छठघाटमा अस्ताउँदो र उदाउदो सूर्यलाई अघ्र्य दिन भक्तजनहरूको लाम लागेको दृश्य देखिन्थ्यो। पोखरी र नदीका किनारमा सजाइएका घाट झिलिमिली थिए। ढकियाँमा फलफूल, उखु, नरिवल र विभिन्न मिष्ठान्न परिकारहरू सजिएको देखिन्थ्यो। महिलाहरू लोक गीत गाइरहेका थिए। युवाहरू घाटको व्यवस्थापनमा व्यस्त थिए। आस्था, अनुशासन र सामूहिकताको अनुपम दृश्य देखिन्थ्यो।
तर, यसपटकको छठघाटमा एउटा दृश्य थप चर्चाको विषय बन्यो। धार्मिक आस्थाको केन्द्र मानिने मधेसका छठघाटहरूमा राजनीतिक दलका शीर्ष नेताहरूको बाक्लो उपस्थिति देखियो। उनीहरू पूजापाठमा सहभागी हुनमात्र आएका थिएनन्। उनीहरूको उपस्थितिमा राजनीतिक गन्ध पनि लुकेको थियो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ छठ मनाउन मधेस झरे। उनीहरूको मधेस यात्राले धार्मिक र राजनीतिक वृत्तमा राम्रै चर्चा पायो।
चारै नेताको उपस्थितिले मधेसका छठघाटमा धार्मिक उत्साहसँगै राजनीतिक चहलपहल पनि बढायो। स्थानीय नेता तथा कार्यकर्ता आफ्ना शीर्ष नेतृत्वलाई घरआँगनमै पाउँदा उत्साहित भए। नेताहरूले पनि स्थानीयसँग भेटघाट गरे। उनीहरूका समस्या सुने। पार्टीका आन्तरिक विषय, सरकारको कामकारबाही र आगामी स्थानीय तहको निर्वाचनबारे धारणा राखे।
नेताहरूको यो उपस्थितिलाई सामान्य धार्मिक भ्रमणका रूपमामात्रै बुझ्न मिल्दैन। उनीहरूको राजनीतिक पृष्ठभूमि, पछिल्लो निर्वाचनको परिणाम र आगामी स्थानीय तहको निर्वाचनलाई हेर्दा छठघाटको यात्राभित्र राजनीतिक जोड-घटाउ पनि स्पष्ट देखिन्छ। तर, यसभन्दा गहिरो प्रश्न अर्को छ-नेपाली राजनीतिका फरक विचारधारा र पृष्ठभूमिका नेताहरूलाई एउटै धार्मिक पर्वले मधेससम्म किन तानिरहेको छ? के उनीहरूलाई छठप्रतिको मोहले डोर्याएको हो वा नेपाली राजनीतिमा बढ्दै गरेको हिन्दूत्वको राजनीतिक प्रभावले उनीहरुलाई त्यहाँसम्म नारेर लगेको हो?
छठघाटमा राजनीतिक हिसाबकिताब
छठ मधेसको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। सूर्यको उपासना र छठीमाईको आराधना गरिने यो पर्वमा जात, वर्ग र समुदायका विभाजन गौण हुन्छन्। व्रतालुको अनुशासन, परिवारको सहभागिता, सामूहिक सहयोग र प्रकृतिप्रतिको सम्मान यसको विशेषता हो। पछिल्लो समय छठको प्रभाव मधेसमामात्रै सीमित छैन। काठमाडौं उपत्यकालगायत विदेशमा रहेका नेपालीजनले पनि उत्तिकै उत्साहका साथ मनाउन थालेका छन्। यसले छठलाई एउटा समुदायको पर्वबाट राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा स्थापित गरिरहेको छ।
यही सांस्कृतिक विस्तारसँगै यसको राजनीतिक महत्व पनि बढेको देखिन्छ। विशेषगरी निर्वाचन नजिकिँदा मधेसका धार्मिक तथा सांस्कृतिक पर्वमा शीर्ष नेताहरूको उपस्थिति अर्थपूर्ण बन्ने गरेको छ। रविका लागि यसपटकको मधेस यात्रा विशेष राजनीतिक महत्वको थियो। जेन-जी आन्दोलनपछि प्राप्त राजनीतिक अवसरलाई निर्वाचनमा रूपान्तरण गरेको रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। अब रास्वपाको नजर स्थानीय तहको निर्वाचनमा छ।
