परेको नेपाली टिमले खेलेका तीन खेलमध्ये दुई वटामा विजय हासिल गरेर विश्व क्रिकेट जगतमा बलियो उपस्थिति जनाएको थियो । त्यतिखेर नेपालले एक खेलमामात्र हारेको थियो ।
नेपालले पहिलो खेलमै हङकङलाई ८० रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले हङकङलाई ६९ रनमा सीमित गरेको थियो । सो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ४८ रन तथा तत्कालीन कप्तान पारस खडकाले ४१ रनको योगदान दिएका थिए । त्यस खेलमा अलराउण्ड प्रदर्शन गरेका नेपाली टिमका तत्कालीन कप्तान पारस खडकालाई ‘प्लेयर अफ दि म्याच’समेत घोषित गरिएको थियो ।
टेस्ट खेल्ने मुलुक पराजित
सन् २०१४ को विश्वकपकै सिलसिलामा नेपालले पहिलोपटक टेस्ट म्याच खेलिरहेको राष्ट्र अफगानिस्तानलाई नौ रनले हराएको थियो । त्यसबखत नेपालले अफगानिस्तान जस्तो बलियो टोलीलाई हराउनु ठूलो उपलब्धि मानिएको थियो । तेस्रो खेलमा भने नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेका नेपाल र बंगलादेश दुवैले दुई-दुई खेल जिते पनि नेपालको नेट रनरेट कम भएपछि अघिल्लो चरणमा पुग्न असफल भएको थियो । विश्वकपमा पहिलो सहभागितामै दुई खेलमा विजय हासिल गरेर नेपाल विश्वमा क्रिकेटको सम्भावना भएको मुलुक भन्ने प्रमाणित गर्न सफल भएको थियो । यस विश्वकपले नेपालमा क्रिकेटप्रतिको उत्साहलाई नयाँ उचाईमा लैजान महŒवपूर्ण योगदान गरेको थियो ।
दोस्रो पटकको विश्वकप यात्रा
नेपालले एसिया क्वालिफायरबाट संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै दोस्रोपटक टि-ट्वान्टी विश्वकपमा छनोट भएको थियो । नेपालले दोस्रोपटक सन् २०२४ मा विश्वकपमा प्रवेश पाउन १० वर्षको कठिन संघर्ष गर्न परेको थियो । अमेरिका र वेस्ट इण्डिजमा संयुक्त आयोजनामा भएको यो प्रतियोगितामा २० टोलीले भाग लिएका थिए । त्यतिखेर नेपालले समूह ‘डी’ मा रहेर नेदरल्याण्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकाको सामना गरेको थियो । दुर्भाग्य, आफूभन्दा माथि वरीयतामा रहेका ती प्रतिद्वन्द्वीहरूसँग नेपालले एक खेल पनि जित्न सकेन ।
नेपाल तथा दक्षिण अफ्रिकाको खेल भने निक्कै प्रतिस्पर्धात्मक थियो । यो खेलमा नेपाल एक रनको झिनो अन्तरले मात्र पराजित हुनुलाई नेपालको राम्रो खेल प्रदर्शन मानिएको थियो । प्रतियोगितामा नेपालका केही खेलाडीहरूको व्यक्तिगत प्रदर्शन प्रशंसनीय रहेको थियो । नेपाल नेदरल्याण्डससँग छ विकेटले तथा बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको थियो ।
सोमपालको ह्याट्रिक
नेपाली क्रिकेटर सोमपाल कामी विश्वकप तीनपटक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१४ मा पहिलोपटक नेपाल विश्वकपमा प्रवेश गर्दा उनी १८ वर्षका थिए । नेपाललाई १० वर्षपछि सन् २०२४ मा पुनः विश्वकपमा फर्काउन उनको ठूलो योगदान रहेको थियो । नेपाली टोलीका वरिष्ठ सदस्य सोमपालले यसपालि पनि नेपाललाई उत्कृष्ट नतिजा दिलाउन योगदान दिने अपेक्षा गरिएको छ । नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका अफस्पिनर शेर मल्ल र अलराउण्डर बसिर अहमद पहिलोपटक राष्ट्रिय टोलीबाट विश्वकप खेल्दै छन् ।
