आजकल गुइँठेलाई भ्याइनभ्याइ छ । कहिले कता पुग्ने कहिले कता पुग्ने ! सबैको आँगनमा पुगेरै भए पनि आफ्नो स्वार्थ त पूरा गर्नु नै पर्ने छ । समय बदलियो तर गुइँठे बदलिएन । गुइँठेले केटाकेटीमा श्री स्वस्थानीको व्रतकथा पढेकैले होला । लावण्य देशमा नवराजलाई हात्तीले माला लगाइदिएरै राजा भएको हो । कसको भाग्यमा के लेख्या छ के था ?
गुइँठे त्यही भएर अहिले गाउँ-गाउँ छिरेको छ । कहिले कृष्ण बनेको छ, कहिले गिरिधर बनेर । गुइँठेको रुप अनेक भएका छन् । भाका फेरिएको छ । गुइँठेको दुवै हातमा लड्डु छ । उसले सोचिरहेको छ, यो लड्डु सधैं मेरो हातमा नै भई नै रहन्छ । तर त्यस्तो कहाँ हो र ? मौका हिरा फोरेन भने हिरा ढुंगामा नै परिणत पनि हुन सक्छ । गुइँठेलाई अहिले गाउँका सबैले राम्रै मानेका छन् । पिपलबोटको चौतारीमा पुग्दा होस् कि हरिहरफाँटमा पुग्दा होस् । टारतिर पुग्दा पनि उस्तै छ ।
उबेला हात्तीले माला लगाइदिएको भए पनि अहिले स्वार्थ बोकेका मानवहरुले गुइँठेलाई माला लगाइदिएका छन् । मन लागे लगाउँछ । मन नलागेका बारीको पाटामा पुग्नेगरी फालिदिन्छ । गुइँठेलाई दायाँबायाँ छरछिमेकीले घेरेकै छन् । हुन त गुइँठे केटाकेटीदेखि नै ग्याङ लिएर हिँड्ने । वल्लो टोल र पल्लो टोलमा कुस्ती खेल्नु परे पनि अरुलाई अघि सार्ने अनि जसजति सबै आफैं लिने । कोइलीको फूल चोर्ने कागजस्तै । अहिले पनि बानी कहाँ फेरिएको छ र ! नानीदेखि लागेको बानी ।
त्यही भएर पनि गुइँठेका बाले भन्ने गर्दथे । कहिल्यै नसुध्रने भो । कहिले कसको बाख्रा चोर्ने, कहिले कसको काँक्रा चोर्ने । चोर्न पनि अरुलाई लगाएर त्यसको फाइदाजति सबै आफैंले खाने । चोट पाउने अरु, भोज गर्ने गुइँठे । गाउँका नाइके छान्ने तयारी भएकाले ऊ गाउँ-गाउँ घुमिराको छ । गुइँठेका अघि-पछि वल्लो टोलदेखि पल्लो टोलसम्मका केटाकेटी जम्मा भएका छन् । गुइँठेको जयजयकार मनाइरहेका छन् । किनकि, सबैलाई थाहा छ, उसलाई यस्तै गणेश प्रवृत्तिका मान्छेहरु नै मनपर्छ । अरुको कुरा त सुन्नै नचाहने ।
घरकै बाउको कुरा त नसुन्ने गुइँठे अरुको कुरा सुन्ला अनि मान्ला भन्ने त सपना पनि नदेखे हुन्छ अरुले । बरु ती सबैको सपना गुइँठेले देखिसकेको छ । चोरको बाउ चण्डाल पो छ त ! उसलाई मन पर्ने भनेकै बाहिर बोक्रो भित्र खोक्रो हो । भित्र जेसुकै होस्, बाहिर चिटिक्कै चाहिने । नाम पो हजुरबाउले गुइँठे राखिदिएका हुन् त । त्यो पनि खासै नबोल्ने । बोल्न नजान्ने भएर । हजुरबाउले भनेका थिए अरे- ‘कि त गरिखानु, कि त मरिजानु !’
