भारत भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएपछि फेरि एकपटक राजनीतिक वृत्तमा उपलब्धिको चर्चा चुलिएको छ। भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने समझदारी, ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणको सहमतिलाई लिएर सामाजिक सञ्जालदेखि चिया पसलसम्म प्रशंसाका ताली बजिरहेका छन्। कसैले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन्, कसैले बालेनको कूटनीतिक सफलताको संज्ञा दिएका छन्। तर मट्याङ्ग्रोलाई भने एउटा प्रश्नले सताइरहेको छ- आखिर भैरहवा-लखनउ हवाई मार्गमा जहाज कहिलेदेखि उड्छ? अनुदान र ऋणको रकम कहिले, कुन परियोजनामा र कसरी खर्च हुन्छ?
नयाँ प्रधानमन्त्री भारत गएर केही न केही उपलब्धि लिएर फर्किनु सकारात्मक कुरा हो। छिमेकीसँग सम्बन्ध राम्रो हुनुपर्छ। भारतसँगको आर्थिक, व्यापारिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध नेपालको विकासका लागि महत्वपूर्ण छ। तर सम्झौता हुनु र त्यसको कार्यान्वयन हुनु फरक कुरा हुन् भत्रे सामान्य ज्ञान हामीले अझै सिक्न सकेका छैनौं। हरेक प्रधानमन्त्रीको भारत भ्रमणपछि उपलब्धिको सूची सार्वजनिक हुन्छ, केही दिन चर्चा हुन्छ, ताली बज्छ, अनि विस्तारै ती उपलब्धि सरकारी फाइलको कुनै दराजमा थन्किन्छन्।
मट्याङ्ग्रोले यसपालि पनि चन्दे्रलाई यही कुरा सम्झाउन खोजिरहेको छ। विगतका प्रधानमन्त्रीहरूको भारत भ्रमण सम्झँदा कहिले मुर्रा राँगोको चर्चा आयो, कहिले रेल, कहिले पाइपलाइन, कहिले विद्युत् व्यापार र कहिले जलविद्युत् आयोजनाको। भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्रीहरूले देशले ठूलो उपलब्धि हासिल गरेको घोषणा गरे। तर ती घोषणाको कार्यान्वयन र जनताले पाएको प्रतत्क्ष लाभको हिसाब खोज्ने परिपाटी भने कहिल्यै बलियो बनेन।
प्रचण्डको भारत भ्रमणका बेला भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो उपलब्ध गराउने विषयले निकै चर्चा पाएको थियो। प्रधानमन्त्रीको भ्रमणको उपलब्धि मुर्रा राँगो भनेर सामाजिक सञ्जालमा बाढी नै आयो। वास्तवमा उत्रत नश्लका राँगो पशुपालन क्षेत्रका लागि उपयोगी हुन सक्छन्। तर प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणबाट देशले खोज्ने उपलब्धि त्यत्तिमै सीमित हुनु हुँदैन भत्रे प्रश्न उठेको थियो। त्यतिबेला मुर्रा राँगोको चर्चा भयो, अहिले भैरहवा-लखनउ हवाई मार्गको चर्चा भइरहेको छ। फरक यति हो, त्यतिबेला राँगोको प्रतीक्षा थियो, अहिले जहाजको प्रतीक्षा छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भएको भैरहवा-लखनउ हवाई मार्गसम्बन्धी समझदारी निश्चय पनि महत्वपूर्ण छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा त्यसको उपयोगितामाथि प्रश्न उठ्दै आएको छ। करोडौं रुपैयाँ लगानी भएको विमानस्थलले अपेक्षित व्यावसायिक गति लिन सकेको छैन। लुम्बिनी आउने विदेशी पर्यटकले सहज हवाई पहुँच पाउन सकेका छैनन्। भैरहवा, बुटवल र आसपासका पर्यटन व्यवसायी तथा उद्योगीले अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा गरिरहेका छन्।
