रसिला तामाङ/सिन्धुली
कात्तिक ३० गते आइतबार साँझ सिन्धुलीको कमलामाई नगरपालिका वडा–३ स्थित चपौलीमा रहेको राष्ट्रिय कला संग्रहालयमा चहलपहल बेग्लै थियो । त्यहाँका स्थानीय कलाकार काठमाडौंबाट पुगेका कलाकार र पाहुनालाई स्वागत गर्न पञ्जे बाजा घन्काउँदै थिए ।
कोही खादा माला लगाएर अतिथि स्वागत सत्कारमा व्यस्त थिए । दिवंगत कलाकार जयनन्द लामा र गायिका इन्दिरा गोलेको शालिक अनावरण कार्यक्रमका लागि त्यहाँ कलाकारदेखि अतिथिहरु ओइरिएका थिए ।
सोमबार मंसिर १ गते निर्धारित कार्यक्रमअनुसार पूर्वसांसद लेखनाथ दाहालले कलाकारद्वयको शालिक अनावरण गरे । नेपाल ललित कला क्याम्पसका विद्यार्थी एवम् मूर्तिकार भक्तिराम राई र सुस्मिता मोक्तानले निर्माण गरेको शालिकले केही दिन सामाजिक सञ्जाल ततायो पनि । यही विषय औपचारिक कार्यक्रममा पनि उठ्यो । कार्यक्रमको अध्यक्षता गरेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफू तामाङ भएको नाताले तामाङ नश्लमा जन्मेका कलाकारद्वयको सम्मान र उनीहरुको इतिहासलाई अमर बनाउन शालिक निर्माण गरेको बताए । वाइबाले गायिका गोलेको शालिक निर्माणका क्रममा प्राविधिक कमजोरी देखिएको टिप्पणीलाई सम्बोधन गर्दै सुधार गर्न सकिने प्रतिबद्धता जनाए ।

शालिक अनावरण कार्यक्रमका संयोजन गायक फूलकुमार बमजनले गरेका थिए । कार्यक्रममा सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरको खटाइ पनि कम्तीको थिएन । शालिक अनावरणपछि राजधानीबाट लगिएका नेपाल तामाङ कलाकार संघ र म्हेन्दोमाया कलाकार संघका आबद्ध ५० बढी कलाकारका साथै नेपाली सेलो जगतका चर्चित गायक प्रेम लोप्चनलगायत स्थापित तामाङ कलाकारहरु उपस्थिति थियो । मञ्चमा पूर्व र पश्चिमका तामाङ सेलो र तामाङ गीतहरुको लाइभ प्रस्तुतिको मजा बेग्लै थियो । सिन्धुली कला घरका महिला कलाकारले पनि पञ्चैबाजा बजाएर विशेष प्रस्तुति दिएका थिए ।

शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वसांसद दाहाल, विशेष अतिथिका रुपमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, सार्वजनिक सेवा प्रसारण नेपाल, सञ्चालक समितिका सदस्य फूलमान बल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगति महरा, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकाटा, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान, हरिवन नगरपालिकाका उपप्रमुखहरिमाया लामा, हरिहरपुर गढीका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य, तामाङ पत्रकार संघका संस्थापक रवीन्द्र तामाङ, तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष बृहत्त स्याङतान, नायिका चाँदनी मोक्तान, साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तान र नेपाल गीतकार संघका अध्यक्ष बसन्त वित्यासी मगर लगायत उपस्थित थिए ।
साथै कार्यक्रममा दिवंगत जयनन्द लामाकी पत्नी गोपी लामा, माइला भाइ जयबहादुर लामा र इन्दिरा गोलेको बहिनी सानु गोलेलगायत अन्य सदस्यहरु पनि उपस्थित थिए ।

कार्यक्रममा उपस्थित अतिथिको आतिथ्यमा स्वागतदेखि समापनसम्म पञ्चै बाजाको धुन, खादासहितको स्वागत, खान बस्ने प्रबन्ध गर्ने, मायाका चिनो प्रदान, संग्रहालय घुमाउने लगायतका क्रियाकलापमा देखिएको कलाघरका सदस्यहरुको खटाई र हरिहरपुर गढीले कार्यक्रमका पाहुनालाई मानसम्मान, खानपिन र बसाइँका लागि गरिएका देखाएको तदारुकत स्मरणीय थिए ।
कार्यक्रममा शालिक अनावरण गरिएका प्रतिभाद्वयका गीतहरु समर्पण गरी नगाइनु, सिन्धुलीका स्रष्टाहरुको खासै उपस्थित नहुनु र आयोजकका तर्फका राखिएका वक्ताहरुको मन्तव्य र अनावरणका लागि छानिएको प्रमुख अतिथिको दृश्य भने विरोधाभासपूर्ण थियो ।
यद्यपि मंसिर १ गते सिन्धुपाल्चोकमा जन्मेहुर्केका जयनन्द र ललितपुरमा जन्मेहुर्ककी इन्दिराको शालिकले सिन्धुली कलाघरलाई सेलो सेन्टरको रुपमा रुपमा उभ्याएको थियो ।