उच्च मनोबलका साथ सन्दिप
केही अघि बंगलादेशमा सम्पन्न बंगलादेश प्रिमियर लिग (बिपिएल) मा उपाधि जितेको राजशाही वारियर्स टिमकातर्फबाट खेलेपछि नेपालका लेग स्पिनर सन्दिप लामिछाने उच्च मनोबलका साथ विश्वकपमा सहभागी हुन भारत पुगिसकेका छन् । उनले यसपालि बिपिएलमा चार खेलमा कूल पाँच विकेट हात पारेका थिए । उनले सन् २०१८ मा भारतको इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका थिए । उनी आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले अस्ट्रेलियाको बिगबास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) तथा पाकिस्तान सुपर लिग (पिएसएल) मा पनि व्यावसायिक खेलाडीका रूपमा खेल्ने मौका पाएर अनुभव हासिल गरिसकेका छन् र उनीबाट नेपाली टिमले धेरै आशा गरेको छ ।
अत्यधिक टिकट बिक्री
भारतको मुम्बईमा नेपालले खेल्ने चारवटै खेलको अत्यधिक टिकट बिक्री हुनु सुखद संयोग मान्न सकिन्छ । प्रतियोगिता सुरु हुनु केही दिनअघि नै यसरी नेपाली टिमप्रति दर्शकहरूको विशेष आकर्षण भएपछि खेलको रौनक अझ बढ्न जाने निश्चित छ । नेपालका चार वटै प्रारम्भिक खेलहरू मुम्बईस्थित वानखेडे रंगशालामा सञ्चालन गरिँदै छ । वानखेडे रंगशालामा विगतमा विभिन्न महŒवपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना भइसकेका छन् । पछिल्लोपटक सन् २०२३ को विश्वकप क्रिकेटका खेलहरू यो रंगशालामा भएका थिए । सन् २०११ मा भारत विश्वकप विजेता बन्दा यही रंगशालामा फाइनल खेल भएको थियो ।
अत्याधुनिक सुविधा सम्पन्न यो रंगशालाको दर्शक क्षमता करिब ३९ हजार रहेको छ । भारतको मुम्बईका साथै भारतका अन्य स्थानमा बसोबास गर्ने खेलप्रेमी नेपालीको संख्या धेरै भएकाले यसपटक नेपालका खेलहरू हेर्न ठूलो संख्यामा नेपालीहरू भेला हुने अनुमान गरिएको छ । नेपालबाट धेरै क्रिकेटप्रेमीहरू यस रंगशालामै गएर प्रत्यक्षरूपमा म्याच हेर्न जाँदै छन् । नेपालका ट्राभल एजेन्सीहरूले विश्वकप हेर्नका लागि मुम्बई जान विशेष प्याकेजको व्यवस्था गरेका छन् ।
विश्वकपका प्रतियोगिता सञ्चालनका लागि भारतका पाँच र श्रीलंकाका तीन स्थान छनोट गरिएका छन् । तर राजनीतिक तनाव तथा यात्रा प्रतिबन्धका कारण पाकिस्तानले सबै खेलहरू श्रीलंकामा मात्र खेल्ने छ भने बंगलादेश सुरक्षाको कारण देखाउँदै भारत नआउँदा खेलप्रेमीहरूमा निराशा छाएको छ । प्रतियोगिताको फाइनल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेलाइने कार्यक्रम रहेको छ । तर यदि पाकिस्तान फाइनलमा पुगेमा उक्त खेल कोलम्बोमा हुने छ ।
इटालीसँग पहिलो भेट