उता, कांग्रेस सभापति गगनका लागि पनि मधेसको यात्रा कम महत्वपूर्ण थिएन। सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका डा. अमरेशकुमार सिंहसँग पराजित भएका गगनलाई मधेसमा कांग्रेसको गुमेको विरासत फर्काउनुपर्ने चुनौती छ। यसर्थ, रवि र गगनको मधेस यात्रा धार्मिक कार्यक्रममा सीमित थिएन। उनीहरू दुवैलाई मधेसको बदलिएको राजनीतिक मनोविज्ञान बुझ्नु छ। रविलाई आफ्नो नयाँ राजनीतिक आधार जोगाउनु छ भने गगनलाई पुरानो विरासत फर्काउनु छ। छठघाटमा ढकिया बोकेर हिँडेका रवि र पूजापाठमा सहभागी भएका गगनका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भए।
धर्मको बाटो हुँदै राजनीतिमा
नेताहरू धार्मिक कार्यक्रममा सहभागी हुनु आफैंमा अस्वाभाविक होइन। धर्म व्यक्तिको आस्था र सांस्कृतिक जीवनको निजी तथा सामुदायिक पक्ष हो। सार्वजनिक व्यक्तित्वले कुनै पर्वमा सहभागी हुनु धार्मिक स्वतन्त्रताको विषय पनि हो। तर, जब धार्मिक उपस्थितिलाई राजनीतिक सन्देश, चुनावी प्रचार र जनमत आकर्षित गर्ने माध्यम बनाइन्छ, त्यसले अर्को बहस जन्माउँछ। धर्म र राजनीतिबीचको सम्बन्ध कहाँसम्म स्वाभाविक हो र कहाँबाट राजनीतिक स्वार्थ सुरु हुन्छ?
नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ। संविधानको प्रस्तावना र धारा ४ ले नेपाललाई धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गरेको छ। तर, पछिल्लो समय नेपाली राजनीतिमा धार्मिक प्रतीक र हिन्दू धार्मिक अनुष्ठानको प्रयोग बढ्दै गएको देखिन्छ। नयाँ हुन् वा पुराना, वामपन्थी हुन् वा लोकतान्त्रिक, विभिन्न दलका नेताहरू धार्मिक गतिविधिमा सक्रिय देखिन थालेका छन्।
यसको एउटा उदाहरण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल हुन्। झापा विद्रोह र १० वर्षे युद्धको राजनीतिक पृष्ठभूमिबाट स्थापित यी दुवै नेताले पछिल्लो समय पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरेका छन्। धर्मलाई अफिम मान्ने माक्र्सवादी दर्शनबाट प्रभावित कम्युनिस्ट नेताहरूको धार्मिक गतिविधि आफैंमा विरोधाभासपूर्ण देखिन सक्छ। तर, राजनीतिमा विचारधाराभन्दा जनमतको गणित प्रभावशाली हुँदै जाँदा धार्मिक प्रतीकको उपयोग पनि बढिरहेको छ।
यसलाई धर्मप्रतिको व्यक्तिगत आस्था र धर्मको राजनीतिक उपयोगबीच छुट्याएर हेर्नुपर्छ। कुनै कम्युनिस्ट नेताले मन्दिरमा पूजा गर्नु उसको व्यक्तिगत स्वतन्त्रता हो। तर, त्यही धार्मिक गतिविधिलाई राजनीतिक पहिचान निर्माण गर्ने माध्यम बनाइन्छ भने त्यसको वैचारिक अर्थ फरक हुन्छ।
प्रधानमन्त्री वालेन्द्र शाहले पनि पद तथा गोपनीयताको शपथ लिनुअघि धार्मिक अनुष्ठान गराएको प्रसंगले यो बहसलाई थप बल दिएको छ। राष्ट्रपति कार्यालयमा हिन्दू र बौद्ध धर्मगुरुहरूबाट धार्मिक अनुष्ठान गराएर चैत १३ गते शपथ लिने उनको कदमलाई पनि परम्परा, आस्था र राज्यसत्ताबीचको सम्बन्धका रूपमा हेरिएको छ।
यी गतिविधिहरूले नेपाली राजनीतिमा धर्मको उपस्थिति बढिरहेको संकेत गर्छ। तर, यो परिवर्तनलाई धार्मिक पुनर्जागरणका रूपमामात्र बुझ्नु पर्याप्त हुँदैन। यसको पछाडि राजनीतिक प्रतिस्पर्धा, जनमतको मनोविज्ञान र दक्षिण एसियाली राजनीतिमा विकसित हुँदै गएको हिन्दुत्वको प्रभाव पनि जोडिएको छ।
