बालअधिकारका मूल्य मान्यताका विश्वव्यापी प्रचलनको कुन हदसम्म बालबालिकाले उपयोग गर्न सके र राज्य सञ्चाालकले वालबालिकाको नैसर्गिक अधिकारको संरक्षण र प्रवर्द्धनका दिशामा के कति काम भए समीक्षाको पाटो र बहसको विषय रहला। संविधानको मौलिक हकका रुपमा बालअधिकारलाई आधारभूत अधिकारका रुपमा प्रत्याभूति दिएको छ।
बालअधिकारका सवाललाई बालअधिकारसम्बन्धी ऐन, नियमावली लगायतमा बग्रेल्ती व्यवस्था भएका छन्। तर पनि बालअधिकार र बालबालिकाका हित सम्वर्द्धनमा धेरै कार्य अपुग छन्। बालअधिकारका सन्दर्भमा बालअधिकारका आयामिक पाटालाई साझा सरोकारको सवाल र मुद्दाका रुपमा लिएर सम्बोधन हुनसकेको खण्डमा हाम्रा विगतका प्रयासले सार्थकता पाउन सक्लान्।
बालअधिकारका सवालमा सधैँ बहस पैरवी र यसको संरक्षण प्रवर्द्धनका दिशामा विभिन्न कोण प्रतिकोणबाट आवाज मुखरित भएका छन्। सन् १९४८ मा संयुक्त राष्ट्रसंघको प्रयासमा बालअधिकारसम्बन्धी १० बुँदे घोषणपत्र तयार गरी विश्वव्यापीरुपमा प्रचारप्रसार गरियो। बालअधिकारको ड्राफ्ट तयारी र लामो समयान्तरको संस्थागत प्रयासपश्चात् सन् १९८९ को नोभेम्बर २० तारेखका दिन विधिवत्रुपमा संयुक्त राष्ट्रसंघले राष्ट्रसंघीय महासभाबाट बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भयो।
पछिल्लो वर्ष सन् १९९० सेप्टेम्बरदेखि बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनमा आयो। साथै, नेपालले पनि यस महासन्धिमा पक्षधर राष्ट्रको हैसियतले हस्ताक्षर गरेपश्चात् नेपालमा पनि विधिवत्रुपमा कार्यान्वयनमा आयो। सन् १९२३ मा बेलायती बालअधिकारका अग्रज अभियन्ता इंग्लिस्टन जेबको पहलमा विश्वमा बालअधिकारको आवाजले सार्वजनिक सरोकारको मुद्दाका रुपमा विश्वमञ्चको ध्यान आकर्षित गर्यो। तत्पश्चात् बालधिकारको बहसलाई विश्वका विभिन्न मुलुक तथा संस्थागतरुपमा उठानका प्रयासले निरन्तरता पायो।

बालअधिकारको कार्यान्वयनको प्रत्याभूतिका लागि हाम्रा विद्यमान कानुन तथा ऐन नियमलाई समयसापेक्ष कार्यान्वयन गर्ने, बालबालिकाका हितलाई प्रत्याभूति दिलाउने दिशामा उपयोग गरिनुपर्दछ। मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणपत्र-१९४८ को धारा २६ मा शिक्षा पाउने अधिकार सबैलाई छ भन्ने उल्लेख भएअनुसार हाम्रो सरकारको नैतिक र कानुनी दायित्वभित्र यसको अक्षरशः पालना र प्रतिबद्धताका साथ लागू गर्न नेपाल सरकार दृढताका साथ उभिनुपर्छ। नागरिक र राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि १९६६ मा ‘प्रत्येक व्यक्तिले शिक्षा आर्जन गर्न पाउनुपर्छ’ भन्ने उल्लेख छ। नेपाल सरकारले सन् १९९१ मे १४ मा यस अभिसन्धिमा विधिवत् हस्ताक्षर गरेपश्चात् कार्यान्वयन तहमा ल्याउनु नेपाल सरकारको वैधानिक दायित्वभित्र पर्ने विषय हो।
अन्तर्राष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा बालअधिकारको न्यूनतम् मापदण्डलाई गाउँबस्ती तथा दुरदराजका बालबालिकाको घर आँगन करेसासम्म विचरण गर्ने वातावरण बनाउनुपर्दछ। न्यायपूर्ण, समावेशी, सहभागितामूलक र समन्यायिक प्रणाली लोकतन्त्रको मियो हो। सामाजिक संस्थाले कार्यक्रममा साथ र राजनीतिक दलले बालअधिकार र बालहितका सवालमा आफ्ना दलका नीति तथा कार्यक्रमिक जनपरिचालनमा कुनै न कुनै रुपमा कार्यक्रम उल्लेख गरेर झारो टार्ने कर्मकाण्ड गर्दैै आएका छन्। बालकल्याण र बालअधिकारको कार्यान्वयनका दिशामा प्रतिबद्धता पनि आएकै छन्। संकल्प, प्रतिबद्धता वा घोषणपत्रमा उल्लिखित सोच, नीति र कार्यक्रमलाई ठोस मानेमा दृढताका साथ काम गराइको बानीमा रुपान्तरण गर्नुछ।
बालबालिकाको नैसर्गिक अधिकारको प्रत्याभूति तथा बालअधिकारको कार्यान्वयनका दिशामा सरकारी तथा सरोकारवाला निकायहरुको जुन मानेमा सदासयता र तत्परता देखाउनुपर्ने थियो त्यसको गुञ्जायसको गहनतालाई मनन गरिएको पाइँदैन। बालअधिकारको हननमा कुनै न कुनै रुपमा हाम्रो परम्परा तथा कार्यशैली जिम्मेवार रहेको छ। बाल श्रमिकका रुपमा सयौंं बालबालिकाहरु जोखिमपूर्ण र निकृष्ट कार्य गर्न बाध्य छन्। घरेलु श्रमिकका रुपमा आश्रित बालबालिकाको संख्या पनि हाम्रो समाजमा बग्रेल्ती छ।
