दलहरुप्रति जनताको विश्वास घट्दो छ । कारण एउटै हो– भविष्यप्रति दलका नेताको कुनै चिन्ता देखिँदैन । चुनाव जित्न जसरी एजेण्डा सेट गरिन्छ, त्यसैगरी सरकारमा एक–दुई वर्ष बस्न एजेण्डा सेट गर्छन् । कुन दिन सरकार छाड्नुपर्ने हो कुनै दलका नेतालाई केही थाहा छैन ।
कारण कुनै योजना वा भिजन नभएपछि कुम्लो बोकेर हिँड्छन् मन्त्री भएकाहरु । अहिले सत्तामा भएको पार्टी हुन्– नेपाली कांग्रेस र नेकपा एमाले । दुवै दलको योजना केही देखिन्न । प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली छन् । सरकार प्रमुखको काम केही देखिन्न । ओलीले गरेको एउटै काम हो– यो सरकार ढल्दैन भन्ने ।
सत्ता सहयात्री नेपाली कांग्रेस आफ्नै सुरमा छ । सरकारलाई सहयोग गर्नुको साटो बेतुकको आलोचनामै समय खेर फाल्छ । नेता व्यवस्थापन गर्न नसक्दा कांग्रेस आफैं समस्याग्रस्त छ । देश बनाउनुभन्दा कांग्रेस पूर्वपश्चिममा दौडिरहेको छ । हुन त कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी’ अभियान सुरु ग¥यो । तर कांग्रेसका युवा नेताबाट थालेको यो काममा कमैले विश्वास गरेका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो सदाबहार अभिव्यक्ति हो– सरकार ढल्छ । वास्तवमा भन्ने हो भने अहिले माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीको ब्याटलमात्र छ देशमा । सरकार ढल्छ–सरकार ढल्दैन ।
यही मेसोमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउँदा राजावादी दल र समूहरुले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरे । यो तयारी सरकारलाई थाहा थियो । दललाई थाहा थियो । सरकार भने आफ्नो काम छाडेर पूर्वराजाको सवारबारे अनेकन अभिव्यक्ति दिएर उनैलाई मैदान तयार पारिदिनेतिर उद्दत देखिन्छ । प्रधानमन्त्रीले राजनीतिमा ‘वेलकम’ भन्ने, गृहमन्त्री रमेश लेखक उस्तै अभिव्यक्ति दिने । दलका पदाधिकारी पनि प्रतिक्रिया दिनमा उस्तै उस्ताद ।
राजावादी सल्बलाउँदा के दलहरु यसरी नै ओठे जवाफ फर्काएर बस्ने त ? के उनीहरुले आफूलाई समीक्षा गर्नुपर्दैन ? कति कमीकमजोरी छन्, तिनमा सच्चिने उपाय खोज्नुपर्दैन ? दलका नेता र गणतन्त्रका नेतृत्वले यो प्रश्नको जवाफ खोज्नैपर्छ । अहिले व्यवस्था जोगाउने स्ट्रेस आएको छ । यो विषयलाई अकर्मण्यता देखाएर अवमूल्यण गर्न हुन्न । योजना र कामतिर लागेमा जनताको साथ लोकतन्त्रलाई रहिरहन्छ । त्यसैले जनतामा नयाँ आशाको सञ्चार गरी वितृष्णा फैलाउने मैदान चाँडो भत्काउनतिर लागौं ।