नेपाली राजनीतिको दक्षिणपन्थी मोड
नेपाली राजनीतिमा बढ्दो धार्मिक झुकावलाई बुझ्न छिमेकी मुलुक भारतको राजनीतिक परिवर्तनलाई अलग राख्न सकिँदैन। भारतमा भारतीय जनता पार्टी (भाजपा) ले हिन्दुत्वलाई आफ्नो प्रमुख राजनीतिक एजेण्डाका रूपमा स्थापित गरेको छ। हिन्दू धार्मिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियताको अवधारणासँग जोड्दै उसले लामो समयदेखि राजनीतिक विस्तार गरेको छ।
राम मन्दिर आन्दोलनदेखि अयोध्यामा राम मन्दिर निर्माणसम्मका घटनाले भारतीय राजनीतिमा हिन्दुत्वको प्रभावलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। नरेन्द्र मोदीको नेतृत्वमा भाजपा शक्तिशाली हुँदै जाँदा हिन्दुत्व भारतीय राजनीतिको मूल बहसमा स्थापित भएको छ।
यसको प्रभाव भारतको सीमाभन्दा बाहिर पनि परेको छ। विशेषगरी नेपालजस्तो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धले भारतसँग नजिकिएको मुलुकमा यसको राजनीतिक प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध ऐतिहासिक छ। जनकपुर र अयोध्या, पशुपतिनाथ र काशी, लुम्बिनी र बोधगयाजस्ता धार्मिक तथा सांस्कृतिक सम्बन्धले दुवै देशका नागरिकलाई जोड्दै आएको छ।
तर, सांस्कृतिक निकटता र राजनीतिक विचारधाराको विस्तार एउटै कुरा होइनन्। भारतमा हिन्दुत्व राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गर्दा नेपालमा पनि हिन्दू पहिचानलाई राजनीतिक एजेण्डा बनाउने समूहसक्रिय हुँदै आईरहेका छन्। नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने माग उठ्नु, धार्मिक प्रतीकको राजनीतिक प्रयोग बढ्नु र राजनीतिक दलका नेताहरू हिन्दू गतिविधिमा देखिनु बहसका पाटाहरू हुन्।
यसको अर्थ नेपालमा देखिएका सबै धार्मिक गतिविधि भारतबाटै निर्देशित छन् भन्ने होइन। नेपाली समाजको आफ्नै धार्मिक इतिहास, सांस्कृतिक संरचना र राजनीतिक कारण छन्। तर, भारतमा विकसित हिन्दुत्वको राजनीतिक भाष्यले नेपालका राजनीतिक बहस र शक्तिहरूलाई प्रभावित पारिरहेको छ कि छैन भन्ने प्रश्न गम्भीररूपमा उठाउनुपर्ने भएको छ।
विशेषगरी निर्वाचनको मुखमा धर्मलाई मतदाताको भावनासँग जोड्ने प्रवृत्ति बढ्नु यसैको एउटा संकेत हुन सक्छ। भारतमा हिन्दुत्वले राजनीतिक सफलताको सूत्रका रूपमा स्थापित गरेको भाष्यबाट नेपालका दलहरूले पनि पाठ सिकिरहेका छन् कि भन्ने विश्लेषण हुन थालेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गत साउन २८ गते हङकङबाट स्वदेश फर्किंदा हिन्दू राष्ट्र हुनुपर्ने भनेर कार्यकर्ताका माझ बताएका थिए।
नेपाली राजनीतिमा दक्षिणपन्थी यात्राको मूल पानीढलो यहीँनेर खोज्नुपर्छ। धार्मिक आस्थालाई सम्मान गर्नु र हिन्दू पहिचानलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्नु फरक विषय हुन्। पहिलो सामाजिक तथा सांस्कृतिक स्वतन्त्रताको विषय हो भने दोस्रो राज्यको चरित्र र राजनीतिक प्रतिस्पर्धासँग जोडिएको विषय हो।
