नेपालमा अहिले शासकीय स्वरूप परिवर्तन मुख्य आवश्यकता बनेको छ । शासकीय स्वरुप परिवर्तन र भ्रष्टाचार नियन्त्रणविना देश अघि बढ्न सक्दैन । सार्वजनिक संस्थाहरूको पुनर्संरचना अपरिहार्य छ । यही आवश्यकतालाई महसुस गरी भदौ २३ र २४ को जेन–जी विद्रोह उठेको हो ।
जब सरकारले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइयो, त्यसले युवामाझ राजनीतिक चेतनाको विष्फोट गरायो । भदौ २२ गते मैले पत्रकार सम्मेलन गरेर सम्पूर्ण युवालाई सडकमा उत्रिन आह्वान गरेँ । त्यो दिनबाट नै परिवर्तनको आगो सल्कियो ।
भदौ २३ र २४ गते दुई दिनको विद्रोह नेपालका तीन दशकको असफल शासनको नतिजा थियो । भ्रष्टाचार, बेरोजगारी र कुशासनको भारले युवाहरू विष्फोट बिन्दुमा पुगेका थिए । जेन–जी पुस्ताले विश्वका प्रगतिशील देशहरूमा भएको शासन प्रणाली देखिसकेका थिए । उनीहरूले बुझिरहेका थिए, नेपाल किन पछि प¥यो ? त्यस प्रश्नको उत्तर खोज्दै उनीहरू सडकमा ओर्लिए । त्यो चेत नै विद्रोहको मूल कारण हो ।
जेन–जी आन्दोलन तोडफोड र आगजनीमा सीमित भयो भन्ने जुन आरोप छ, त्यो कदापि होइन । भदौ २३ गते हामीले पूर्ण शान्तिपूर्ण विरोध गरिरहेका थियौं । तर राज्यको दमन असह्य थियो । दर्जनौं युवालाई गोली हानियो, सयौं घाइते भए । गोली खाएका साथीहरूलाई नजिकैको सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा आकस्मिक कक्षमै अश्रुग्यास प्रहार भयो । त्यो दिनको क्रूरतापछि देशभर आक्रोशको ज्वालामुखी फाट्यो । भदौ २४ गते सिंगो राष्ट्र विद्रोहमा होमियो । त्यो क्षण कसैको नियन्त्रणमा थिएन, न सरकारको न आन्दोलनको ।
विभिन्न आपराधिक समूहले आन्दोलनमा घुसपैठ गरेको भनिएको छ । त्यसमा मेरो भनाइ, राज्यले जब पूर्ण आत्मसमर्पण गरिसक्छ, त्यस्तो अवस्थालाई अराजक समूहहरूले सदैव फाइदा उठाउँछन् । त्यो जेन–जीको नियत होइन, त्यो शून्य राज्यको परिणाम थियो ।
हामीले चाहेको थियौं नयाँ संविधान, जसमा अघिल्ला सबै आन्दोलनका उपलब्धि र २०८२ सालको बलिदानी समेटियोस् । तर जब राजनीतिक निर्णयको केन्द्र शीतलनिवास पुग्यो, पुरानै दलहरूले फेरि सत्ता कब्जा गरे । त्यहीँबाट देशले पुनः पुरानै गल्ली समात्यो।
अहिलेको सरकार जेन–जी पुस्ताले बनाएको भन्नु गलत हो । तत्कालीन राष्ट्रपतिले पुराना दलका नेतासँग सल्लाह गरेर सुशीला कार्कीलाई अघि सारे । केही अपरिपक्व युवा साथीहरूलाई मुखौटा बनाइयो । त्यसलाई ‘जेन–जीको सरकार’ भन्नु ठट्टामात्र हो । स्वयं प्रधानमन्त्रीलेसमेत राष्ट्रका नाममा सम्बोधन गर्दै जेन–जी विद्रोहका माग सम्बोधन गर्न सकिँदैन, सरकार पुरानै व्यवस्थामा निर्वाचन गर्नका लागि भनिसक्नुभयो ।
हाम्रो पुस्ता संख्यामा धेरै थियो, तर राजनीतिक परिपक्वता अभावमा थियो । उनीहरू परिवर्तन चाहन्थे, तर दिशाबारे स्पष्ट थिएनन् । हामी थोरै अनुभवी युवाले प्रयास ग¥यौं, तर परिस्थितिले सघाएन । हाम्रो आन्दोलनलाई सुशीला कार्की र रामचन्द्र पौडेलले ‘हाइज्याक’ गरे । देश फेरि पुरानै खेलमा फस्यो ।
नेपालको ३० प्रतिशतभन्दा बढी जनसंख्या नयाँ पुस्ता छ । जेन–जीले विद्रोह सफल बनाए पनि त्यसको भावना उपेक्षित भयो । यस्तोमा देशमा न त शान्ति रहन्छ, न प्रगति सम्भव हुन्छ । यदि विज्ञान र प्रविधिबाट सुसूचित यो पुस्ताको आवाजलाई संस्थागत गरिएन भने राज्य असफलतातिर धकेलिने छ । त्यसलाई रोक्नु हाम्रो दायित्व हो ।
हाम्रा दुई प्रमुख माग– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पूर्ण ‘रिफर्म’ र ‘रिस्ट्रक्चर’ । यी माग देशको मूल मुद्दा बनिसकेका छन् । यी विषय अब रोकिँदैनन् । हामी सर्वपक्षीय सहमतिका लागि अभियान चलाइरहेका छौं । अन्ततः संविधान पुनर्लेखन हुन्छ र नेपालले नयाँ राजनीतिक व्यवस्था पाउँछ । त्यही हाम्रो अन्तिम लक्ष्य हो ।
वर्तमान सरकार जेन–जीका मुद्दाबाट पूर्णविमुख भइसकेको छ । तत्कालीन सरकारले जसरी युवालाई गोली हानेको थियो, आजको सरकारले पनि जेन–जीको नाममा सत्ता कब्जा गरेको छ । केही व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेका छन्, तर तिनीहरूको वैधता छैन ।
विद्रोहपछि संविधान कोमामा थियो । राज्यका सम्पूर्ण निकाय निष्क्रिय थिए । त्यस्तो अवस्थामा संविधानबाट सरकार बन्नै सक्दैनथ्यो । तर विद्रोहीको सहभागिता र भावनाविपरीत बनेको सरकार संवैधानिक रूपमा अवैधानिक थियो नै, अब राजनीतिकरूपमा अवैध भएको छ । अब हाम्रो लक्ष्य स्पष्ट छ, यो अवैध सरकारलाई विस्थापित गर्दै, जेन–जी विद्रोहको भावना आत्मसात् गर्ने नयाँ सरकार र नयाँ संविधान निर्माण गरिछाड्ने ।