यस्तो अवस्थामा भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भयो भने त्यसले पश्चिम नेपालको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न सक्छ। तर यहाँ पनि मट्याङ्ग्रोेको प्रश्न उही छ, जहाज कहिले उड्छ? हवाई मार्गको प्राविधिक प्रक्रिया टुंग्याउनुपर्ने छ। सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने छ। उडान गर्ने विमान कम्पनीले व्यावसायिक सम्भावना हेर्नुपर्ने छ। यी सबै काम सम्पत्र नभएसम्म हवाई मार्गको सहमति कागजमै सीमित रहने छ। विमानस्थल बनाउने बेला पनि ठूलै तामझाम गरिएको थियो। अन्तर्राष्ट्रिय उडानको सपना देखाइएको थियो। अहिले फेरि हवाई मार्गको सहमति भएको छ। यसपालि कम्तीमा उडानको मिति सार्वजनिक होस्। नत्र भैरहवाका जनताले विमानस्थल हेरेर जहाजको कल्पना गर्नेबाहेक अर्को काम पाउने छैनन्।
अर्कोतर्फ भारतले दिने भनिएको ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ ऋणको विषयलाई पनि एउटै उपलब्धिको डालोमा राखेर ताली बजाउनु उचित हुँदैन। अनुदान भनेको फिर्ता गर्नु नपर्ने रकम हो भने ऋण भनेको भविष्यमा तिर्नुपर्ने दायित्व हो। दुई खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा भएको भन्दै उत्सव मनाउनुअघि त्यसको प्रकृति, सर्त, ब्याजदर, भुक्तानी अवधि र लगानी हुने परियोजनाबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्छ।
हामीकहाँ ऋण लिएर आयोजना बनाउने तर आयोजना समयमै सम्पन्न गर्न नसक्ने पुरानो समस्या छ। कतिपय आयोजना वर्षौंसम्म अधुरै रहन्छन्। लागत बढ्छ, निर्माण अवधि लम्बिन्छ र अन्ततः राज्यले ऋणको भार बोकिरहनुपर्छ। यस्तो अवस्थामा ऋणको रकम ठूलो हुनुमात्रै उपलब्धि होइन। त्यसबाट निर्माण हुने आयोजना कति उत्पादनशील छन्, कति रोजगारी सिर्जना गर्छन् र मुलुकको अर्थतन्त्रमा कति योगदान पु¥याउँछन् भन्ने कुरा महत्वपूर्ण हो। मट्याङ्ग्रोलाई चन्द्रेले बारम्बार भन्ने गरेको एउटा कुरा याद आउँछ, प्रधानमन्त्रीले पैसा ल्याएपछि ताली बजाउनुपर्छ। तर मट्याङ्ग्रोेको तर्क अलि फरक छ। अनुदान ल्याए धन्यवाद दिनुपर्छ, ऋण ल्याए त्यसको हिसाब माग्नुपर्छ। किनकि अनुदानको रकम खर्च गर्दा पनि जवाफदेहिता चाहिन्छ, ऋणको रकम खर्च गर्दा त झन् दोब्बर जिम्मेवारी चाहिन्छ।
भारतसँग नेपालको सम्झौताको इतिहास लामो छ। हुलाकी राजमार्ग, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन, विद्युत् प्रसारणलाइन, रेलमार्ग, जलविद्युत् आयोजना र पारवहन सुविधासम्बन्धी सम्झौताहरू भएका छन्। कतिपय आयोजना सम्पन्न भएका छन्, कतिपय सञ्चालनमा छन् र कतिपय अझै कार्यान्वयनको प्रतीक्षामा छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको चर्चा दशकौंदेखि भइरहेको छ। जलस्रोतको उपयोग, विद्युत् व्यापार र सीमा पूर्वाधारका विषयमा पनि अनेकौं सहमति भएका छन्। तर हरेक नयाँ प्रधानमन्त्रीको भारत भ्रमणले पुराना सम्झौताको कार्यान्वयन अवस्थाबारे प्रश्न उठाउनुपर्ने आवश्यकता देखिन्छ।