धार्मिक राजनीतिको विस्तार
नेपालको संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेको छ। तर, धर्मनिरपेक्षता संविधानमा लेखिएको शब्दमात्र होइन। यसको वास्तविक अर्थ राज्यले सबै धर्मप्रति समान व्यवहार गर्नु, नागरिकलाई धार्मिक स्वतन्त्रता दिनु र कुनै धर्मका आधारमा विभेद नगर्नु हो। नेपालको धार्मिक विविधता नै यसको सामाजिक शक्ति हो।
यहाँ हिन्दू, बौद्ध, मुस्लिम, इसाई, किरातलगायत धर्मावलम्बीहरू बसोबास गर्छन्। धार्मिक तथा सांस्कृतिक सहअस्तित्व नेपाली समाजको ऐतिहासिक विशेषता हो। यस्तो समाजमा एउटा धर्मको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रमा राख्दा अन्य समुदायको स्थान र समानताको प्रश्न उठ्न सक्छ।
मधेसकै उदाहरण हेरौं। छठ हिन्दू समुदायमा विशेष महत्व राख्ने पर्व भए पनि यसको सांस्कृतिक प्रभाव समुदायको सीमाभन्दा बाहिर फैलिएको छ। यसले सामूहिकता, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको सन्देश दिन्छ। छठघाटमा मुस्लिम धर्मालम्बीहरू पनि व्यवस्थापनमा सहयोग गरिरहेका दृश्य देखिएको थियो। विभिन्न जातजाति र धर्मावलम्बीहरू एकअर्काको पर्वमा सहभागी हुन्छन्। यही सहअस्तित्व मधेसको सामाजिक विशेषता हो।
तर, कुनै एउटा धार्मिक पर्वलाई राजनीतिक पहिचानको मूल आधार बनाउने प्रयास भयो भने यसले यही सामाजिक सद्भावमा खलल पुर्याउनसक्छ। राजनीतिक दलहरूको प्राथमिकता नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सामाजिक न्याय हुनुपर्ने हो। तर, जनताको आधारभूत आवश्यकताभन्दा धार्मिक भावनालाई राजनीतिक रोटी सेक्नका लागि उपयोग गर्न थालियो भने लोकतन्त्रको बहस नै कमजोर हुन सक्छ।
बदलिँदो राजनीतिक समीकरण
मधेस नेपाली राजनीतिमा सधैँ निर्णायक रहँदै आएको छ। प्रतिनिधिसभा निर्वाचनदेखि स्थानीय तहसम्म मधेसको जनमतले राष्ट्रिय राजनीतिको दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ। मधेस भोट बैंंकको रूपमा स्थापित छ। यहाँको जनमत परम्परागत रूपमा कांग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दलहरूबीच प्रतिस्पर्धा थियो। तर, पछिल्लो निर्वाचनले यो समीकरणको स्वरूप बदलिदिएको छ। रास्वपाको उदयले मधेसमा नयाँ राजनीतिक शक्ति जन्मिएको छ। यसले कांग्रेसलगायत पुराना राजनीतिक दललाई आफ्नो संगठन र जनाधार पुनर्निर्माण गर्न दबाब दिएको छ। रास्वपा पनि प्राप्त जनमतलाई स्थानीय तहको निर्वाचनमा कायम राख्न चाहन्छ।
सरकारको सात महिने कार्यकालमा उठेका सुकुमबासी समस्या, भोटेकोशी बाढीपछिको व्यवस्थापन, प्रहरी नेतृत्वसम्बन्धी विवाद, इनम सापकोटासँग जोडिएको घटना र आत्मदाह प्रकरणलगायतका विविध विषयले सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ। सरकारप्रतिको असन्तुष्टिलाई राजनीतिक अवसरका रूपमा उपयोग गर्दै पुराना राजनीतिक दलले आफ्नो गुमेको जनमत फर्काउने प्रयास गरिरहेका छन्। तर, सरकारप्रतिको असन्तुष्टि स्वतः पुराना दलको पक्षमा मतमा परिणत हुन्छ भन्ने छैन। मधेसका मतदाताले पुराना दलको कार्यशैली पनि नजिकबाट देखेका छन्।