उद्योग तथा कलकारखानामा सयौंका संख्यामा कलिला बालबालिकाहरु निकृष्ट र निकै जोखिमपूर्ण कार्य गर्न बाध्य पारिएको अवस्थामा यस्ता बालबालिकाहरुको उद्धार तथा शिक्षादिक्षा र उचित जीवनयापनको वातावरण बनाउने दिशामा सहरबजारमा केन्द्रित बग्रेल्ती गैरसरकारी संस्थाहरुको ध्यान कहिले पुग्ने हो कुन्नि ? बालउपयोगी कार्यक्रम अनि विकास र अवसरको खोजी र उचित मार्गदर्शनको प्रतीक्षा छ। हामीले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा एक पक्षधर राष्ट्रका हैसियतले अनुमोदन गरेपश्चात् त्यसको दायित्वबोधको अपनत्व लिएका छौं।
नेपालको संविधान, २०७२ मा बालअधिकारलाई समेटिएका मौलिक हकका प्रावधान रहेका छन्। जसको अक्षरशः पालनाका दिशामा व्यावहारिक दायित्वबोधका साथ सरकारले जुनरुपमा चासो लिएको छ त्यसमा अझ प्रभावकारिता ल्याउने दिशामा काम हुन सकिरहेको छैन। संविधानको भाग ३ को धारा ३९ का उपधारा १-९ सम्ममा बाल हकका बहुआयामिक पाटालाई समावेश गरिए पनि सरोकारवाला निकायले हक कार्यान्वयनमा प्रतिबद्धताका साथ काम गरिनुपर्दछ। बालअधिकारको उल्लंघनमा दण्ड सजायको पेचिलो कार्यान्वयन बाल हकको प्रत्याभूतिको सोपान रहला।
पछिल्ला घटनाक्रमको सतही विश्लेषण गरिएको खण्डमा नेपालका विभिन्न क्षेत्रमा बालबालिकाको अपहरण, दुव्र्यवहारका घटनाहरु बढ्दो क्रममा छ। यस्ता अमानवीय तथा कुत्सित कार्यको निन्दा र भत्र्सना समाजलाई सचेत गराउने पाटो रहला। तर यस्ता जघन्य अपराधलाई निर्मूल गर्ने दिशामा अपराध मनोविज्ञान तथा सामाजिक संरचनाका विविध पाटामा गम्भीर खोजी तथा अनुसन्धानले महŒव राख्छ। आपराधिक घटनाले हाम्रो समाज आजित र त्रसित छ। आमजनताले राज्यको दरिलो उपस्थिति र न्यायको खोजी गरिरहेको छ। बालबालिकाहरु हराउने क्रम निरन्तर रहनु सामाजिक विडम्बना हो, जसको समाधानमा सामाजिक दायित्वबोध अपरिहार्य छ। तुलनात्मकरुपमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका बालबालिकाहरु हराउने गरेको तथ्यांकले पुष्टि गरेको छ।
बालबालिका खोजतलास तथा उद्धारका लागि बालबालिका खोजतलास समन्वय केन्द्र, बाल संरक्षण समितिलगायतका निकायले निरन्तर प्रयास गर्दै आए पनि आशातीत सफलता पाउन नसकिएको यथार्थता छर्लंग छ। बालश्रमिकका रुपमा बालबालिकाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग अर्को चुनौतीपूर्ण रहेको छ। कारखाना तथा औद्योगिक क्षेत्रलगायतका क्षेत्रमा निकृष्ट तथा अति जोखिमपूर्ण काममा अझै पनि सयौं बालबालिकाहरु प्रयोग भइआएको सन्दर्भमा बालश्रम निषेधसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको छ।
बालबालिकाका हित र विकासका सवालमा मौलिक हक तथा निर्देशक सिद्धान्तमासमेत संवैधानिक प्रतिबद्धता भएको पाइन्छ। प्रत्येक बालबालिकालाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक रहने छ। त्यस्तै प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषणविरुद्धको हक हुने छ। शोषणजन्य कार्य कानुनद्वारा दण्डनीय रहने छ र त्यस्तो व्यवहार गरिएको व्यक्तिलाई कानुनले निर्धारण गरेबमोजिम क्षतिपूर्ति दिइने छ।
यसैगरी संविधानमा स्पष्टरुपमा असहाय, अनाथ, सुस्त मनस्थिति, द्वन्द्वपीडित, विस्थापित एवंंं जोखिममा परेका सडक बालबालिकलाई सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष सुविधा पाउने हक हुने छ भन्ने व्यवस्था छ। कार्यान्वयनपक्षलाई अझ दरिलो र परिणाममुखी समयसापेक्ष छ।
प्रत्यक्ष र परोक्षरुपमा बालबालिकाको हक अधिकारको उल्लंघनका घटना सामान्यतः हाम्रै सामाजिक परिवेशका क्षेत्रमा बढी पाइएका छन्। बालअधिकारको संरक्षण, बालमैत्री शासन र शैक्षिक वातावरण निर्माणमा सरोकारवाला निकाय गम्भीर हुनुपर्दछ। बालअधिकार सार्वजनिक प्रतिबद्धता र कार्यान्वयनको वातावरणसहित बालअधिकार सुनिश्चित होस्।