यसपालिको भ्रमणमा पनि कृषि औद्योगिक पार्क, शिक्षा, स्वास्थ्य, पशुपन्छी, सञ्चार र पूर्वाधारलगायतका क्षेत्रमा सहकार्यका विषय आएका छन्। चितवनमा कृषि औद्योगिक पार्क बनाउने कुरा किसानका लागि महत्वपूर्ण हुन सक्छ। तर नेपालका किसानले उत्पादन गरेको कृषि उपजको बजार सुनिश्चित नभएसम्म औद्योगिक पार्कको भवनलेमात्रै कृषि क्षेत्रको समस्या समाधान गर्दैन। किसानले मल पाएका छैनन्, सिँचाइको सुविधा छैन, उत्पादनको उचित मूल्य पाएका छैनन्। बजार नपाएर तरकारी सडकमा फाल्नुपर्ने अवस्था छ। यस्तो बेला कृषि औद्योगिक पार्कको घोषणामात्रै होइन, त्यसले किसानको आम्दानी कसरी बढाउँछ भन्ने स्पष्ट योजना चाहिन्छ।
नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई केवल कूटनीतिक औपचारिकताका रूपमा हेर्न मिल्दैन। भारत नेपालको सबैभन्दा नजिकको छिमेकी र प्रमुख व्यापारिक साझेदार हो। त्यसैले दुई देशबीचका सहमति नेपालको राष्ट्रिय हित, आर्थिक स्वाधीनता र दीर्घकालीन विकाससँग जोडिनुपर्छ। प्रधानमन्त्री बालेनको भ्रमणमा भएका समझदारीलाई पनि यही डोकोमा राखेर मूल्यांकन गर्नुपर्दछ। नयाँ पुस्ताले पुरानो राजनीतिक शैली बदल्ने अपेक्षा गरेको छ। त्यसैले भ्रमणको उपलब्धि प्रचारमा होइन, परिणाममा देखिनुपर्छ।
अब सरकारले गर्नुपर्ने काम स्पष्ट छन्। भैरहवा-लखनउ हवाई मार्गको प्राविधिक प्रक्रिया तत्काल टुंग्याएर उडान सुरु हुने मिति सार्वजनिक गर्नुपर्छ। अनुदान र ऋणको छुट्टाछुट्टै परियोजना विवरण सार्वजनिक गर्नुपर्छ। विगतका भारतसँग भएका सम्झौताको कार्यान्वयन अवस्था जनतासामु ल्याउनु पर्दछ। नयाँ सम्झौताका लागि जिम्मेवार निकाय र समयसीमा तोक्नुपर्छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमणको उपलब्धि सार्वजनिक गरेपछि सम्बन्धित मन्त्रालयले त्यसको प्रगति विवरण पनि सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्छ।
मट्याङ्ग्रोको चिन्ता प्रधानमन्त्री भारत गएकोमा होइन, प्रधानमन्त्री फर्किएपछि उपलब्धिको चर्चा सेलाउने र कामको परिणाम नदेखिने पुरानै प्रवृत्तिमा हो। यसपालि पनि बालेनको भ्रमणलाई लिएर ताली बजिरहेको छ। त्यो ताली केही दिनपछि रोकिने छ। तर भैरहवाको विमानस्थलमा जहाज नउडेपछि त्यहाँँका व्यवसायीको निराशा फेरि सुरु हुने छ। ऋणको रकम खर्च भएर आयोजना अधुरै रहेपछि त्यसको भार नेपाली जनताले नै बोक्नुपर्ने छ।
प्रधानमन्त्रीको भ्रमण सफल भएको प्रमाण भाषण, फोटो र संयुक्त वक्तव्य होइन। भैरहवाबाट नियमित जहाज उड्नु, किसानले बजार पाउनु, उद्योगमा उत्पादन बढ्नु र जनताले रोजगारी पाउनु हो। भारतबाट सम्झौताको पोको बोकेर फर्किनु ठूलो कुरा होइन, त्यसलाई कार्यान्वयन गरेर जनताको जीवनमा परिवर्तन ल्याउनु ठूलो कुरा हो। त्यही भएर पनि मट्याङ्ग्रोले चन्दे्रलाई सम्झाउने एउटै उखान हो, ल्हासामा सुन छ, कान बुच्चै! भारतसँग सम्झौताको सुनको थुप्रो लागेको छ, अनुदान र ऋणको हिसाब पनि ठूलो छ, तर त्यसको लाभ नेपाली जनताको हातमा कहिले पर्छ? हवाई मार्गमा जहाज कहिले उड्छ? यसको जवाफ नआएसम्म ताली बजाएर मात्रै देशको कानमा विकासको सुन लगाउन सकिँदैन।