त्यही भएर होला निकै इख लिएर बस्ने हो, भित्रभित्रै सिध्याउने गर्छ यो गुइँठेले । के गर्छ नै थाहा हुँदैन । त्यसै हजुरबाउले गुइँठे नाम राखेका हो र ? केटाकेटीदेखि नै बदमासी जानेको केटो हो । संगत पनि उस्तैउस्तैसँग गर्ने । खेतमा लाको कुलै भत्काइदिने । गोठमा बाँधेको वस्तुभाउ नै फुकाइदिने ! फल दिने बेलाको रुखको हाँगा नै भाँचेर स्वाहा बनाइदिने ! फसल दिने बेलाको धानबारीमा केटाहरुलाई चंगा चेट भन्दै आफू चंगा उडाउने उनीहरुलाई खेतमा कुदाउने । यसको कुरै छाडौं ।
त्यत्तिमात्र कहाँ हो र भन्या, घराँ बाउले गाली गरे भनेर काकाको बारीमा परालको कुन्युमा डढेलो लगाइदिनेसम्मको हर्कत गर्ने । ओहो ! यसको बदमासीको त कुरै नगरौं । ‘संगत गुनाको फल’ भन्छन् नि- पार्टी पौवामा बसेर शिवबुटी तान्ने, हरियो पर्दा राखेको मिठाइ पसलमा गएर बाहिर पिठो, भित्र मिठो भन्दै चामल र कोदोको जुस हान्ने । त्यस्तो गुइँठेको पछि अरु को लाग्छन् ? विचार गरे भैगो !
अहिले गाउँभर उसकै हल्ला, गुइँठेकै स्यानाब्यानाबाहेक अरुको हुँदै हुँदैन सल्ला । आफूले गरेका सबै ठीक अरुले गरेको सबै बेठिक । चौतारामा बसेका ठूला बा हुन् कि, डुडेखेतमा घाँस काटिरहेकी लाटी आफैं हुन् । उसलाई केही मतलव नै छैन । आफू खुसी भएन भने केही न केही उपद्रो गरिहाल्ने । त्यही पनि आफ्नै बुद्धिले भएता ठिकै हुन्थ्यो नि ! अर्काले बुद्धिले कति दिन हिँड्नु ?
घरबार, परिवार आफन्त, इष्टमित्र केही मतलव नै नभएको । मै हुनुपर्छ, मैले भनेको नै ठीक हुन्छ । मैले भनेको जस्तै गर्नुपर्छ । भए हुन्छ नभए हुँदैन भन्ने ढिपी कस्ने ! मेरो गोरुको बाह्रै टक्का भनेजस्तो ।
गाउँमा सबैले मन पराए पनि के-के कुरामा मन पराउने भन्ने पनि त होला नि ! बजिया, गुइँठेलाई सबै कुरामा मन पराइदिनुपर्ने अरे । त्यस्तो पनि हुन्छ ? काकाको कुन्युमा डढेलो लगाइदियो ! फूपूको गोठको गाईको दाम्लै फुकाएर भगाइदियो ! अन्तरे काइँलाको छोरालाई भिरबाटै घचेडीदियो ! यस्तो त गाउँमा कति ग¥यो ग¥यो । अब अहिले उसैलाई मुली बनाउनपर्ने रे ?
त्यो पनि कोसँग भन्दा थरीबाजेको भकारीमा भाको सबै धान चोर्नेसँग । अलि सुहाएन कि ? गुइँठेका सपना पनि कति-कति ? सपना देख्नु त पर्छ । तर त्यसका लागि आफूले पनि त गर्नुप¥यो नि सत्कर्म ! कुकर्म गरेर धर्म कमाउन सकिनँ भन्न कहाँ पाइन्छ र !
सपना त चन्द्रमा छुने नै देख्ने हो । तर त्यहाँ जान पनि त बाटो सही रोज्नुपर्ला, सबै थाहा पाउनुपर्ला । गाउँले गुइँठेको अनुहार हेरेर पो मन पराएका हुन् त, बानी व्यवहार हे¥यो भने त उही हो ! छिमेकीले उचालेको भरमा बुर्लक्क बुर्लक्क बाउआमालाई समेत नटेरी घरबाट हिँड्यो भने के हुन्छ ? सपना सपनामा मात्रै सीमित हुन्छ । विपनामा पूरा गर्न त आनीबानी सबै सुधार्नु पो पर्छ त !
बानी सुधार्नु छैन । अरुले उक्साको भरमा दौडिएको छ । आफ्नै घराँ डढेलो लगाएको छ अनि सपनाचाहिँ मुली बन्ने देख्या छ । तेरिमा गुइँठे !