नेपाल र इटालीले हालसम्म कुनै पनि आधिकारिक टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । नेपाल र इटालीबीच पहिलोपटक हुने खेल दुवै मुलुकका लागि नौलो हुने छ । इटाली पहिलोपटक विश्वकप खेल्दै छ । इटालीको यो प्रयास युरोपेली क्रिकेटका लागि उपलब्धिमूलक मानिएको छ । इटाली हाल विश्व वरीयतामा २७औं स्थानमा रहेको छ ।
वेस्ट इण्डिजलाई पराजित गरेको रेकर्ड
नेपालले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आइसिसीको पूर्णसदस्य रहेको वेस्ट इण्डिजजस्तो शक्तिशाली टिमलाई दुईपटक पराजित गरिसकेको छ । यस्तो ऐतिहासिक जित सन् २०२५ को सेप्टेम्बरमा शारजहाँमा भएको तीन खेलको शृंखलाको क्रममा भएको थियो । नेपालले उक्त शृंखलामा २-१ ले जित हासिल गरेको थियो । टि-ट्वान्टी विश्व वरीयतामा वेस्ट इण्डिज सातौं स्थानमा रहेको छ ।
१२ वर्षपछिको बदला
नेपाल र स्कटल्याण्डबीच पहिलोपटक सन् २०१३ मा टि-ट्वान्टी क्रिकेट प्रतिस्पर्धा हुँदा नेपाल आठ विकेटले पराजित भएको थियो । तर १२ वर्षपछि सन् २०२५ को जुन १७ तारिखमा स्कटल्याण्डको टिटबुड क्रिकेट मैदानमा भएको टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले विगतको हारको बदला लिँदै स्कटल्याण्डलाई दुई विकेटले हराउन सफल भएको थियो । त्यसयता दुई टिमबीच अन्य प्रतियोगितामा भने धेरै पटक भेट भइसकेको छ ।
यसपटकको विश्वकपमा सहभागी हुने मुलुकहरूमध्ये स्कटल्याण्डलाई भाग्यमानी मानिएको छ । विश्व वरीयतामा १४औं स्थानमा रहेको स्कटल्याण्डको विश्वकपमा सहभागिता अन्तिम समयमा आएर मात्र निश्चित गरिएको थियो । बंगलादेश क्रिकेट बोर्डले भारतमा असुरक्षाको कारण जनाउँदै आफ्ना खेलहरू श्रीलंकामा सार्न चाहे पनि आइसिसीले त्यो प्रस्ताव अस्वीकृत गरेको थियो । समूह ‘सी’ मा रहेको बंगलादेशको सट्टा स्कटल्याण्डलाई समावेश गरिएको थियो । विश्वकपका लागि भएको प्रतिस्पर्धामा छनोट हुन नसके पनि वरीयतामा सबैभन्दा उच्च स्थानमा भएको आधारमा स्कटल्याण्डलाई अन्तिम समयमा समावेश गरिएको हो ।
विश्वकपमा नेपालले सामना गर्नुपर्ने चुनौती त्यति सहज हुने छैनन् तर पछिल्ला वर्षहरूमा नेपालले क्रिकेटका लागि निरन्तर गर्दै आएको प्रयास तथा हासिल भएका सकारात्मक परिणामले नेपाली टिमप्रति आशावादी हुन सक्ने अवस्था भने रहेको छ । विश्वकपजस्ता प्रतिष्ठित प्रतियोगिता नेपालजस्तो राष्ट्रका लागि प्रतिस्पर्धामात्र नभई सम्भावनाको अवसर पनि भएको मान्न सकिन्छ ।
सीमित स्रोत तथा चुनौतीको सामना गर्दै आज विश्वकपजस्तो उच्च प्रतियोगितामा सहभागी हुने अवस्थामा पुगेको नेपाली टोलीले आत्मविश्वास, अनुशासन र सामूहिक प्रयासका साथ मैदानमा उत्रिँदा जे परिणाम आए पनि त्यसले नेपाली क्रिकेटको यात्रालाई नयाँ उचाईमा लैजाने विश्वास गर्न सकिन्छ । उच्च मनोबलका साथै नेपाली दर्शकहरूको अपार समर्थनबाट नेपाली टिमले आफू कमजोर होइन भन्ने प्रमाण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यही विश्वकप नेपाली क्रिकेटको भविष्य निर्माणका लागि महŒवपूर्ण चरण बन्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।