त्यसैले उनीहरूलाई फेरि विश्वासमा लिन पुराना दलका लागि सहज छैन। यही अवस्थामा नयाँ र पुराना दलले मधेसमा आफ्नो उपस्थिति बलियो बनाउन खोजिरहेका छन्। छठजस्तो व्यापक जनसहभागिता हुने पर्व उनीहरूका लागि जनतासँग प्रत्यक्ष जोडिने अवसर बनेको छ।
तर, आगामी निर्वाचनमा मधेसका जनताले धार्मिक उपस्थिति र भावनात्मक भाषणका आधारमा मात्र मत दिनेछन् भन्ने छैन। त्यो सोचे भ्रम हुनेछ। उनीहरूलाई रोजगारी चाहिएको छ। किसानलाई कृषि उपजको उचित भाउ चाहिएको छ। युवालाई स्वदेशमै रोजगार चाहिएको छ। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सिँचाइको समस्या समाधान चाहिएको छ।
मधेसका जनताको वास्तविक अपेक्षा यिनै हुन्। त्यसैले छठघाटमा अघ्र्य दिने नेताहरूले जनताको मन जित्न चाहन्छन् भने उनीहरूले घाटबाट बाहिर निस्किएपछि पनि जनताका समस्यालाई उत्तिकै प्राथमिकता दिनुपर्ने छ।
छठमा देखिएको राजनीतिक छाया
छठ पर्वको सबैभन्दा सुन्दर पक्ष यसको सामूहिकता हो। व्रतालुहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा विगतका दुःख, पीडा र संघर्षलाई सम्झिन्छन्। भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिँदा नयाँ आशा र जीवनको कामना गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने यो परम्पराले जीवनको निरन्तरता र परिवर्तनको सन्देश दिन्छ। सम्भवतः यही कारण छठ मधेसको जनजीवनसँग यति गहिरो गरी जोडिएको छ।
तर, यसपटक छठघाटमा देखिएको राजनीतिक दृश्यले अर्को सन्देश पनि दिएको छ। नेपाली राजनीति नयाँ शक्ति, पुराना दल, वामपन्थी र लोकतान्त्रिक धारको प्रतिस्पर्धाबाट मात्रै निर्देशित छैन। धर्म र सांस्कृतिक पहिचान पनि राजनीतिको प्रभावशाली विषय बन्दै गएका छन्। रवि, गगन, डोलप्रसाद र कुलमानको मधेस यात्रालाई धार्मिक आस्थाको यात्राका रूपमा मात्र व्याख्या गर्न सकिँदैन। उनीहरूको उपस्थितिमा चुनावी रणनीति र जनमतको खोजी स्पष्ट देखिन्छ। त्यससँगै हिन्दू धार्मिक प्रतीकलाई राजनीतिक संवादको केन्द्रमा ल्याउने व्यापक प्रवृत्तिको संकेत पनि भेटिन्छ।
नेताहरूले छठीमाईसँग आशीर्वाद माग्नु स्वाभाविक हो। तर, त्यो आस्थालाई राजनीतिक लाभको माध्यम बनाउने होडले नेपाली राजनीतिलाई कतातिर लैजाँदै छ भन्ने प्रश्न महत्वपूर्ण छ। नेपालको दक्षिणपन्थी यात्रा कुनै एक नेताको धार्मिक पूजाबाट सुरु भएको होइन। यो लामो समयदेखि विकसित हुँदै आएको राजनीतिक प्रवृत्ति हो। भारतमा हिन्दुत्वको राजनीतिक उदय, नेपालमा हिन्दू राष्ट्रको बहस, राजनीतिक दलहरूको धार्मिक झुकाव र निर्वाचनमा धार्मिक प्रतीकको प्रयोग यसका फरक-फरक आयाम हुन्।
छठघाटमा नेताहरूले अघ्र्य दिँदा सूर्यको प्रकाश सबैका लागि समान थियो। सूर्यले कसैलाई जात, धर्म र राजनीतिक विचारका आधारमा छुट्याउँदैन। छठको यही मूल सन्देशलाई राजनीतिक दलहरूले पनि आत्मसात् गर्न सके भनेमात्रै धार्मिक आस्था सामाजिक सद्भावको आधार बन्न सक्छ। नत्र, जनताको आस्थालाई मतमा रूपान्तरण गर्ने प्रतिस्पर्धाले धर्मलाई राजनीतिमा र राजनीतिलाई धार्मिक ध्रुवीकरणमा बदल्न सक्छ।